अग्ला हिमालमा स्की

अग्ला हिमालमा स्की

काठमाडौं : नेपालका अग्ला हिमालमा आरोहणसँगै स्कीको विकास भएको छ। ८ हजार मिटर अग्ला हिमालमा विदेशी पर्वतारोहीले आरोहणसँगै सफलतापूर्वक स्की गर्न थालेका छन्। गत जेठमा सगरमाथाको तेस्रो क्याम्पदेखि दोस्रो क्याम्पसम्म अमेरिकी पर्वतारोही विली वेनेगास र म्याट मोनिजले पर्यटन विभागसँग अनुमति नलिइ स्की गरेका थिए।

विभागले उनीहरूलाई जरिवाना गरेको थियो। आइतबार ल्होत्से हिमाल चुचुरोमा पुगेका दुई अमेरिकी आरोही हिलारी नेल्सन, जेम्स मोरिसनले पहिलो क्याम्पसम्म ७ हजार फिट दूरी सफलतापूर्वक स्की गरेका छन्। ल्होत्सेका लागि ‘द नर्थफेस स्की ल्होत्से एक्पिडिसन’ आरोहण दलबाट पहिलो पटक ल्होत्से (८,५१६ मिटर) स्की गरेर कीर्तिमान राखेको आयोजक एजेन्सी एक्स्ट्रिम क्लाइम्बर ट्रेक एन्ड एक्पिडिसन प्रालिका प्रबन्धनिर्देशक पेम्बा शेर्पाले जानकारी दिए।

आइतबार दिउँसो १ बजेर २७ मिनेटमा ल्होत्सेको चुचुरोबाट पहिलो क्याम्पसम्म स्की गरेको शेर्पाले बताए। ८ हजार मिटर माथिबाट स्की गरेको विश्वमै यो पहिलो रेकर्ड भएको आरोहीको दाबी छ। यो कीर्तिमानले नेपाली हिमालमा स्की विकास हुने सम्भावना बढाएको छ।

पर्यटन विभागले हिमालमा स्की गर्न चाहने १० जनासम्मको समूहलाई १ हजार अमेरिकी डलर शुल्क लिएर १० दिनको अनुमति दिने गरेको छ। अन्य देशमा आरोहण दलले राजस्व बुझाएपछि स्की गर्न बेग्लै शुल्क तिरेर अनुमति लिनु नपर्ने व्यवस्था रहेको भन्दै विदेशी पर्वतारोहीले यहाँ स्की गर्ने प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका छन्। पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले तत्काल कानुन संशोधन गरी पर्यटकले सहज तवरबाट स्की गर्न पाउने व्यवस्था मिलाउने तयारीमा विभाग जुटेको बताए।

सगरमाथामा तेस्रो क्याम्पदेखि दोस्रो क्याम्पसम्म गरिएको स्की र ल्होत्सेको चुचुरोदेखि पहिलो क्याम्पसम्म स्की गरी विश्व रेकर्ड बनाएपछि स्कीले नेपाली हिमालमा पर्वतारोही बढ्ने पर्यटन व्यवसायी टीकाराम गुरुङको भनाइ छ। नेपाली हिमालमा व्यावसायिक तवरमा स्की सुरु भएसँगै आरोहीले थप राजस्व बुझाएर हिमालमा स्की गर्न जाने क्रम बढेको पर्यटन विभागको तथ्यांकले देखाएको छ।

युरोपमा गरिँदै आएको स्कीको नेपालमा पर्याप्त सम्भावना भए पनि व्यावसायिक तवरमा स्की गरिएको थिएन। यस वर्षदेखि आरोहणसँगै स्कीको विकास हुन थालेको नेपालका स्की प्रशिक्षक छिरिङ जाङबु शेर्पाले बताए। उनले स्विट्जरल्यान्डबाट लेवल थ्री को स्कीमा दक्षता हासिल गरिसकेका छन्। नेपाल पर्वतीय प्रतिष्ठानले स्की प्रशिक्षक नेपालमै उत्पादन भएपछि नेपालका अन्य होचा हिमालमा ३ वर्षयता स्कीको व्यावसायिक विकास भएको हो।

सरकारले सोलुको मेरापिक, खप्तड, बाग्लुङको ढोरपाटन, मुक्तिनाथ, दोलखाको सैलुङ र मुस्ताङको भृकुटी पिकमा सम्भाव्यता अध्ययन पूरा गरी स्की गर्न योग्य गन्तव्यमा विकास गरिसकेको छ। ३ हजार मिटरभन्दा अग्ला हिमालमा स्की गर्न सकिने अध्ययनले देखाएको छ। स्की गाइड र नियमावली नहुनु, भौगोलिक विकटता, होटललगायत सुविधा नहुँदा नेपालमा स्कीको विकास गर्न नसकिएको प्रशिक्षक छिरिङ जाङबुले बताए।

स्कीको सम्भावना देखिएपछि आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्यले प्रशिक्षक उत्पादन सुरु गरिएको नेपाल पर्वतीय प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवालीले बताए। पर्वतारोहण पथ प्रदर्शक छिरिङ जाङबु, रितेन जाङबु र आङदावा शेर्पा पहिलो पटक नेपालबाट तेस्रो तहका स्की प्रशिक्षक बनेका छन्। ३ वर्षयता पहिलो तहको स्की तालिम नेपालमा दिँदै आएको थियो भने स्विट्जरल्यान्ड र फ्रान्सको अल्पाइन क्लबले नेपाली पर्वतारोहण गाइडलाई दोस्रो तहको स्की तालिम प्रदान गर्दै आएको थियो।

यसै महिना प्रतिष्ठानले बर्खा याममा मुस्ताङको भृकुटी पिक (६,३६१ मिटर) आरोहणसहित स्की तालिम गरेको थियो। नेपालीले सरकारसँग अनुमति लिएर स्की गरेको यो नेपालकै पहिलो थियो। हाल नेपालमा २६ जना पर्वतारोहण पथ प्रदर्शकले छन्। अन्य देशभन्दा हाई अल्टिच्युट फरक हुने भएकाले नेपालमा स्की गर्न विदेशीको आकर्षण र रुची बढी हुने प्रशिक्षकहरू बताउँछन्।

प्रचारप्रसारसहित जनशक्ति व्यवस्थापन गर्न सके सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न स्कीले महत्वपूर्ण भूमिका खेल्ने ट्रेकिङ कम्पनीहरूको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.