लगानी गर्दा प्रदेशसँग समन्वय गर्न आग्रह
बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग बिहीबार विश्व बैंकका नेपालस्थित कन्ट्रि डाइरेक्टर फारिस हदाद जर्वोससहितको टोलीले भेट गरेको छ। प्रदेशमा हुन सक्ने लगानीका विषयमा विश्व बैंकको प्रतिनिधिले मुख्यमन्त्रीसँग भेटेर छलफल गरेको हो। टोलीमा बेलायती सहयोग नियोग डीएफआइडीका सुशासन हेर्ने टिम लिडर सिन्थिया रोय, युरोपियन युनियनका नेपालस्थित प्रमुख ओविद्यु, युएनडीपीका सहायक आवासीय प्रतिनिधि यमनाथ शर्मालगायत थिए।
भेटमा संघीय संरक्षनामा क्षमता विकास तथा पयर्टन विकासका विषयमा छलफल भएको थियो। टोलीले प्रदेशको विकास प्राथमिकता, संघीयतालाई कार्यान्वयन गर्ने क्रममा प्रदेशमा हालसम्म भएका काम, समस्या र अबको गन्तव्य बारे जानकारी लिएको थियो। संघ, प्रदेश र स्थानीय तहको संस्थागत संरचना, जनशक्ति, पूर्वाधार, क्षमता सम्बन्धमा दातृ निकायको सहयोग बारेमा पनि छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।
भेटमा विश्व बैंकका कन्ट्रि डाइरेक्टर फारिसले विश्व बैंकले प्रदेश ५ लगायत अन्य क्षेत्रमा पर्यटन विकासका लागि तयार हुँदै गरेको सहयोगसम्बन्धी मुख्यमन्त्रीलाई जानकारी गराएका थिए। मुख्यमन्त्री पोखरेलले हाल कार्यान्वयनमा रहेका वैदेशिक सहयोगका आयोजना सम्भव भएसम्म प्रादेशिक प्राथमिकता र आवश्यकतालाई समावेश गरी अघि बढाउन आग्रह गरे।
प्रदेशमा सञ्चालन हुने गरी नयाँ आयोजना अघि बढाउँदा प्रदेश सरकारसँग छलफल गरी प्रदेशको सोच र प्राथमिकतालाई योगदान पुयाउने गरी अघि बढाउन पनि उनले आग्रह गरे।