विराटनगरमा ‘विराट वाङ्मय उत्सव’ सुरु

विराटनगरमा ‘विराट वाङ्मय उत्सव’ सुरु

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा २ दिने ‘विराट वाङ्मय उत्सव’ सुरु भएको छ। विराटनगर महानगरपालिकाको प्रवद्र्धन तथा आरोहण गुरुकुलको आयोजनामा शुक्रबारदेखि उत्सव सुरु भएको हो। 

विराटनगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेको उत्सव शनिबारसम्म चल्ने छ। उनले भौतिक विकाससँगै भाषा, साहित्य, संस्कृति र कलाको विकासमा महानगरपालिकाले काम गरिरहेको जानकारी दिए। ‘विराटनगरले भाषा, साहित्य, कला र संस्कृतिको विकासलाई पनि ध्यान दिएको छ,’ मेयर कोइरालाले भने, ‘भाषा, साहित्य, कला, संस्कृति सबै हेर्ने गरी प्रज्ञा प्रतिष्ठान गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।’

प्रतिष्ठान गठन भइसकेपछि महानगर क्षेत्रभित्रका सबै भाषा, साहित्य, कला र संस्कृतिको विकासमा सहयोग पुग्ने उनको विश्वास छ। महानगरले सांस्कृतिक संग्राहालय स्थापनाको योजनासमेत अघि सारेको कोइरालाले बताए। कला र साहित्यिक राजधानी बनाएर विराटनगरको छुट्टै पहिचान कायम गर्न सक्नुपर्नेमा उनको जोड छ। कोइरालाले भौतिक विकाससँगै शिक्षा, स्वास्थ्य, भाषा, साहित्य, संस्कृति, कलाको पनि सँगसँगै विकास आवश्यक देखिएको उल्लेख छ। 

आयोजक संस्था आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले विराटनगरसहित कोशी प्रदेशको भाषा, साहित्य, संस्कृति र कलालाई जोड्ने उद्देश्यका साथ ‘विराट वाङ्मय उत्सव’ आयोजना गरिएको जानकारी दिए। समाज रुपान्तरणमा साहित्यको अहम् भूमिका हुने वरिष्ठ कवि कुन्ता शर्माको भनाइ छ। सम्भाषण प्रस्तुत गर्दै शर्माले साहित्य लेखनको विषयवस्तु फराकिलो हुँदै गएको चर्चा गरिन्। उनले आफ्नो पालामा महिला कवि साहित्यकार न्यून भए पनि पछिल्लो समय केही मात्रामा बढेको बताइन्। 

उत्सवको पहिलो दिन दिवंगत कविहरूका कवितासमेत वाचन गरिएको थियो। सो क्यानभासमा कवि हरिभक्त कटवालको रहर मुकुन्द प्रयास, हिरा आकाशको ‘अक्षरहरू’ मीनकुमार नवोदित, विमल गुरुङको ‘आगो बल्दैछ’ उमेश लुइँटेल, माधवप्रसाद घिमिरेको ‘वैशाख’ मञ्जुश्री गिरी, कृष्ण पाख्रिनको ‘जैनी सुतेकी छे ! नानी सुतेकी छे’ प्रयाग न्यौपाने, ईश्वरबल्लभको ‘मेरो सपना छन्’ विवेक विवश रेग्मी, लक्ष्मीप्रसाद देवकोटाको ‘हुरीको गीत’ भरत गुरागाईं बर्बरिक, वानिरा गिरीको ‘म च्याचिएको पोष्टर’ विवश पोखरेल, सानुमती राईको ‘जल्न देऊ बल्न देऊ’ रोमा निरौला र भूपी शेरचनको ‘पहिरो जाने पहाडमुन्तिर’ शीर्षकको कविता खेम नेपालीले वाचन गरेका थिए। 

उक्त कविताहरू मुकुन्द प्रयास, विनोदकुमार चौधरी, अभिषा घिमिरे, युवराज रिजाल, एलन शाक्य, महेन्द्र राई, संजय धिताल (सयल), गणेश लामा, यशोदाकुमारी सिंह र रवि बस्नेतले क्यानभासमा उतारेका थिए। त्यसैगरी ‘कता रुमलियो विराट विरासत ?’ शीर्षकमा बहससमेत भएको थियो। 

सो बहसमा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, उद्योगी ताराचन्द खेतान र लेखक तथा विश्लेषक दिनेश श्रेष्ठ सहभागी भएका थिए। पत्रकार महाप्रसाद खतिवडाले सहजीकरण गरेको बहसमा विराटनगरको शाख फर्काउनुपर्नेमा जोड दिइएको छ। त्यस्तै पत्रकार टेकेन्द्र अधिकारीले सहजीकरण गरेको ‘नेपाली भाषा बहाव’ शीर्षकको बहसमा केदार शर्मा, लता पौड्याल निरौला र विष्णु एस राईले आ–आफ्ना विचार राखे। हेमन्त बुढाथोकी, सोनु जयन्ती र दीपा पोखरेल ‘मञ्चमा म’ शीर्षकको बहसमा सहभागी भएका थिए। सो बहसको सहजीकरण सुमन लिङ्देनले गरेका थिए। 
अर्को कार्यक्रमअन्तर्गत ‘भोलि बास्ने कवि’ : सम्झनामा कृष्णभूषण बल प्रस्तुत गरिएको थियो। कवि मनु मञ्जिलले सहजीकरण गरेको सो कार्यक्रममा वरिष्ठ कवि जसराज किरातीले कृष्णभूषण बललाई स्मरण गरे। कवि केजी सुब्बाले सहजीकरण गरेको ‘नेपाली साहित्य सिर्जनाका नवीनतम् आयामहरू’ शीर्षकको बहसमा हाङ्युग अज्ञात, देवान किराती र शुभलक्ष्मी लम्साल आम्नेसाम्ने भए। 

पहिलो दिनको अन्तिम सेसनमा सुदीप पाख्रिन, हेमन यात्री, विमल वैद्य, रोशन परियार, मनु विश्वकर्मा, सुष्मा दाहाल, सगुन सुसारा, अनिशा रम्तेल, टीका आत्रेय, सविता गौतम दाहाल, जीवन आरोही, विनिता बोगटी र पराजित पोमुले प्रतिनिधि कविता वाचन गरेका छन्। दोस्रो दिन शनिबार मातृभाषी कविता वाचन, राजनीति र साहित्यः साहित्यमा राजनीति, योगवाणी र योगमाया, आख्यानमा चरित्र निर्माण : परिकल्पना र प्रस्तुति, पात्र र लैंगिकता, समकालीन रचना वाचन, गजल गुञ्जनलगायतका कार्यक्रम हुने गुरुकुलका अध्यक्ष क्षेत्रीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.