सहकारीबाट गाउँगाउँमा रेमिटेन्स
बैतडी : जिल्लाको दशरथचन्द नगरपालिका–२ की वसन्ती बोहरा विदेशबाट श्रीमानले पठाएको पैसा झिक्न सदरमुकाम पुग्थिन्। तर गाउँकै सहकारीमा रेमिटेन्स सेवा सुरु भएपछि उनलाई सजिलो भएको छ। श्रीमानले विदेशबाट पठाएको पैसा शिखर बीउ प्रवर्द्धन सहकारी संस्थाले सञ्चालन गरेको प्रभु रेमिटेन्समार्फत हात पारिन्। उनले भनिन्, ‘विदेशबाट पठाएको पैसा ल्याउन सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो। अचेल गाउँनजिकैको सहकारीले रेमिटेन्स सेवा सुरु भएपछि सजिलो भएको छ।’
जिल्लाको पाटन नगरपालिका–९ ककस्यालीकी जानकी भट्टले रोजगारीका लागि भारतको दिल्लीमा रहेका श्रीमानले पठाएको पैसा सहकारीमार्फत नै प्राप्त गरिन्। उनले भनिन्, ‘ श्रीमानले पठाएको पैसा ल्याउन सदरमुकामसम्म पुग्न निकै गाह्रो हुन्थ्यो। कागजपत्र जुटाउनमै समस्या हुन्थ्यो। गाउँनजिकै रहेको सहकारीमार्फत विदेशबाट पठाएको पैसा पाइन थालेपछि खुसी लागेको छ।’
पाटन नगरपालिका खोड्पेकी तुलसी बिष्टलाई श्रीमानले भारतबाट पठाएको पैसा ल्याउन निकै सकस हुन्थ्यो। तर सहकारीमार्फत गाउँमै रेमिटेन्स सेवा सुरु भएपछि उनलाई पनि सजिलो भएको छ। उनले भनिन्, ‘ श्रीमानले पठाएको पैसा आफ्नै गाउँनजिकको सहकारीबाट प्राप्त गरेपछि खुसी लाग्यो। सदरमुकाम जाने झन्झट र खर्च दुवै बच्यो।’
गाउँगाउँमा सहकारीमार्फत रेमिटेन्स पुग्न थालेपछि सजिलो भएको सेवाग्राहीको भनाइ छ। बैतडीका विभिन्न ६ सहकारीले गाउँमै रेमिटेन्स सेवा सञ्चालन गरिरहेका छन्।
अक्सफाम नेपाल र ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज (रुडेस)को सहयोगमा सहकारीहरूले रेमिटेन्स सेवा सुरु गरेका हुन्। ‘रोजगारीका लागि भारत पसेका नागरिकको पुँजीको सुरक्षा गर्ने र गाउँमै उनीहरूको पुँजी पुर्उने उद्देश्यले सहकारीमार्फत रेमिटेन्स सेवा सुरु गर्न सहयोग गरेका हौं।’ रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले भने, ‘भारतबाट फर्कने बेला आप्रवासी कामदार लुटिने गर्थे। उनीहरूमा पर्ने जोखिम कम गर्न सहकारीमार्फत रेमिटेन्स सेवा सुरु गरेका हौं।’