कृषि ज्ञानकेन्द्र उद्घाटनमै सीमित

कृषि ज्ञानकेन्द्र उद्घाटनमै सीमित

मुसिकोट : मुसिकोटमा उद्घाटन गरिएको कृषि ज्ञानकेन्द्र सञ्चालन गर्ने आवश्यक अख्तियारी नआउँदा कर्मचारीलाई हाजिर गर्नै समस्या भएको छ। कर्णाली प्रदेशको रुकुम पश्चिम र प्रदेश ५ को सल्यान जिल्ला हेर्ने गरी उद्घाटन गरिएको कृषि ज्ञानकेन्द्रका लागि कार्यालय व्यवस्थापन गर्न भवन नहुँदा सेवा दिन नसकिएको केन्द्रका प्राविधिक सहायक मीनबहादुर केसीले बताए।

प्रदेश सरकारमातहत रहने भनिएको यस केन्द्रसँगै एकै दिन अन्य दुई कार्यालय, घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय र भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र पनि उद्घाटन गरिएको थियो। जिल्लामा नेता आएका बेला पारेर हतारमा उद्घाटन गरिए पनि यी कार्यालयबाट सेवा प्रवाह हुन सकेको छैन।

कृषिको आफ्नै भवन हुँदाहुँदै जिल्ला समन्वय समिति रुकुम पश्चिमको निर्णयअनुसार मुसिकोट–३ पिपलनेटास्थित शिक्षा विकास तथा समन्वय इकाइको भवनमा अस्थायी कृषि ज्ञानकेन्द्र उद्घाटन गरिएको स्थानीय बताउँछन्।

साउन ६ गते संघीय सरकारको कृषि मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाले साविकको कृषि विकास कार्यालयको सबै सम्पत्ति प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन र कृषि ज्ञानकेन्द्रले प्रयोग गर्ने र ज्ञानकेन्द्र स्थापना नहुने ठाउँमा केन्द्रको सम्पर्क कार्यालय राख्ने भनेर पत्राचार गरेको थियो। पत्रअनुसार मुसिकोट नगरपालिकाले कृषि भवन खाली गर्नुपर्नेमा त्यसो नगर्दा समस्या आएको हो।

उपसचिवसरह अधिकृत एक जना कार्यालय प्रमुख, पाँच अधिकृत र अरू ९ जना गरी कृषि ज्ञानकेन्द्रमा १५ कर्माचारी रहनेछन्। कार्यालय प्रयोजनका लागि एउटा हलसहित कम्तीमा १० वटा र कर्मचारी आवासका लागि थप १२ वटा कोठा आवश्यक पर्ने प्राविधिक सहायक केसीले बताए। केन्द्र उद्घाटन भएको भोलिपल्टदेखि केन्द्रका प्रमुख तोकिएका साविक जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्मा भने बिदामा बसेका छन्।

अस्थायी शिक्षा कार्यालयमा ज्ञानकेन्द्र कार्यालय रहने भनिए पनि शिक्षा कार्यालयले भुइँतला मात्र केन्द्रलाई दिन सकिने बताएको छ। असोज ११ गते पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा र प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला शर्माले कृषि ज्ञानकेन्द्र उद्घाटन गरेका हुन्।

उता, मुसिकोट नगरपालिका कार्यालयले यसअघि कार्यालय प्रयोजनका लागि भाडामा घर खोजेको सूचना निकालेको थियो। त्यसबेला कृषि भवन खाली हुने अनुमान गरिएको थियो तर नगरपालिकाले उक्त सूचनाअनुसार आवेदन दिएका घर घाडामा लिने र कार्यालय सार्ने कामलाई स्थगन गरेको छ। नगरपालिकाले कृषि भवन छाड्ने सम्भावना न्यून छ। कृषि ज्ञानकेन्द्रले नगरपालिका रहेको भवनका तीनवटा कोठामा अस्थायी कार्यालय राखेको छ, उल्टै उक्त कोठा खाली गर्न नगरपालिकाले ज्ञानकेन्द्रलाई भनेको छ।

मुसिकोट नगरपालिकाका नगर प्रमुख देवीलाल गौतमसँग यसबारे जिज्ञासा राख्दा कृषि ज्ञानकेन्द्रका कुनै पनि कर्मचारी आफ्नो सम्पर्कमा नभएको बताएका छन्। प्रमुख गौतमले नगरपालिकाले कृषि भवनमा रहेको नगरपालिकाको कार्यालय नसार्ने स्पष्ट पारे। ‘समन्वय समितिको निर्णयअनुसार शिक्षा कार्यालयमा कृषि ज्ञानकेन्द्र रहन्छ। यो हाम्रो सरोकारको विषय होइन’, उनले भने, ‘नगरपालिकालाई अरू पनि केही कोठा आवश्यक पर्ने भएर सूचना गरेका हौं, त्यसको प्रक्रिया अगाडि बढेको छ। तर, नगरपालिकाको कार्यालय नै यहाँबाट सार्ने भन्नेचाहिँ होइन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.