उपचारमा ऋषिमन

उपचारमा ऋषिमन

अहिले बिरामीलाई बचाउन दिनरात लागिरहेका उनी आफैं नबाँच्ने हुन् कि भन्ने पिरलो थियो।


सूर्य उदाउनुअघि डा. ऋषिकुमार काफ्ले (६४) केही क्षण पूजाकोठा पस्छन्। बिरामीलाई सेवा गर्ने अवसर पाएकोमा आभारी हुँदै भगवानप्रति कृतज्ञता दर्शाउँछन्। शिर निहुर्‍याएर ढोग्छन् र बल्ल घरबाट निस्कन्छन्। बिरामीलाई हेरविचार गरी झमक्क साँझमा घर पुग्छन्। फेरि पूजाकोठामा पस्छन्। ईश्वरअगाडि नतमस्तक हुँदै भन्छन्, ‘बिरामीको सेवा गर्ने अवसर पाएँ। धन्य छ प्रभु।’

डा. काफ्ले वरिष्ठ मिर्गौला रोग विशेषज्ञ हुन्। चिकित्सा पेसामा प्रवेश गर्नुलाई उनी भवितव्य ठान्छन्। अहिले बिरामीलाई बचाउन दिनरात लागिरहेका उनी आफैं नबाँच्ने हुन् कि भन्ने पिरलो थियो। जन्मँदा तौल निकै थोरै भएकाले उनी बाँच्नेमा शंका थियो। २०११ सालको श्रीपञ्चमीका दिन जन्मिए, त्यही कारण उनको नाम नै ऋषि रह्यो। जन्मस्थान रामेछापको दुर्गम ढुंगेछापबाट एक घण्टा हिंडेर पुगिने सालु स्कुलमा ४ कक्षासम्म पढे। माथिल्लो कक्षा पढ्न उनी सदरमुकाम रामेछाप झरे। एकैचोटि ६ कक्षामा भर्ना भए। ७ कक्षा त्यहीँ पढे। त्यस बेला घरमा चोरी भयो। हजुरबुवा लक्ष्मीप्रसादले ‘जसले लक्ष्मी (धन) चोर्‍यो, उसैसँग धन हुँदो रहेछ। बरु सीप र ज्ञान चोरी हुँदैन’ भनेर ६ भाइ छोरालाई घर छाडेर पुरुषार्थ गर्न निर्देशन दिए।

तीमध्ये दुईजना काका बद्री र कविन्द्रराज काठमाडौं आए। बच्चाहरूलाई त यहीँ पढाउनुपर्छ भन्दै भतिजाहरूलाई बोलाए। तीमध्येका डा. काफ्ले पद्मोदयमा भर्ना भए। फस्ट डिभिजनमा एसएलसी गरेपछि उनी मेधावीमा गनिए। गणितका जटिल हिसाब क्षणभरमै मिलाउने हुँदा उनलाई इन्जिनियर बन्ने चाहना थियो। तर, परिवारका सदस्यले जीवविज्ञान पढ्न दबाब दिए। उनले त्रिचन्द्रबाट जेनतेन दोस्रो श्रेणीमा आईएस्सी गरे।

घरमा एकजना डाक्टर चाहियो। त्योचाहिँ तैं हुनुपर्छ भन्दै अभिभावकहरूले पुनः दबाब दिए। तर, तत्कालै कोलम्बो प्लान पाएनन्। अमृत साइन्स क्याम्पसमा बीएस्सी भर्ना भए। त्यही बेला २०२९ सालमा रुसमा पढ्न जान कोलम्बो प्लान पाए। त्यहाँ १० वर्ष बसे। त्यति बेला रुसमा स्वदेशप्रतिको भावना उम्लिएको थियो। केमा विशेषज्ञ बन्ने ? उनी निधार खुम्च्याउँदै एक्लै सोच्थे। सिनियरहरू अवनिभूषण उपाध्याय र दीर्घसिंह बमसँग सल्लाह लिए। दुवैले नेफ्रोलोजी पढ्न सल्लाह दिए। उनी पनि नेपालमा मिर्गौला विशेषज्ञ छैनन्, यही पढ्छु भन्दै प्रोफेसर राट्नरलेसमक्ष पुगे। रुसमै तीन वर्षसम्म मिर्गौलामा विशेषज्ञता हासिल गरी स्वदेश फर्किए।

सेवाको मोड

‘बाबु ! के पढेर आयौ ? ’ तत्कालीन स्वास्थ्य सेवा विभागका महानिर्देशक नर्वदालाल मास्केले सोधे। ‘कहाँ जागिर दिऊँ तिमीलाई, मिर्गौलाका बिरामी नै छैनन्’ भनी जवाफ दिएको उनलाई भर्खरझैं लाग्छ। तर, फर्केर हेर्दा ३५ वर्ष पो पुगिसकेछ।

उनी मिर्गौला रोग विशेषज्ञ भएर आउँदा यहाँ एकजना मात्र विशेषज्ञ थिए, डा. पुष्करराज सत्याल। डा. काफ्लेले वीर अस्पताल नजिकैको केन्द्रीय उरस (छाती) चिकित्सालयमा जागिर पाए। तीन महिनापछि लहान अस्पताल पुगे। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरादेखि कान्ति बाल अस्पतालमा काम गरे। २०४३ देखि ०५३ सालसम्म वीर अस्पतालमा सेवा गरे। स्वदेशमा फादर अफ नेफ्रोलोजीका रूपमा चिनिने डा.सत्यालको नेतृत्वमा रहेर धेरै कुरा सिके। मिर्गौलाका बिरामीलाई पहिलोपटक डायलाइसिस सेवा दिन सुरु गरे।

वीर अस्पतालमा हुँदा उनले गायक नारायणगोपाललगायत धेरै बिरामीलाई सेवा गरे। तर, हेपाटाइटिस ‘बी’ र ‘सी’का बिरामीको डायलाइसिस गर्ने व्यवस्था थिएन। उपचार नपाएर मर्ने अवस्थाले उनको मन पोल्यो। सेवा विस्तारको लक्षण देखेनन्। त्यसैले वीर अस्पतालबाट राजीनामा दिए। ०५४ सालमा राष्ट्रिय मिर्गौला उपचार केन्द्र खोले।

केन्द्रबाट नाफा नकमाई सेवा दिने सोचमा लागे। वीर अस्पताललाई डायलाइसिस मेसिन उपहार दिएकी जर्मन नागरिक बियाटी भोग्टलाई अनुनय गरे। उनलाई दुई वर्षसम्म फकाए। उनले डायलाइसिस मेसिन, टेक्निसियन पनि झिकाइन्। नाफा नकमाउने संस्थाका रूपमा हेल्थ केयर फाउन्डेसन खोले। राष्ट्रिय मिर्गौला केन्द्रका रूपमा स्थापना कालदेखि डायलाइसिस उपचारको सहज व्यवस्था सुरु गरे। हेपाटाइटिसका बिरामीले पनि डायलाइसिस पाए।

अहिले राष्ट्रिय मिर्गौला केन्द्रमा सबैभन्दा बढी मिर्गौलाका बिरामी निःशुल्क डायलाइसिस गर्छन्। केन्द्रका विभिन्न पाँचवटा स्थानबाट दैनिक दुई सय ५६ जनाले डायलाइसिस गरी जीवन लम्ब्याइरहेका छन्। मिर्गौलाका बिरामी बढ्दै गएपछि अचेल उनी आत्तिन थालेका छन्। भन्छन्, ‘मिर्गौलाका बिरामी यति धेरै बढिरहेका छन् कि अब धान्न गाह्रो छ। यही दरमा बढदै जाने हो भने सरकारले निःशुल्क भने पनि डायलाइसिस गराउन सम्भव छैन।’

उनी अहिले मिर्गौला बचाउ अभियानमा केन्द्रित छन्। जीवनशैली बदल्न र रोगप्रति जागरुक हुनेबारेमा ठाउँठाउँमा प्रवचन दिन्छन्। अस्पतालको कोठामा बिरामी मात्र हेरेर बस्दैनन्। समुदाय, स्कुल, कलेजमा मिर्गौला बचाउन अभियानमा छन्।

उनलाई पत्नी नीलिमाले रातदिन सहयोग गर्छिन्। पत्नीले घरव्यवहार हेरेका कारण आफू स्वतन्त्र भएर बिरामीको सेवामा जुट्न सकेको उनी बताउँछन्। छोरा निरिश अमेरिकामा छन्। छोरी एमबीबीएस अध्ययन गरिरहेकै बेला बीस वर्षको उमेरमै दुर्घटनामा परेर दिवंगत भइन्। त्यस दुर्घटनाले उनलाई जीवनमा कुनै कुरा पनि स्थायी नभएकाले हरेक क्षणलाई सेवामा बिताउन ऊर्जा दियो।

भनिन्छ— सफल व्यक्तिहरू फरक काम गर्दैनन् तर फरक ढंगले सोच्छन् /गर्छन्। डा. काफ्लेलाई भेट्ने जोकोही व्यक्ति उनी फरक खालको भएको सहजै थाहा पाउँछन्। उनी बिरामीसँग आत्मीयता दर्शाउँछन्। जब बिरामीले खुसी हुँदै फोन गर्छन् अनि दंग पर्छन् उनी।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.