भाषाको इन्साइक्लोपेडिया

भाषाको इन्साइक्लोपेडिया

५२ वर्षको लगातारको खोज, संकलनपछि मूल शब्द साठी हजार र व्यूत्पन्न शब्द पन्ध्र हजार गरी जम्मा पचहत्तर हजार शब्दको ‘बृहत् नेपाली–अंग्रेजी–नेपाली कोश’ प्रकाशित छ। यो नेपाली भाषाको अमूल्य निधि हो।


उनी तीन वर्षको हुँदा २० मिटरजति अग्लो ठाउँबाट फालहानेछन्। खुट्टा ठनक्कै भाँचियो। प्यूठानको एउटा शिवालयका बाबाजीको आ श्रममा बोकेर लगे। बाबाले सर्जरी गरेर पट्टी बाँधिदिए। बाबाजीको हेरविचारले उनी चाँडै खेल्न, कुद्न सक्ने भए। बाबाजीले भने, ‘खुट्टा त ठीक हुन्छ तर टाइट सुरुवाल लगाउन मिल्दैन।’

उनको बुवाको सपना उनलाई आफूजस्तै न्यायाधीश बनाउनु थियो। कोट, सुरुवालमा सजिएको देख्नु थियो। तर, भाषाविद् बालकृष्ण पोखरेलको रुचि भने साहित्यमा थियो। उनको साहित्यप्रतिको झुकाव बुवाले नियालिरहेका थिए। कथाकार गुरुप्रसाद मैनाली र शेषराज शिवाकोटी पनि न्यायाधीश थिए भनेर बुवाले बारम्बार सम्झाए। कानुन र न्याय राम्ररी बुझेको भए पनि आफू न्यायाधीश बन्दिनँ भन्नेमा उनी विश्वस्त थिए।

त्यसो त न्यायाधीशको नाति, न्यायाधीशको छोरा भाषाविद् बालकृष्ण पोखरेल आनुवंशिक रूपमा न्यायाधीश नै हुनुपर्थ्यो। तर, उनी लेखक बन्ने वातावरण बन्यो।

चौदण्डीगढीमा सेन राजाहरूको पक्षमा माम्खाली खार्पाली पोखरेलसँग बालकृष्ण पोखरेलका पुर्खा पनि थिए। पृथ्वीनारायण शाहले पूर्व नेपाल विजयको सुरुआतपछि माम्खाली र खार्पाली पोखरेल पृथ्वीनारायणतिर मिले। जतनपुरे पोखरेल (बालकृष्ण पोखरेलका पुर्खाहरू) पृथ्वीनारायण शाहको पक्षमा आएनन्। अनि, तिनीहरूलाई भुटानतिर खेदियो। खार्पाली माम्खाली पोखरेलहरूकै पहलमा ४८ वर्षपछि खेदिएकाहरू नेपाल बोलाइए। तर, सबै बिर्ता हरण भएको थियो। यो कुरा विसं १८७२ /७३ तिरको हो।

नेपाल फर्कन छुटेकाहरू अझै भुटानमा पनि छन्। केही भुटानी शरणार्थी बनेर झापामा आए। तीमध्येका २७ परिवार उनीहरूकै दाजुभाइ थिए।

बालकृष्णका पुर्खा सेन राजाका पुरोहित खलक थिए। सेनहरूको पतनपछि पुरोहित खलक पनि सकियो। उनीहरूले पाएको कुश बिर्ताको कर लाग्न थाल्यो। त्यस बेला जग्गा सस्तो, पैसा महँगो थियो। जग्गाको कर तिर्न नसकेर जग्गा पनि छाडे।

बालकृष्णका हजुरबालाई प्रत्यक्ष भेटेर विसं १९३३ मा जंगबहादुरले रंगेली अदालतमा डिट्ठा बनाए। त्यही साल जंगबहादुरको मृत्यु पनि भयो।

०००

कुरा सात साल अगाडिकै हो। नेपाली भाषामाथि अतिक्रमण भयो भनेर विराटनगरका विद्यार्थी विद्यालय व्यवस्थापनसँग असन्तुष्ट थिए। त्यो बेला अधिकांश शिक्षक भारतबाट ल्याइन्थ्यो। स्वतन्त्र विचारका पुस्तकहरू हुँदैन थिए। त्यस बेलाका शिक्षकहरूको चाख चासोका पुस्तक मात्र हुन्थे। उनीहरू हिन्दी भाषाका पुस्तकहरू मात्र पढाउँथे।

नेपाली भाषाका पुस्तकहरू बोरामा खाँदेर राख्थे। काठमाडौंबाट अनुगमनमा जर्नेल कर्नेल आएको बेलामा लाइब्रेरीमा राख्थे। उनीहरू फर्किएर गएपछि फेरि बोरामै खाँद्थे। नेपाली भाषालाई माया गर्ने विद्यार्थीमा स्कुलको प्रवृत्तिप्रति आक्रोश थियो।

एक मध्यरात विद्यार्थीले नै आदर्श मावि विराटनगरमा डाँका मारे। विद्यालय र लाइब्रेरीका पुस्तक लगायतका अरू सामान सिंगिया खोलामा लगेर नष्ट गरिदिए।

नेपाली पुस्तक पढ्ने मान्छे छ, नष्ट गर्नु हुँदैन भनेर मध्यराति नेपाली पुस्तकले भरिएका दुइटा गाडी बालकृष्ण पोखरेलको घरमा आए। प्रतिगाडी जम्मा पाँच रुपैयाँ तिरेर डाँका मारिएका दुई गाडी पुस्तक भित्र्याए। उनले नेपाली साहित्यका सबैभन्दा बढी पुस्तक त्यही बेलाबाट पढ्न थाले।

उनले भाषामा चाख दिएको देख्दा काम नपाएको भन्थे दौंतरीहरू। नेपाली भाषा पढ्नेलाई त्यस बेला पनि खिसिट्युरी गर्थे। उनलाई पनि खिसी गरे। तर उनी दम्भका साथ भन्थे, ‘तिमीहरूको जति अंगे्रजी पनि जान्दछु। नेपाली बढ्तै जान्दछु।’

त्यस बेला कक्षामा पहिला, दोस्रा कोइराला परिवार हुन्थे। र, तृतीय भए पनि कोइराला निवासको कामदार या त्यहाँ सामान बेच्ने साहूको सन्तान हुन्थ्यो। उनी फस्ट सेकेन्ड आउन नसक्दा आगो बल्थ्यो। त्यो आगो ठोसठास पारेपछि उनीभित्रको भाषा र देशप्रेम झनै जाग्यो।

उनी भन्छन्, ‘कोइराला निवासको कसैले पनि मेरो छोराछोरीलाई फस्ट सेकेन्ड बनाउनु भनेका थिएनन्। कोइराला निवास सत्ताको शक्तिमा भएकाले चाकरीस्वरूप उनीहरूका छोराछोरीलाई अगाडि ल्याउँथे।’

एकपटक भारतबाट आएका नयाँ सरले विद्रोहझैं गरे। यहाँ योग्य शिक्षकलाई चाहेको विषय पढाउन दिँदा रहेनछन्। यहाँ बसेर बर्बाद गर्दिनँ, भारत नै जान्छु। सरले पोखरेललाई खुसुक्क सुनाए, ‘तँ तृतीय भएको थिइस् तर कोइराला निवासमा काम गर्नेको छोरालाई पो तृतीय गरिएको छ।’

उनले रुँदै हेडमास्टरलाई भने, ‘मेरा पिताजी न्यायाधीश हुनुहुन्छ। म लिखित उजुर गर्छु। उहाँले अञ्चलाधीशलाई भन्नुहुन्छ। अनि पाता फर्काउँछन्।’ मेरो गुनासोपछि पिताजीले भो यहाँ नपढ अब। अन्याय भयो भन्दै काठमाडौं लानुभयो।

पिताजी ६२ वर्षमा जानु भो। उहाँको नजरमा म योग्य छोरा थिएँ। उनी भन्छन्, ‘मैले न्यायाधीश हुन मानेको भए पिताजी आठदस वर्ष बढी बाँच्नुहुन्थ्यो जस्तो लाग्थ्यो।’

विसं २०३९ देखि २०५२ सम्म उनले हप्तामा एउटाको दरले कम्तीमा पाँच दिन र बढीमा २० दिन लगाएर महिनाको चारवटा र कहिलेकाहीँ पाँचवटासम्म उपन्यास लेखे। किताब बिक्दैन कि भनेर असली नाम बालकृष्ण पोखरेल राखेनन्। आफ्नो नामको ‘ब’ र श्रीमती शान्तादेवीको ‘सान्त’ बाट मिलाएर ‘बसन्त’ भन्ने नाम लेखक वानीरा गिरीले जुराइदिनुभयो। उनले त्यही नाम अनुमोदन गरे। त्यसैअनुरूप ‘बसन्त’ नामबाट रत्न पुस्तक भण्डारलाई झन्डै पचासवटा उपन्यासको पाण्डुलिपि कपीराइटसहित बेचे। आम्दानी राम्रै भयो।

रत्न पुस्तक भण्डारले त्यस बेला एउटा किताब १० संस्करणसम्म छापेँ भन्थ्यो रे। रत्न पुस्तक भण्डारका गोविन्दले भन्थे रे, ‘हरेक तीनचार मिनेटको अन्तरमा एउटा एउटा पुस्तक बिक्री हुन्छ।’ त्यसरी हप्ताको एउटाका दरले लेखेका पचासभन्दा बढी उपन्यास यद्यपि उनीसँग छन्। तर, पाँचवटा उपन्यासका पाण्डुलिपि रत्नले अर्को कसैलाई दिएँ भन्थ्यो रे। ती पाँचैवटा पाण्डुलिपि हराए। एउटा महाकाव्यको पाण्डुलिपि टाइप गराउन जाँदै गर्दा कालीमाटीमा ट्याक्सीमा राखेको झोला नै चोरी भएर हरायो। त्यस्तै अर्को एउटा पात्रैपिच्छे फरकफरक छन्द प्रयोग गरेर लेखिएको खण्डकाव्यको पाण्डुलिपि पनि हरायो।

त्यस बेला चारपाँच सयदेखि आठ नौ हजार रुपैयाँसम्ममा कपीराइट बेचेका उनी भन्छन्, उपन्यासमा केटाकेटीदेखि पौराणिक सम्मका कुरा लेखेको छु। हेर्दा भ्रम उत्पन्न हुन्छ। अश्लील नग्न साहित्य भनेर। तर, सबै उपन्यास जीवनको गहिराइमा छन्। सबै उपन्यास एकातिर र बसन्तका उपन्यास एकातिर राख्दा पनि यिनै उपन्यासले जित्छ। आख्यानको आधारमा प्रेमको रूपमा जीवनका दार्शनिक सत्यहरू उपन्यासमा लेखेको छु।

उपन्यासमा भूमिका र लेखकको परिचय खुलायो भने पुस्तक बिक्री हुँदैन भनेर केही नलेखेको हो। एउटा उपन्यास बत्सल नामबाट पनि छापिएको छ।

उपन्यास बेचेपछि कमाइ त राम्रै भयो तर उपन्याससँग आफ्नै व्यथा जोडिएर आए। एकजना दाहाल थरका मान्छेले श्रीमती शान्तालाई उपन्यासमा प्रयोग भएका ती सबै पात्र तपाईंका सौता हुन् भनेर कुरा लगाइदिए। जहानले घरमा सत्याग्रहसमेत गरिन्। बदनाम गर्ने चेष्टा गरे। घरमा भाँडभैलो हुने भएपछि त्यही कुरालाई जवाफ दिँदै ‘सौरी’ खण्डकाव्य लेख्न बाध्य भएँ।

‘महामानवको सपना’ बालकृष्ण पोखरेलकै नाममा छापे। विसं १९९० साउन ३० गते मकवानपुरमा जन्मिएका उनी ८६ टेक्दा पनि लेखनमा सक्रिय छन्। अहिले तीनवटा पाण्डुलिपि छापिने तर्खरमा छन्।

पृथ्वीनारायण शाहको पालादेखि भएको नेपालको उथलपुथल। उनका पुर्खाहरूले खेपेको राजनीतिक सास्ती, उत्थान र पतन। यिनै घटनाले उनलाई ‘खस जातिको इतिहास’ तयार पार्ने जोश चलायो। खस जातिको इतिहास नेपाली साहित्यको अभूतपूर्व कृति हो।

नेपाली भाषाका इन्साइक्लोपेडिया नै मानिन्छन्, भाषाविद् बालकृष्ण पोखरेल। ५२ वर्षको लगातारको खोज, संकलनपछि मूल शब्द साठी हजार र व्यूत्पन्न शब्द पन्ध्र हजार गरी जम्मा पचहत्तर हजार शब्दको ‘बृहत् नेपाली–अंग्रेजी–नेपाली कोश’ प्रकाशित छ। यो शब्दकोष नेपाली भाषाको अमूल्य निधि हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.