हायस दुर्घटनामा एकै परिवारका तीनको मृत्यु
दाङ : तुलसीपुरबाट बाँकेको नेपालगञ्जका लागि छुटेको हायस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
शनिबार बिहान तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको हायस दुर्घटना हुँदा एक्कै परिवारका तीनको मृत्यु भएको हो।
बाँकेको राप्तीसोनारी गाउँपालिका ९ अगैया जंगलमा भएको दुर्घटनामा शान्तिनगर गाउँपालिका– ७ का ५१ वर्षीया आमा मुना रावत, उनका २७ वर्षीय छोरा तुलसीराम रावत र मुनाकी देवरकी छोरी ३२ वर्षीया दोर्णा बुढाथोकीसहित ६ जनाको मृत्यु भएको हो।
बुढाथोकीको बिहे सल्यानको शारदा नगरपालिका भएको थियो। उनी लामो समयदेखि तुलसीपुर उपमहानगरपालिका–८ दोघरेमा बस्दै आएको आफन्तले बताएका छन्।
उनकै परिवारका केही सदस्य समेत घाइते भएका छन्। उनीहरु सपरिवार उपचारको लागि नेपालगञ्ज हिँडेका थिए।
दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भइसकेको छ । एक्कै परिवारका तीनसहित हाइस चालक तुलसीपुर उपमहानगरपालिका ७ मोतिपुरका ३३ वर्षीय बलराम चौधरी,तुलसीपुर ८ का २७ वर्षीया वसन्ती चौधरी र तुलसीपुर ५ का ५० वर्षीय नारायण श्रीस मगरको मृत्यु भएको हो ।