गुमनाम धावक

गुमनाम धावक

राजा वीरेन्द्रले जितबहादुरको योगदानको कदर गर्दै उनलाई काठमाडौंमा एउटा घर, मधेसमा मौजा र दैनिक १० रुपैयाँ भत्ताको तत्काल व्यवस्था गर्नू भनी निर्देशन दिए। तर, उनको जीवनमा त्यो सुखद क्षण कहिल्यै आएन।


नेपाली खेलकुदका जिउँदो इतिहास हुन्, जितबहादुर केसी (७१)। जसको स्मृतिभरि नेपाली खेलकुदसँग जोडिएका खातका खात सुनाउन लायक कथाव्यथा संग्रृहीत छन्। नेपाली खेलकुदलाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने गौरव बोकेका यी धावक यतिबेला जीर्ण शरीर र थकित मन लिएर आफ्नो योगदानको सही मूल्यांकन हुनुपर्ने मागसहित सम्बन्धित खेल निकायहरूको ढोका चहार्न व्यस्त छन्। विडम्बना ! कतैबाट उनको मागको सुनुवाइ भएन। त्यसैले, उनी अचेल हम्मेसी कसैसँग खुल्न चाहँदैनन्।

निकै जोडबलपछि समय लिएर अन्नपूर्णकर्मी दशरथ रंगशाला पुग्दा उनी आफूजस्तै जीर्ण बनेको रंगशालालाई नयाँ रूप दिने कार्यको रेखदेखमा व्यस्त थिए। सधैंझैं साधारण ट्र्याक सुटमा भेटिएका यी असाधारण धावकसँग सामान्य भलाकुसारीबाट सुरु भएको कुराकानी बिस्तारै खुल्दै गयो।

पहिलो अन्तर्राष्ट्रिय पदक

आजभन्दा ४५ वर्षअघि जितबहादुरले देशलाई पहिलो अन्तर्राष्ट्रिक पदक दिलाएका थिए। सामान्य ज्ञानका पुस्तकहरूमा ‘नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक विजेता’ का रूपमा उनको नाम अंकित छ।

सन् १९७३ मा फिलिपिन्सको मनिलामा ‘प्रथम एसियन ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिप’ आयोजना भएको थियो। सो प्रतियोगिताको म्याराथन दौडन उनीसँग गतिलो जुत्तासम्म थिएन। जसोतसो एउटा टाइगर नामको जुत्ता फेला पर्‍यो। म त्यही जुत्ता लगाएर दौडिए। प्रतियोगिताको दिन बिहानैदेखि वर्षा सुरु भयो। धावकहरूको घुँडासम्म पानी थियो। निरन्तरको वर्षाबीच करिब १० किलोमिटर दौड पूरा गरेपछि जितबहादुरलाई अर्को संकट आइपर्‍यो। ‘घुँडासम्मको पानीमा दौडँदा एउटा खुट्टाको जुत्ता कतिबेला खुस्कियो चाल नै पाइनँ। एउटै जुत्ताको भरमा केही समय दौडिएँ’, भन्छन्, ‘तर, दौडन अप्ठ्यारो भएपछि अर्को खुट्टाको जुत्ता पनि खोलेर हुत्याइदिएँ।

दौड पूरा गर्न केही समय बाँकी रहँदा अचानक वर्षा पनि रोकियो। तर, निरन्तर खाली खुट्टा दौडँदा उनको दुवै पैताला रगतपिच्छे भइसकेका थिए। उनलाई दौड त्यागौ कि भन्ने पनि लाग्यो। प्रशिक्षक मधुशमशेर जबरालाई जितबहादुरले दौड छाड्लान् भन्ने उत्तिकै डर थियो। त्यसैले उनी निरन्तर रूपमा जितबहादुरको हौसला बढाइरहेका थिए। ‘जितबहादुर तिम्रा प्रतिद्वन्द्वीहरू निकै पछाडि छन्, विस्तारै दौडिए पनि पदक जित्छौं भनेर उहाँले हौसला दिनुभयो’, उनले त्यो ऐतिहासिक क्षण सम्झिए।

त्यसपछि केही समयको अन्तरमा दुई कोरियन धावकसँगै जितबहादुर पनि प्रतियोगिताको ‘फिनिसिङ प्वाइन्ट’ अर्थात् मुख्य रंगशालाभित्र प्रवेश गरे। आफूभन्दा अगाडि रहेका दुई कोरियन खेलाडीको खुट्टाको जुत्ता जस्ताको तस्तै थियो। जितबहादुरको खाली खुट्टाबाट भने रगत बग्न रोकिएको थिएन। उनले टेकेको ठाउँमा रगतले खुट्टाको छाप नै बन्थ्यो।

अन्ततः उनले तेस्रो स्थानमा रहेर दौड पूरा गरेरै छाडे। उनले दौड पूरा गर्न दुई घन्टा २८ मिनेट समय लगाएका थिए। यसरी जितबहादुरसँगै सिंगो देशलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पदक जित्ने गौरव प्राप्त भएको थियो। ‘दोस्रो हुने कोरियन खेलाडीले मभन्दा केवल ५ /६ सेकेन्ड अघि दौड पूरा गरेर रजत पदक जिते। जुत्ताले साथ नछाडेको भए मैले सजिलै उनलाई उछिन्ने थिएँ’, जितबहादुरको मनमा त्यो पीडा भने अझै गडेकै छ।

जितबहादुरले देशका लागि ऐतिहासिक पदक जितेको भोलिपल्ट विश्व खेलवृत्तमा एउट तस्बिरले निकै चर्चा बटुलेको थियो। रगतपिच्छे भएर खाली खुट्टा दौडिरहेका जितबहादुरप्रति दया लागेर एक महिलाले उनीमाथि पानी छ्यापिरहेको तस्बिर पत्रिकामा छापिएपछि त्यो तस्बिर संसारभर चर्चित बन्न पुगेको थियो। ‘मेरो त्यो पदकमा ती महिलाजस्तै थुप्रै समर्थक र सहयोगीहरूको माया मिसिएको छ’, जितबहादुर भन्छन्।

मनिलाबाट स्वदेश फर्किएपछि जितबहादुरले भव्य स्वागत पाए। उनलाई विमानस्थलबाटै बाजागाजासहित गाडीमा राखेर नगर परिक्रमा गराइयो। त्यसको केही समयपछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्ट, राष्ट्रिय खेलकुद परिषद्का संरक्षक धीरेन्द्र शाह र सदस्यसचिव कुमार खड्गविक्रम शाहसमेत उपस्थित रहेको एक कार्यक्रममा राजा वीरेन्द्रले जितबहादुरको योगदानको कदर गर्दै उनलाई काठमाडौंमा एउटा घर, मधेसमा मौजा र दैनिक १० रुपैयाँ भत्ताको तत्काल व्यवस्था गर्नू भनी निर्देशन दिए।

उनी लामो समय राजा वीरेन्द्रको निर्देशन कार्यान्वयन हुने प्रतीक्षामा बसे। तर, उनको जीवनमा त्यो सुखद क्षण कहिल्यै आएन। ‘निकै धाएँ तर, राजाको निर्देशन कहिल्यै कार्यान्वयन भएन। राजाको हुकुम त्यसै बिलाएर गयो’, जितबहादुर दुःखेसो पोख्छन्, ‘एकपटक राजा वीरेन्द्र खेलकुद परिषद् आउँदा मैले बिन्ती चढाउने प्रयास गरेको थिएँ तर, केही व्यक्तिले मलाई एउटा कोठामा थुनेर राजासँग भेट गर्नै दिएनन्।’

दोलखादेखि म्युनिखसम्म

दोलखाको पोगोटी गाविसको एउटा गरिब परिवारमा जन्मिएका जितबहादुर। राष्ट्रको प्रतिनिधित्व गर्दै म्युनिख ओलम्पिकसम्मको यात्रा तय गर्नु पक्कै सहज थिएन। २०२१ सालमा सिपाहीका रूपमा नेपाली सेनामा भर्ना भएपछि मात्र दोलखा बाहिरको संसारसँग उनको साइनो गाँसिएको थियो। सेनामै कार्यरत रहँदा उनले विस्तारै खेलकुदको कखरा सिक्ने मौका पाए।

‘सेनामा हुँदा दैनिक पाँच माइल दौडनु पर्थ्यो। सेनाभित्र आयोजना हुने प्रतियोगिताहरूमा भाग लिन थालेपछि खेलकुदप्रति लगाव बढ्दै गयो। त्यसपछि उनले राष्ट्रियस्तरका प्रतियोगिताहरूमा पनि एकपछि अर्को अब्बल प्रदर्शन गर्दै गए। थुप्रै पदक जिते, नाम कमाए तर, आर्थिक हिसाबले भने परिवारसँग दुई छाक मिठो मसिनो खाने हैसियत कहिल्यै बन्न सकेन।

‘खेलाडीका लागि पनि त्यतिबेला अहिलेको जस्तो सुविधा थिएन। नेपाली खेलकुद आफंै पनि भर्खरै बामे सर्दै थियो। विषम परिस्थितिबीच पनि उनले देशलाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएको दुई वर्षपछि सन् १९७५ मा दक्षिण कोरियामा आयोजना भएको एसियन ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिपमा अर्को कांस्य पदक जितेर आफ्नो क्षमताको परिचय दिए। आफ्नो खेल जीवनमा उनले तीनवटा एसियाली खेलकुद (एसियाड) मा सहभागिता जनाए। सन् १९७० मा बैंककमा आयोजित एसियाडमा पहिलो पटक सहभागिता जनाएका जितबहादुर सातौं स्थानमा आए। त्यसपछि सन् १९७४ मा तेहरानमा भएको एसियाडमा भाग लिएका उनले सन् १९७८ मा बैंककमै आयोजित एसियाडमा १२औं स्थानमा आएपछि सक्रिय खेल जीवनबाट सन्न्यास लिने निर्णय गरे।

तिघ्राको पीडा

सन् १९७२ मा जर्मनीको म्युनिखमा ओलम्पिक खेलकुद आयोजना हुँदै थियो। त्यसका लागि भएको एसियाली महादेशको छनोट प्रतियोगितामा जितबहादुरले अब्बल प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरे। छनोट प्रतियोगितामा उनले एसियन च्याम्पियनलाई समेत पछि पारेका थिए। त्यसैले उनी एकाएक चर्चाको शिखरमा पुगे। त्यसपछि सामान्य तयारीको भरमा उनी ओलम्पिक खेल्न जर्मनी पुगे। केही समयअघि नै जर्मनी लगिएकाले उनले त्यहाँ भने सुविधा सम्पन्न वातावरणमा ओलम्पिक तयारीको अवसर पाउँदा पदकप्रति आशावादी थिए।

दुर्भाग्य ! प्रतियोगिता सुरु भएको केही समयपछि नै उनलाई शरीरले साथ दिएन। करिब २१ किलोमिटर दौड पूरा गरेपछि अचानक उनको देब्रे तिघ्राको मसल्स (मांसपेशी) फुट्यो। त्यतिबेला विश्वभरका नामुद धावकहरूलाई उछिन्दै सातौं स्थानमा रहेका उनी अन्य प्रतिस्पर्धीलाई पनि पछि पार्ने तयारीमा थिए। उनीभन्दा अगाडि रहेको धावकको बीचमा पनि निकै ठूलो अन्तर थिएन।

‘अचानक बायाँ तिघ्राको मसल्स फुटेपछि असहय पीडा भयो। दुःखाइका कारण होस हराउँला जस्तो भयो। एक पाइलो पनि अगाडि सार्न नसक्ने भएपछि मसँग दौड छाड्नुको विकल्प रहेन। आँखाबाट निरन्तर आँसु बगिरह्यो। अनि त्यही आँसुको भेलमा मेरा सारा चाहना र देशले मसँग गरेको आशा बगेर गयो’, अझै भुल्न सकेका छैनन्, जितबहादुरले त्यो दुःखद् घटना।

बैगुनी सरकार

खेलकुदको क्षेत्रबाट जितबहादुरले देशलाई ठूलो गुन लगाए। वषौंअघि नेपाललाई खेलकुद वृत्तमा स्थापित गराए। म्युनिख ओलम्पिकमै पनि उनले ‘हिमाली धावक’ का रूपमा आफ्नो र देशको परिचय स्थापित गराए। तर राज्यले भने उनीप्रति सधैं बैगुनी व्यवहार गर्दै आएको छ। राज्यले खेलकुद क्षेत्रबाट राष्ट्रको प्रतिष्ठा बढाएको भन्दै वैकुण्ठ मानन्धर, दीपक विष्ट, संगीना वैद्यलगायतका खेलाडीलाई ठूलो धनराशिसहित राष्ट्रिय सम्मान प्रदान गरिरहँदा दशकौंअघि देशलाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने यी धावक भने सधंै ‘सौतेले व्यवहार’ सहेर बस्न बाध्य छन्।

करिब चार वर्षअघि नेपाल एथलेटिक्स संघ, नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्ले समेत उनलाई राज्यले उचित सम्मान दिनुपर्ने मागसहित पटकपटक पत्राचार गर्दा पनि उनको फाइल अहिलेसम्म युवा तथा खेलकुद मन्त्रालयको दराजमै थन्किएर बसेको छ।

‘चार वर्ष भयो, धाउन कतै बाँकी राखेको छैन। सधैं आश्वासन मात्र पाउँछु, सुनुवाइ कहिल्यै हुँदैन’, सरकारी निकाय धाउँदाधाउँदै हैरान भएका चार छोराछोरी र दुई नातिनातिनाका हजुरबा जितबहादुर मनको वह पोख्छन्, ‘अब त आशा पनि मरिसक्यो। बरु सामान्य ज्ञानका पुस्तकहरूबाट पनि मेरा नाम झिकिदिए हुने।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.