दसैंसँगै तराईमा दुर्गा पूजाको रमझम सुरु (फोटो फिचर)

दसैंसँगै तराईमा दुर्गा पूजाको रमझम सुरु (फोटो फिचर)

बर्दिबास : हिन्दुको महान चाड दसैं सुरु भएको छ।हिन्दुहरुले आ-आफ्ना घर वा पूजाघरमा मंगलबार घटस्थापना गरेका छन्। मधेशका जिल्लामा दसैंको आगमनसँगै दुर्गा पूजा पनि सुरु भएको छ।

सहर, बजार, गाउँ घरमा दुर्गा पूजाको भव्य तयारी छ। आज मधेशका जिल्लामा दुर्गा मन्दिर तथा शक्तिपिठमा घटस्थापना गर्नुको साथै कलश राखिएको छ। गाउँका कन्याकुमारी तथा महिलाद्वारा नदीबाट चोखो जल घैंटामा भरेर नरिवल, आँपाको कलशसहितको घैंटा शक्तिपीठमा राखिएका छन्।
 

नेपालीको महान चाड दसैंको पहिलो दिन बुधबार घटस्थापनासँगै बडा दसैंको रमझम गाउँघरमा देखिएको छ।दसैंको पहिलो दिन सबै नेपालीको घरघरमा घटस्थापना राखिने परम्परा छ। 

जमरा राख्नु पूर्व गाउँघरमा रातो तथा कमेरो माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ। घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ। देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ।

जमरालाई समृद्धिको प्रतीक मानिन्छ। त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ।

महोत्तरीको गौशाला, रामगोपालपुर, बर्दिबासलगायतका स्थानमा कलश यात्रा निकालिएको छ। बर्दिबासस्थित कामेश्वरनाथ महादेव मन्दिरमा दुर्गा पूजाको आयोजना गरिएको हो। हिन्दु धर्मावलम्बीको महान चाड दसैंको अवसरमा महोत्तरीको गौशला नगरपालिकामा कलश यात्रा निकालिएको छ।त्यस्तै गरी तराईका विभिन्न ठाउँमा बनाइएका दुर्गा भवानीको प्रतिमालाई नेत्र प्रदान गर्न कलश यात्रा निकालिएको हो।

उता धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार केन्द्र महेन्द्रनगरमा दुर्गाको पूज्नोत्सवका लागि १ हजार १ सय ११ किशोरीको सहभागीतामा कलश यात्रा गरिएको छ। नयाँ बजारस्थित दुर्गा भवानीको मन्दिरबाट सुरु भएको कलश यात्रामा नगरपरिक्रमा गरेर पुनः मन्दिरमा आई कलश विर्सजन गरेका हुन्।

महोत्तरीको औरही नगरपालिका ७ स्थित सोनामाई मन्दिरमा भुतमेलाको तयारी भइरहेको छ। सोनमाई मन्दिर परापूर्व कालदेखि नै भूतमेलाले प्रख्यात छ।हरेक वर्ष दसैंको चौथो दिनदेखि सोनामाइमा लाग्ने भुतमेला यसवर्ष शनिबारबाट सुरु हुँदै छ। चौठिदेखि विजयादशमीको दिनसम्म चल्ने यस भुतमेलामा हजारौ दर्शनार्थीको भीड लाग्ने गर्दछ।

भुत,बोक्सा बोक्सी र दुष्ट आत्माले सताइएका हजारौं पीडित प्रत्येक वर्ष यस मेलामा आउने गर्दछन् भने सोनामाइको असिम कृपाले यहाँबाट निको भएर जाने गरेको जनविश्वास रहिआएको छ।

वर्षौदेखि भुत , पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाँधमा परेका सोनामाइको सीमाक्षेत्रमा आउने बित्तिकै कसैबाट सताइको बारे आफै भन्न थाल्छन् भने देवीको शक्तिले सीमाक्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दै , रुँदै हाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने गर्दछन्। र दरबारमा पुगेका पीडित माताको दृष्टिपरेपछि निको भई आ-आफ्ना घर फर्कने गरेको पुजारी झगरु झाको भनाइ छ।

सप्तमीदेखि विजयादशमीसम्म चल्ने यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत भारतका विभिन्न सहरसम्मका हजारौं महिला र पुरुष पुग्ने गरेको कुरा स्थानीय बताउँछन्।घर घरमा भूतप्रेतले रातदिन दु:खी र पीडित भएका कारनी पीडित आ-आफ्ना घरबाट यहाँ आउँछन् भने सोनामाई शक्तिपीठबाट हाँस्दै जाने झाँक्रीको दावी छ। सोनामाई शक्तिपीठमा दर्जनौं धामी झाँक्री रातदिन भजन किर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् भने २४ सैं घण्टा माता प्रत्यक्ष विराजमान रहेर पीडितको पीडा हरण गर्ने गरेको पूजारी झाले बताए। 

माताको दरबारमा एक पटक पुग्ने पीडितको शरीरमा जीवनमा फेरि कहिल्यै पनि भूत प्रेत र बोक्सा बोक्सीको शक्ति नलाग्ने पौरानिक विश्वास जनमानसमा रहेको छ। तराईका जिल्लाभरमा दश दिनसम्म निरन्तर पूजाआजा गरी सम्पन्न गरिने यो पर्वमा ठाउँअनुसार विभिन्न किसिमले मनाउने चलन रहेको छ।

यो पर्व मा प्रतिमाको रुपमा काली,दुर्गालगायत सात सहेली र एक भाइ गणेश मानेर पूजाआजा गर्ने परम्परा रहेकोमा पूजाको छैटौं दिन अर्थात षष्टिको दिन बेलनौती हुन जाने र सप्तमीको दिन बेलटुट्टी भएर आउने तथा अष्टमी देखि दशमीसम्म खसी बोकाको बलि एवं नाचगान तथा मेला लाग्ने गर्छ। अन्तिम दिन अर्थात् एकादशीको दिन मेला विर्सजन तथा दहन कार्यक्रम रहेको हुन्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.