विविध संस्कृतिसहित फुड फेस्टिभल

विविध संस्कृतिसहित फुड फेस्टिभल

काठमाडौं : सुप्रिया वज्राचार्य (१९) भृकुटीमण्डपको बगैंचामा शनिबार बिहानैदेखि ‘कुमारी’को भेषमा मन्द मुस्कानका साथ उभिएकी थिइन् । बगैंचामा आउने हरकोही उनीसँग फोटो खिचाउन लालायित थिए ।

बगैंचावरिपरि विभिन्न परिकारका स्टल पनि थिए । सेन्टरमा भव्य स्टेज अनि झाँकी र चर्चित ब्यान्डहरूले लगातार मनोरञ्जन गराइरहँदा बगैंचा मानिसहरूको भीडले छोपिएको थियो । यो दृश्य ‘आईआईएमएस कार्निभल एन्ड नेपाल फुड फेस्टिभल २०१८’को हो । फेस्टिभलमा शैक्षिक परामर्शका साथै देशभरिका विविध खानाका परिकार र विभिन्न ब्यान्डको प्रस्तुति थियो ।

बगैंचामा सुप्रियालगायत पाँचजनाको समूह जीवित देवी ‘कुमारी’को पहिरनमा थिए । यी पाँचैजना हरकोही आगन्तुकको नजरमा थिए । उनीहरू बिहान ७ बजेदेखि तयार भएर त्यहाँ पुगेका रहेछन् । दिउँसोको घामले कुमारी बनेका ती पञ्चकन्या शिथिल थिए । तर पनि यी कुमारीहरूले आफ्नो थकान कसैलाई देखाएनन् र दिनभरि नै मुस्कुराइरहे ।

कार्यक्रमको भीडमा मीना डंगोल पनि भेटिइन् । नेवारी खाजाको स्वाद लिँदै उनी कन्सर्टमा मग्न थिइन् । आफ्नै कामले भृकुटीमण्डप पसेकी मीना बगैंचाभित्र मानिसको भीड देखेर पसेकी थिइन् । नयाँनयाँ परिकारका स्टल देखेर उनलाई उत्सुकता जाग्यो । एक्लै रमाइलो गर्न मन पराउने मीना भन्छिन्, ‘हाम्रो संस्कृतिको जगेर्ना हामीले नै गर्नुपर्छ ।’ यस्तो कार्यक्रमले संस्कृति जगेर्ना गर्न अझै मद्दत मिल्नेसमेत उनले बताइन् ।

इन्स्टिच्युट अफ इन्टरनेसनल म्यानेजमेन्ट साइन्सले आयोजना गरेको उक्त कार्यक्रमलाई दसैं फेस्टिभलको रूपमा पनि सेलिबे्रट गरिएको एस कलेजका सीईओ सर्वेन्द्र महर्जनले बताए । दसैंको उपलक्ष्यमा हरेक वर्ष कलेजभित्र कार्यक्रम गर्दै आए पनि योपल्ट बाहिर गर्ने प्रयास गरेको उनले बताए । ‘हामीले विद्यार्थीसँग मिलेर केही नयाँ गर्ने कोसिस गरेका हौं’, उनले भने । यो मेघा इभेन्टमा नेपाली खाना र संस्कृतिलाई प्रमोट गर्न खोजेको पनि उनले बताए ।

कार्यक्रममा गेम स्टल र फुड स्टलमा नेवारी खाजा, पाल्पाली, सुदूरपश्चिमेली खाना, थारू, मुसलमानी खाना पनि थिए ।

कीर्तिपुरको पाँगामा बरघर रेस्टुरेन्ट सञ्चालन गर्दै आएका सीताराम चौधरी फेस्टिभलमा थारू खानाको परिकार लिएर आएका थिए । थारू खानाको प्रवद्र्धन गर्न पाएकोमा उनी दंग थिए । केन्जल एन्ड ब्यान्ड, मंकी टेम्पल, कुटुम्ब ब्यान्डको प्रस्तुतिले वातावरण रोमाञ्चित बनाएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.