बिर्तामोडमा 'अण्डर सिक्स्टीन' फुटबल हुने
बिर्तामोड: दसैंको अवसर पारेर झापाको बिर्तामोडमा १६ वर्षमुनिको नक आउट फुटबल प्रतियोगिता हुने भएको छ । बिर्तामोड नगरपालिका- २ चारपानेस्थित अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा असोज २१ देखि २८ गतेसम्म प्रथम बिर्तामोड जिल्ला स्तरीय 'अण्डर सिक्स्टीन' नक आउट फुटबल प्रतियोगिता हुने भएको हो।
हाम्रो एकता युवा समाज, नेपालको आयोजनामा हुने सो प्रतियोगितामा झापाका उत्कृष्ट ८ टीमको सहभागिता रहनेछ। खेलमा जलथल एफसी हल्दिबारी, धुलाबारी फुटबल एकाडेमी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, शिवसताक्षी धाम स्पोटिङ्ग क्लब झिलझिले, सिफसी मुनाल क्लब चन्द्रगढी, दमक फुटबल ट्रेनिङ्ग सेन्टर, एकता स्पोटिङ्ग क्लब चारपाने र कमल स्पोटिङ क्लब कमल गाउँपालिकाको सहभागिता रहने आयोजक संस्था हाम्रो एकता युवा समाजका अध्यक्ष किरण पौडेलले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए।
खेलले युवामा स्वस्थ्य प्रतिस्प्रधी भावनाको विकास गराउने भएकाले दसैंको अवसर पार्दै खेलको आयोजना गर्न लागिएको अध्यक्ष पौडेलको भनाई छ। खेलको बिजेता टिमले नगद ३५ हजारसँगै कप, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै उपविजेताले २५ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने समाजका सचिव लक्ष्मी प्रसाद घिमिरेले बताए।
खेलको बेस्ट किपीङ्ग, बेस्ट् डिफेन्स, बेस्ट मिट फिल्डर र बेस्ट फरवडलाई समेत नगद ३ हजार पुरस्कारको व्यवस्था गरिएको छ भने हाई स्कोरर र म्यान अफ दी म्याचलाई नगद ४ हजार प्रदान गरिने सचिव घिमिरेले जानकारी दिए। प्रत्येक खेलको म्यान अफ दी म्याचलाई २ हजार नगद पुरस्कार दिने आयोजकले बताएको छ ।
२१ गतेको उद्धघाटन खेलमा जलथर एफसी हल्दिबारी र धुराबारी फुटबल एकाडेमी क्लब भिड्नेछन्। उद्धघाटन खेल दिउँसो साडे दुई बजेबाट सुरु हुनेछ भने २८ गते हुने फाइनल खेल दिउँसो २ बजेबाट सुरु हुनेछ।