अलैंचीमा युवाको आकर्षण

अलैंचीमा युवाको आकर्षण

भोजपुर : खोल्सीको कालोसुन मानिने अलैंचीको मूल्यमा विगतको तुलनामा ५० प्रतिशतभन्दा बढी गिरावट आएको छ। तर, भोजपुरको पश्चिमी टेम्के मैयुङ गाउँपालिका–२ छिनामखुका कृषक भने यतिबेला धमाधम अलैंची खेती विस्तारतिर लागेका छन्। बर्सेनि बाँझो जोत्न, हिल्याउन, आलीभित्ता, रोपाईं, खेताला, कुलोपानी, काट्ने, उठाउने र फेरि जोत्नेलगायत विभिन्न झन्झटिलो धान खेतीको कामभन्दा अलैंचीलाई एकपटक रोपेपछि र वर्षमा एकपटक गोडेमेल र मलजल मात्र गरे वर्षौंसम्म पुग्ने भएकाले यहाँका कृषक धान खेतीलाई थाँती राखेर अलैँची खेतीमा आकर्षित भएको सुनाउँछन्।

अलैंची खेतीतर्फ युवाको आकर्षण बढेसँगै जिल्लामा अलैंची खेतीको विस्तार हुँदै गएको छ। अलैंचीको मूल्य घटे पनि अरुको तुलनामा यसले फाइदा नै पुर्‍याउने भएकाले खेतीलाई नै निरन्तरता दिएको युवा कृषक राजेश राई सुनाउँछन्। उनले भने, ‘धान रोप्न धेरै झन्झट र समय लाग्ने भएकाले हेरचाह पनि धेरै गर्नुपर्छ। तर अलैंचीलाई एकचोटी गोडेर पानी हालिदिए पुग्छ। अलैंचीमा मेहनत कम लाग्ने र मूल्य पनि राम्रै भएकाले धान छोडेर यो खेती सुरु गरेँ।’

विगत वर्षमा अलैंचीको बिरुवा जेठ–असारमा मात्रै रोप्ने उनीहरू हिउँदको समयमा पनि सिँचाइ व्यवस्था मिलाएर बिरुवा विस्तारसमेत गरिरहेका छन्। अन्य खेतीको तुलनामा अलैंची खेती गर्नसमेत सहज हुने भएकाले धान, मकैको तुलनामा फाइदाजनक नै रहेको अर्का कृषक दीपचन्द्र राईले बताए। ‘पोहोरसाल यसको मूल्य ह्वात्तै घट्दा अलिक अलैंची सोचेजस्तो बिक्री गर्न सकिएन। तर धानको मूल्यभन्दा कम परिश्रम लाग्ने यो अलैंची खेतीबाट सन्तोषजनक नै आम्दानी हुने गरेको छ’, उनले सुनाए।

अलैंचीलाई एकपटक रोपेपछि वर्षमा एकपटक गोडेमेल र मलजल मात्र गरे वर्षौंसम्म पुग्ने भएकाले धान खेतीलाई थाँती राखेर कृषक अलैँची खेतीमा आकर्षित भएका हुन्।

आफ्नो सयौं मुरी धान फल्ने खेत मासेर भए पनि अलैंची खेती विस्तारमा लागेका यहाँका युवा उदाहरणीय बनेका छन्। गत सालमात्रै जिल्ला कृषि विकास कार्यालयले छिनामखुको उद्यमशील कृषि सहकारी संस्थालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ५० प्रतिशत अनुदान र अलैंची विकास समितिको सहयोगमा अलैंची ढुवानी गर्ने एउटा मिनी ट्रकसमेत उपलब्ध गराएको थियो।

सहकारीले उक्त परियोजनाअन्तर्गतकै २३ लाखको लगानीमा गाउँभरिको किसानको उत्पादित अलैंची संकलन गर्ने गरी अलैंची गोदाम बनाएको थियो। सहकारीका कोषाध्यक्ष सुमन प्रधानले गोदाममा अलैंची संकलनका साथै अलैंची व्यवस्थापन तथा ढुवानी गर्ने गरेको बताए। यहाँको अलैंची धरान, विराटनगर, विर्तामोड हुँदै भारत निकासी हुने गरेको कोषाध्यक्ष प्रधानले बताए।

वैदेशिक रोजगारीमा दैनिक हजारौंको संख्यामा बिदेसिने युवाका लागि यहाँका युवा अलैंची उद्यमी युवा उदाहरणीय बनेका छन्। गाउँका धेरैजसो युवा विदेशबाट फर्किएर गाउँमै केही गर्ने सोचका साथ अलैंची खेतीतर्फ लागेका छन्। पछिल्लो समय गाउँमै ग्रामीण कच्ची सडक पुगेपछि अलैंची खेतीमै प्रशस्त सम्भावना देखेका कृषकलाई अलैंची बिक्री गर्न पनि सहज भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.