महँगीले चाडपर्व मान्न सकस
बिर्तामोड : बिर्तामोड–३ की अम्बिकादेवी पोखरेल एक साता पुग्ने तरकारी किन्न कृषिथोक बजार पुगिन्। बुधबार हटिया लाग्ने भएकाले केही सस्तोमा तरकारी पाउने आशामा थिइन् उनी। तर, उनले दुई दिनका लागि मात्र तरकारी किनिन् किनकि बोकेको पैसा अपर्याप्त भयो।
‘तरकारीको भाउ दोब्बरले बढेछ’, उनले भनिन्, ‘पहिलेजस्तो सोचेर एक साता पुग्ने सब्जी खरिद गर्न आएकी, ल्याएको रकमले दुई दिनलाई मात्रै पुग्ने खरिद गर्न पाएँ।’ बिर्तामोडकै रंगप्रसाद दाहाल पनि तरकारीको भाउ सुनेर छक्क परे। ‘पहिले चार किलो गोलभेंडा आउने पैसाले अहिले एक किलो पनि आउँदैन’, उनले भने, ‘फूलकोपी, बन्दाकोपी, साग सबैको भाउ दोब्बर÷तेब्बर बढेको छ। यस्तै हो भने चाडपर्व कसरी मनाउने ? ’
झापामा तरकारी मात्र होइन, दैनिक उपभोग्य तेल, खाद्यान्न सबैको भाउ १० प्रतिशतभन्दा बढीले बढेको छ। चाडपर्व नजिकिएसँगै झापाका मुख्य बजार बिर्तामोड, काँकडभिट्टा, दमकलगायत क्षेत्रमा उपभोक्ताको चाप बढे पनि सबैको गुनासो एउटै सुनिन्छ– एक्कासि बढेको भाउले दसंै, तिहार मनाउनै समस्या हुने भयो। सरकारले असोज ६ गते सवारी साधनको भाडा समायोजन गरेपछि व्यापारीलाई भाउ बढाउने बहाना भएको बिर्तामोडस्थित भद्रपुर रोडका खगेन्द्र श्रेष्ठले बताए।
बिर्तामोडस्थित कृषि बजारका व्यापारीले आफूखुसी भाउ निर्धारण गर्ने गरेका छन्। यसको नियन्त्रण कतैबाट नभएको उपभोक्ताको गुनासो छ। ‘व्यापारीले पनि यो समयमा नकमाए कहिले कमाउने ? ’, व्यापारी सुमित्रा खतिवडाले भनिन्। चाडबाडका बेला केही मूल्यवृद्धि हुने उनले स्वीकार गरिन्।
बजारमा दाल, चामल, तेल र चिनीको भाउ एकनाससमेत छैन। १० देखि २० प्रतिशतसम्म भाउ बढेको उपभोक्ताको गुनासो छ। सरकारले नै चिनी आयातमा रोक लगाएपछि चिनीको मूल्य बढेको व्यापारीको भनाइ छ। असोज र कात्तिकमा तरकारी उत्पादन घट्ने भएकाले पनि भाउ बढेको व्यापारीको तर्क छ। खाद्यान्नको मूल्यवृद्धि भने यातायातको भाडा बढेकाले नै भएको दाबी बिर्तामोडका व्यापारी प्रदीप श्रेष्ठले गरे।
चाडबाडमा उपभोक्तालाई सहज होस् भनेर राष्ट्र बैंकले गत आर्थिक वर्षलाई थोक मूल्य सूचकांक निर्माणका लागि आधार वर्ष कायम गरेको थियो। जसअनुरूप देशभरका २४ बजार केन्द्रलाई थोक मूल्य संकलनका लागि छनोट पनि गरिएको थियो। तर, त्यसको पनि प्रभावकारी कार्यान्वयन नभएका कारण उपभोक्ता मारमा परेको उपभोक्ता मञ्चले जनाएको छ।
राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको देशको आर्थिक विवरणमा खाद्यान्नको मूल्य बढेको जनाइएको छ। जसअनुरूप २.३ प्रतिशत रहेको मूल्यमा वृद्धि भई ४.२ पुगेको छ। पहाडी क्षेत्रमा सबैभन्दा बढी दरले मूल्यवृद्धि भएको जनाइएको छ। तराईमा ४.१ प्रतिशत रहेको बजार मूल्य पहाडमा ५.३ प्रतिशत रहेको बैंकको विवरणमा उल्लेख छ।
यहीअनुरूप मूल्य निर्धारण गरिएको उद्योग वाणिज्य संघ दमकका वरिष्ठ उपाध्यक्ष विमल खतिवडाको भनाइ छ। बजारमा भने भाउ अत्यधिक बढाइएको छ। सरकारले अनुगमन नर्दा बजारमा बढेको मूल्य घट्ने देखिँदैन।