अस्पताल सरसफाइमा कञ्‍चनपुरका युवा

अस्पताल सरसफाइमा कञ्‍चनपुरका युवा

महेन्द्रनगर : युवाहरूको समूहले महाकाली अञ्चल अस्पताल परिसरमा लामो समयदेखि फोहोर सरसफाइ गर्न सुरु गरेको छ। युवाहरूले नागरिक सरोकार समूह नाम दिएर हरेक शनिबार अस्पतालमा समय दिने गरेका हुन्। ‘कञ्चनपुरवासीमा सकारात्मक सोचका साथ चिकित्सकलाई अस्पतालमा बस्ने वातावरण बनाउन युवा सक्रिय भएका छन्’, समाजसेवी लीलाध्वज बस्नेतले भने, ‘युवाहरूको समूह अस्पताल सुधार गर्न केन्द्रित छ, अहिले बाहिरको वातावरण राम्रो बनाउने अभियानमा छन्, त्यसपछि अस्पतालभित्रको वातावरणसमेत सुधार्ने काम हुन्छ।’

शनिबार बिहानै युवाहरूको एक समूह महाकाली अञ्चल अस्पताल पुगिसक्छ। कसैले हातमा सरसफाइ गर्ने सामान त कसैले मर्मत र रंगरोगनका सामग्री बोकेका हुन्छन्। कञ्चनपुर सदरमुकाममा पेसा व्यवसायमा लागेका युवा हरेक शनिबार बिहान अस्पताल परिसरमा दुई/तीन घण्टा बिताउँछन्।

सरकारले महाकाली अञ्चल अस्पतालमा दक्ष चिकित्सक र अस्पतालले प्रदान गर्ने सेवा गुणस्तरीय एवं प्रभावकारी बनाउन नसकिरहेका बेला युवाहरूको समूह अस्पताल सुधार गर्न कम्मर कसेर लागेको छ। ‘यो अस्पताललाई सुधार गर्नुपर्ने दायित्व हामी सबैको हो, त्यसैले हामीले सुधारका लागि सानै कामबाट भए पनि थालेका छौं’, अभियानमा सहभागी किरण भट्टले भने, ‘सरकारको मात्र मुख ताकेर नभई नागरिक स्तरबाट पनि गर्न सक्ने कामका लागि युवा समूह सक्रिय भएको हो।’

उनले अस्पतालमा चिकित्सक बस्ने वातावरण बनाउन र आममानिसमा अस्पतालको अपनत्व जगाउन अभियान थालिएको बताए। ‘दुई/चार जना साथीले योजना बनाएर केही गरौं भनेर अस्पतालको सरसफाइबाट काम थालेका थियौं’, नेत्री एवं अभियानमा सहभागी कौशिल्या ओझाले भनिन्, ‘अहिले हरेक शनिबार मानिसको सहभागिता बढ्दै गएको छ, समाजमा रहेका हरेक तह र तप्काका मानिस अस्पताल सुधार गर्नुपर्छ भन्दै अग्रसर भएका छन्।’

युवाहरूको समूहले अस्पताल परिसर सरसफाइका अतिरिक्त उद्यानको मर्मत सम्भारलगायत अस्पतालमा रहेका शौचालयको सरसफाइसमेत गरिरहेको छ। ‘ अभियानमा सहभागी मदन चन्दले भने, ‘बाहिरको वातावरण राम्रो बनाउने र त्यसपछि अस्पतालभित्रको वातावरण सुधार्नेतर्फ ध्यान केन्द्रित हुनेछ।’ अहिले अस्पतालमा मर्मत गर्नुपर्ने स्थानमा युवा आफैंले खर्च जुटाएर उक्त काम गरेका हुन्।

सरकारले नै अस्पताललाई गुणस्तरीय र प्रभावकारी सेवा दिने माध्यम बनाउनुपर्ने हो। तर, युवाहरूको समूह भने सरकारी निकायको ध्यान जान नसकेपछि आफैं सक्रिय भएर लागेको बताउँछ। ‘चिकित्सक बस्नै नसक्ने वातावरण छ भन्ने बाहिर हल्ला गरिन्छ’, अभियानमा सहभागी कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जंगबहादुर मल्लले भने, ‘यो अस्पताल हामी सबैको सम्पत्ति हो, यसको संरक्षण गर्नुपर्ने दायित्व पनि हाम्रै भएको ठानेर लागेका हौं।’

युवाहरूको अस्पताल सुधार गर्ने अभियानले बिरामीसमेत खुसी देखिन्छन्। ‘यो अस्पतालले विशेषज्ञ सेवा दिन सकिरहेको छैन, अब सबै मिलेर बनाउनु जरुरी छ’, उपचारका लागि आएकी सीता नेपालीले भनिन्, ‘युवाहरूको कामलाई सबैले सम्मान गर्नुपर्छ, अब सरकारले समेत यो अस्पतालको सुधारका लागि ध्यान दिनु जरुरी छ।’

सरकारले महाकाली अञ्चल अस्पतालमा विशेषज्ञ चिकित्सकसहित २८ जनाको दरबन्दी कायम गरेको छ। तर, अस्पतालमा तीनजना चिकित्सक मात्रै कार्यरत छन्। स्थापना भएदेखि नै दरबन्दीका चिकित्सकको अभाव झेल्दै आइरहेको महाकाली अञ्चल अस्पतालमा सरकारले कागजमा मात्रै चिकित्सकको दरबन्दी थप गर्दै आएको छ। अस्पताल भौतिक पूर्वाधारले देशका अन्य अस्पतालभन्दा निकै सुविधा सम्पन्न छ। तर, यहाँ चिकित्सक छैनन् र बिरामीले राम्रो उपचार सेवा पाउन सकेका छैनन्।

महाकाली अञ्चल अस्पतालमा उपचारका लागि आउने बिरामी महँगो पैसा खर्च गरेर भारतमा उपचारका लागि जानुपर्ने बाध्यता छ। त्यहाँ उनीहरू ठगिने समस्या पनि उस्तै छ। वर्षौंदेखि अस्पतालमा दरबन्दीअनुसार चिकित्सक माग गर्दै आए पनि सरकारले पठाउनेतर्फ ध्यान नदिएको युवा बताउँछन्। चिकित्सक अभावमा अस्पतालमा शड्ढया खाली छन् भने उपकरणसमेत प्रयोगविहीन भएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.