सवारी चालकमा दूर दृष्टिको समस्या

सवारी चालकमा दूर दृष्टिको समस्या

बिर्तामोड : दूर दृष्टि, कलर भिजन, बाइनाकुलर भिजन यी तीन अवस्था ठिक भएको व्याक्तिले मात्र सवारी चलाउन सक्छ। कुनै एक अवस्थामा कमजोर भए उसले सवारी चालक अनुमति पत्र नै पाउँदैन। तर, झापामा यस्ता चालक पनि फेला परेका छन् जसको कलर भिजन छैन भने टाढाको सवारीसाधन समेत स्पष्ठ देख्न सक्दैनन्। 

जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा मेची आँखा अस्पतालले चालकको बिहीबार गरेको आँखा परीक्षणमा यस्तो पनि समस्या भएका चालक फेला परेका हुन्। चेक जाँचमा संलग्न चिकित्सकका अनुसार सयमा दुईजनामा यस्तो समस्या भेटिएको छ। जसले रङ्गको पहिचान समेत गर्न सक्दैनन् भने टाढाबाट आएका सवारीलाई समेत राम्ररी छुट्याउन सक्दैनन्। 

बिर्तामोडस्थित नयाँ बसपार्कमा बस, ट्रक, ट्याम्पो, कार, जीपलगायतका ठूला तथा साना सवारीचालकको आँखा परीक्षण गरिएकोमा धेरैमा दूर दृष्टिको समस्या र दुई आँखाको फरक फरक दृष्टिको समस्या पाइएको मेची आँखा अस्पतालकी आउटिस अफिसर कविता कार्की कडरीयाले बताइन्। 'चालक संवेदनशील पेशा हो, दृष्टि राम्रो हुनुपर्छ, तर हामीले गरेको चेकजाँचमा सयमा दुई जनामा कलर भिजन र बाइनाकुलर भिजनको समस्या देखियो, अन्यमा पनि फरक फरक समस्या छन्,' उनले भनिन्। 

चालकले सवारीचालक अनुमतिपत्र लिँदा नै स्वास्थ्य जाँचको प्रमाणपत्र पेश गर्नुपर्छ तर अनुमति पत्र दिँदा सो कुरालाई ख्याल नगर्ने र दृष्टि राम्रो नभएकै कारण सवारी दुर्घटनामा पर्ने भएकाले चालकको आँखा जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले बताए। 

'मैले दुर्घटनाको अनुसन्धान गर्दा चालकको आँखाको दृष्टिको पनि समस्या भेटेर आँखा अस्पतालसँगको सहकार्यमा योजना बनाएको हो,' राईले भने, 'विश्व दृष्टि दिवसको अवसर पारेर आँखा जाँच गर्दा चालकलाई पनि फाइदा भयो।' 

प्रमुख राईले कुनै पनि सवारी चालकले सवारीचालक अनुमती पत्र लिँदा नै स्वास्थ्य परीक्षण रिपोर्ट सही भए सवारी दुर्घटनामा कमी आउने बताए। सवारी चालक अनुमति पत्र दिँदा रिर्पोट हेर्ने तर व्याक्तिको अवस्था नहेर्ने गरेकाले पनि यस्तो समस्या आएको उनको दाबी छ। आँखा परीक्षण गर्न पुगेका सवारी चालकले भने चालक अनुमति पत्र लिँदा ठीकै भए पनि बीचमा समस्या आएको बताएका छन्। 

बिर्तामोडका सवारी चालक कमलप्रसाद रिजालले सवारी चालक अनुमति पत्र लिँदा ठिकै अवस्था भए पनि बीचमा समस्या आयो की भनेर आँखा जाँच गर्न आएको बताए। 'लाइसेन्स लिँदा ठीकै थियो, धूलो, धुँवा, दिन रात जुनै समय पनि सवारी चलाउँदा समस्या अउन सक्छ, त्यसैले चालक पनि सचेत हुनुपर्ने रहेछ,' रिजालले भने। 

सवारी चालकले सवारीचालक अनुमति पत्र लिँदा मात्र आँखा परीक्षण गर्ने र पछि वास्ता नगर्ने कारणले आँखाको समस्या आएको चिकित्सक बताउँछन्। पाँच वर्षमा मात्र नविकरण गर्ने भएकाले बीच बीचमा आँखाको जाँच गर्नुपर्ने चिकित्सकको सुझाव छ। करिब एक हजार चालकको आँखा परीक्षण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर पुरुषोत्तम जोशीले ५ वर्ष मुनिका बालबालिका र ४० वर्ष माथिका मानिसले पनि नियमित आँखा जाँच गराउनुपर्ने र अन्यले ६-६ महिनामा परीक्षण गरे दृष्टि गुम्नबाट जोगिने बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.