गाउँपालिका अध्यक्षले महिला कुटेको आरोप
कालिकोट : कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले कुटपिट गरेको भन्दै एक महिलाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । जिल्लाको पलाता गाँउपालिका–९ थिर्पुकी स्थानीय सुनसरा बमले गाउँपालिका अध्यक्षले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएकी हुन् ।
कुटिएको भन्दै न्याय माग्न जिल्ला प्रहरी कार्यालय आएकी सुनसरा बमले गाउँपालिका अध्यक्षले मदिरा बेचेको आरोपमा आफूलाई कुटपिट गरेको बताइन् । गाउँमै सानो खुद्रा पसल र खाजा पसल सञ्चानल गर्दै आएकी सुनसराले गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा र गाउँका मान्छेले मदिरा ल्याएर आफ्नो पसलमा बसेर खाएको निहुँमा कुटपिट गरिएको बताइन् । केही युवाको समूह र गाउँपालिका अध्यक्षले आफू र आफ्ना श्रीमानलाई कुटेको सुनसराको आरोप छ ।
यसो भन्छिन् सुनसरा
‘पलाता गाउँपालिकाले मदिरा निषेधित गाउँपालिका घोषणा गरेको छ।’ सुनसराले भनिन् यही असोज १७ गते बेलुका साढे सात बजेतिर मेरो पसलको बाहिर केही स्थानीय व्यक्तिहरुले बाहिरबाट ल्याएको मदिरा खान चाउचाउ र अण्डा पकाउन भने, मैले उनीहरुलाई चाउचाउ र अन्डा पकाएँ । उनीहरुले खाए।’
तरपछि पलाँता गाउँपालिकाको विकासका लागि भनेर गठन गरेको युवाको कार्यदलका मान्छेहरु आएर मेरो घर घेरे । झ्यालबाट पसेर घर खान्तलासी गरे । मैले र मेरा बुढा प्रेम बमले राति राति घर खानतलासी नगर्न भन्यौ । त्यसपछि राति साढे ९ बजेतिर गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम आफैं आएर मलाई र श्रीमानलाई कुटे । उनीसँग आएका कार्यदलका युवाहरुले पनि कुटे। शरीरका कपडाहरु पनि च्यातिदिए । उल्टै गाउँपालिका अध्यक्षले आफूलाई कुटपिट गरेको भनेर मेरा श्रीमानलाई प्रहरी बोलाएर हत्कडी लगाएर लगे जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।
गाँउपालिका अध्यक्ष बमले गाउँका युवाहरुलाई विकास कार्यदलको नामले अपराधिक घटनाहरुमा संलग्न गराएका छन् । गाँउमा कसैले आफ्नो विरोध गरेपछि ती कार्यदलका युवाहरु लगाएर कुटाउँछन् । म मात्रै हैन गाउँमा अरु धेरै नागरिकहरु कुटिएका छन् ।
महिला विरोधमा
स्थानीय महिलमाथि कुटपिट गर्ने पलाता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमलाई कानुनी कारबाहीको माग गर्दै कालिकोटका महिलाहरु विरोधमा उत्रिएका छन्। नेपाल महिला संघ कालिकोटले शुक्रबार कालिकोट जिल्लाको सदरमुकाम मान्म बजारमा नाराबाजीसहित प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएको छ । गाउँमा आएको सिंहदरबारका प्रमूखले नै महिलामाथि ज्यादती गरेको आरोप लगाउदै कारबाहीको माग गरेको छ।
महिलामाथि दुर्व्यवहार गर्ने गाउँपालिका अध्यक्षलाई कारबाहीको माग गरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदै महिलाहरु । तस्बिर : बिस्नप्रसाद न्यौपाने
उजुरी दिँदा पनि पीडितले न्याय नपाए सबै महिलाहरु आन्दोलित हुने चेतावनी पनि दिएको छ। महिलाहरुको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले महिला र बालबालिकाको मुद्दामा प्रशासनले कुनै पनि कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाए। उनले भने, ‘अपराध गर्ने जो कोही पनि कानुनी दायरामा आउँछ। कानुन कार्यन्वयनका लागि कालिकोटको प्रशासन पूर्ण रुपमा प्रतिबद्ध छ।’
मैले कुटपिट गरेको छैन : बम
यता पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले सुनसरालाई आफूले कुटपिट नगरेको बताए। स्थानीय एक जना दलित युवा सुनसराको नास्ता पसलमा चुरोट सल्काउन आएका बेला दलितले किन चुलो छोएको भनेर उनीहरुले कुटपिट गरेपछि विवाद उत्पन्न भएको बताए ।
‘एक जना दलित युवा उनको नास्ता पसलमा चुरोट सल्काउन गएएछन्। दलितले चुलो छुने भनेर सुनसरा र उनका श्रीमान दुवै जनाले उनीमाथि कुटपिट गरेछन।’ उनले भने ‘त्यो घटना थाहा पाएपछि आफूले प्रहरी लिएर घटनास्थल गएको र दलित भनेर कुटपिट गर्ने सुनसराका श्रीमान प्रेम बमलाई प्रहरीले पक्राउ गरेको हो।’
कालिकोट प्रहरी प्रमुख डीएसपी बिनोद शर्माले भने दलित भनेर कुटपिट भएको घटनाका बिषयमा आफूलाई कुनै जानकारी नआएको बताए ।