फेरिँदै दुर्गमका गाउँ

फेरिँदै दुर्गमका गाउँ

अर्घाखाँची : साविकको अर्घाखाँची हंसपुरलाई कुनैबेला जिल्लाकै सबभन्दा दुर्गम मानिन्थ्यो। सरकारी कामकाजका लागि सदरमुकाम सन्धिखर्कसम्म गाडीमा घण्टौँ यात्रा गर्नुपर्ने बाध्यता थियो। सडक सुविधा पनि सहज थिएन्। एकैदिनमा काम सकाएर घर फर्किन मुश्किल हुन्थ्यो। तर, हिजोआज यस क्षेत्रका सर्वसाधरणको दैनिकी फेरिएको छ। उनीहरु पौने एक घण्टाको यात्रापछि सदरमुकाम पुग्छन्। आधा दिनमै काम सकेर घर फर्कन्छन्।

सालझण्डी–ढोरपाटन सडकले हंसपुरका अधिकांश गाउँलाई छोएको छ। घर अगाडीबाट फराकिलो बाटो विस्तार भएपछि स्थानीय दंग छन्। ग्रावेल गरिएको यो सडक कालोपत्रेको तयारीमा छ। ‘गाउँम विकास भएको देख्दा आन्नद लाग्छ’, मालारानी गाउँपालिका–६ हंसपुरका स्थानीय नमबहादुर घर्तिमगरले भने, ‘६/७ वर्षमै यति धेरै विकास भएको देख्न पाइयो।’

गाउँमै यसरी विकास भए शहरतिर जानुपर्ने बाध्यता नहुने उनको बुझाइ छ। सडकसँगै गाउँमा सहज यातायात, सञ्चार, विद्युत्त, खानेपानीको समेत विकास भएको छ। गाउँघरमा स्थानीय सरकारमा आएपछि विकासले थप फड्को मार्ने विश्वास स्थानीयको छ। ‘शहरभन्दा गाउँमा धेरै बाँच्न सकिन्छ’, घर्तिमगरले भने, ‘हावापानीले स्वास्थ्यमा प्रभाव पार्छ।’

अर्घाखाँचीसँगै प्यूठानको सौतामारे र गुल्मीको पुर्कोटदह समेत जोडिएका छन्। तीनवटै जिल्लाको संगमस्थल भएकाले सामूहिक प्रयासमा यस क्षेत्रको विकास फराकिलो रुपमा अघि बढ्ने स्थानीयको आशा छ। गाउँकै लोरीलेक यस क्षेत्रकै आकर्षक पर्यटकीय क्षेत्र बनेको छ।

केहीवर्षदेखि लोरीको डाँडामा तीन जिल्लाबाटै आन्तरिक पर्यटक आनन्द लिन पुग्ने गर्छन्। सडकको सहज सुविधापछि घुम्न आउनेको संख्या बढेको वडाध्यक्ष नारायणप्रसाद अर्यालले बताए। ‘आन्तरिक पर्यटक आउने क्रम बढेको छ’, उनले भने, ‘गाउँपालिकाट यसलाई व्यवस्थित बनाउने योजना बनाएका छौं। लोरीलेक जिल्लाको लागि महत्वपूर्ण क्षेत्र पनि हो।’ उनका अनुसार यहाँबाट माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्णलगायत हिमशृंखला अवलोकन गर्न सकिन्छ। प्राकृतिक दुवोको चौर, डाँडामा मिलेर बसेका धुपीका सल्ला र बीचको ढोरपाटन सडकले लोरीको सौन्दर्य बढाएको छ।

वडा कार्यालयले यहाँ आउने पर्यटकलाई नजिकै रहेको शिवालय मन्दिरसम्म पुग्न सडक निर्माण गर्दैछ। यसवर्ष सडक निर्माण गर्न चारलाख रुपैँया बजेट विनियोजन गरिएको अर्यालले बताए। सडककै सुविधाले यस क्षेत्रमा व्यापार, व्यवसाय गर्ने बढ्दै छन्। विरामीले समयमै उपचार पाउन थालेका छन्।

मालारानी गाउँपालिकाले यसलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना बनाएको छ। बनभोज स्थल, भ्यू टावर निर्माण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए। ‘विस्तृत गुरुयोजना बनाएर पर्यटकीय क्षेत्रको विकास एवं प्रवद्र्धन गर्ने योजना बनाएका छौं’, उनले भने। यहाँबाट रतनमारे हुँदै २४ किलोमिटर दुरीमा सन्धिखर्क पुग्न सकिन्छ। प्यूठानको स्वर्गद्धारी, गुल्मीको क्वांके देउरालीहुँदै रेसुंगा र अर्घाखाँचीको सुपादेउरालीलाई लक्षित गरेर पर्यटकीय मार्गको रुपमा यस क्षेत्रलाई विकास गर्न सकिने सम्भावना छ।

सौतामारे, पुर्कोटदह र हंसपुर तीन वटै जिल्ला सदरमुकामबाट धेरै दुर्गमका वस्ती हुन्। तर विकासले गति लिन थालेपछि गाउँको मुहार फेरिन थालेको छ। सडक कालोपत्रेपछि जीवनशैलीमा अझ परिवर्तन हुने आशा सर्वसाधरणको छ। लोरीलेक नजिकैको सौतामारे छेडामा मदाने गाउँपालिका गुल्मीले शहिदपार्क निर्माणको प्रक्रियाअघि बढाएको छ। गतवर्ष र यसवर्ष पनि तीन–तीन लाख रुपैयाँ विनियोजन गरी काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए। ‘दुइवर्षभित्र पार्क बनाइसक्ने योजना छ’, भण्डारीले भने, ‘विस्तृत परियोजना प्रतिवेदन बन्दै छ।’

भौतिक पूर्वाधार निर्माणसँगै सामाजिक सचेतना कार्यक्रमलाई समेत प्रभावकारी रुपमा सञ्चालन गर्ने योजनामा रहेको उनले सुनाए। अपराधिक कृयाकलाप बढ्दै गएकाले सिमामा रहेका तीनवटै जिल्लाका नागरीकले सौतामारे छेडामा ‘प्रहरी बिट’ स्थापना गर्न माग गरेका छन्। ‘दुर्गम गाउँ सधैँ दुर्गम हुँदैन’, झिमरुक गाउँपालिका–१ का वडाध्यक्ष धुर्वराज खनालले भने, ‘तिनवटै जिल्लाको प्रयासले गर्दा यहाँको विकासले गति लिएको छ।’ सहज सडकसँगै प्यूठानको बांगेमरोठ सौतामारे, अर्घाखाँचीको हंसपुर, गुल्मीको पुर्कोटदह, बाझकटेरी, सिर्सेनीलगात गाउँ सुगम बन्न थालेका छन्। यी गाउँलाई मदन भण्डारी लोकमार्गले समेत जोड्दै छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.