निर्मला हत्या प्रकरण : टाउकोमा प्रेसरकुकर राखेर प्रदर्शन
महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाका अपराधी पत्ता लगाउन माग राखेर सुरु भएको आन्दोलन जारी छ। महेन्द्रनगरमा आन्दोलनरत समूहले बिहीबारसमेत सदरमुकाममा प्रदर्शन र धर्ना दिएका छन्। दबाबमूलक संघर्ष समितिले सदरमुकाम महेन्द्रनगरमा प्रेसरकुकरसहित सांकेतिक प्रदर्शन गरेका हुन्।
टाउकोमा प्रेसरकुकर राखेर दबाबमूलक संघर्ष समितिले प्रदर्शन गरेको हो। महेन्द्रनगरबाट सुरु गरिएको प्रदर्शन जिल्ला प्रहरी कार्यालयसम्म पुगेको थियो। आन्दोलनरत समूहले जिल्ला प्रहरी कार्यालयबाहिर पुगेर केहीबेर प्रदर्शन गरे। उनीहरूले निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७१ औं दिन पुगिसक्दासमेत अहिलेसम्म हत्यारा पक्राउ नपरेको भन्दै प्रदर्शन जारी राखेका छन्। ‘यो आन्दोलन निर्मला पन्तका हत्यारा पक्राउ नपरेसम्म जारी रहन्छ’, दबाबमूलक संघर्ष समितिका संयोजक हेलन श्रेष्ठले भनिन्, ‘हत्यारा पक्राउ गर्नुपर्ने, उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक हुनुपर्ने हाम्रो माग हो।’
निरन्तर आन्दोलनका कार्यक्रम जारी रहने दबाबमूलक संघर्ष समितिले जनाएको छ। धनगढीमा मुख्यमन्त्रीको कार्यालयबाहिर प्रदर्शन गरेर समितिले बुधबार ज्ञापनपत्र बुझाएको थियो भने त्यसअघि कुचोसहित प्रदर्शन गरेका थिए। नागरिक संघर्ष समितिले स्थानीय मदन चोकमा शनिबारदेखि सुरु गरेको धर्ना कार्यक्रम बिहीबारसमेत जारी राखेको छ। उनीहरूले एक हप्तादेखि धर्ना दिइरहेका छन्। निर्मलाका हत्यारा पक्राउ गर्नुपर्ने र उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै उनीहरू धर्नामा बसेका हुन्।समितिका संयोजक मीना भण्डारीले शनिबारदेखि सुरु भएको धर्ना कार्यक्रमपछि थप आन्दोलनका कार्यक्रम गरिने बताइन्। ‘धर्नापछि अन्य कार्यक्रमबारे बैठक बसेर निर्णय गर्छौं’, उनले भनिन्, ‘निर्मलाका हत्यारा पक्राउ नपरेसम्म समितिले सुरु गरेको आन्दोलन रोकिने छैन।’ घटना भएको ७० दिन बितिसक्दासमेत हत्यारा पक्राउ परेका छैनन्।
साउन १० गते भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। हत्याको अनुसन्धान गर्न प्रहरीका थुप्रै समितिले काम गरिरहेका छन्। तर, अहिलेसम्म पनि हत्याराका सम्बन्धमा प्रहरीले कुनै ठोस प्रमाण भने फेला पार्न सकेको छैन। कञ्चनपुरका प्रहरी प्रवक्ता एवं अनुसन्धान अधिकृत कृष्णराज ओझाले प्रहरीको अनुसन्धान जारी रहेको बताए।