रङ छुट्याउन नसक्ने पनि सवारी चालक

रङ छुट्याउन नसक्ने पनि सवारी चालक

बिर्तामोड : रंग छुट्याउन नसक्ने, टाढाको गाडी देख्न नसक्ने सवारी चालक झापामा फेला परेका छन् । दूरदृष्टि, कलर भिजन, बाइनाकुलर भिजन अवस्था ठीक भएका व्यक्ति सवारी साधन चलाउन योग्य हुने भए पनि यस्तो सस्या देखिएको हो । यसमध्ये एक अवस्थामा कमजोर देखिए सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाउँदैनन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा मेची आँखा अस्पतालले बिहीबार आँखा परीक्षण गर्दा यस्तो खुलेको हो । चिकित्सकका अनुसार सयमा दुई जनामा यस्तो समस्या भेटिएको छ । यस्ता व्यक्तिले रङ चिन्न सक्दैनन् भने टाढाबाट आएका गाडी छुट्याउन सक्दैनन् ।

बिर्तामोडस्थित नयाँ बसपार्कमा बस, ट्रक, ट्याम्पो, कार, जिपलगायत सवारी साधनका चालकको आँखा परीक्षण गरिएको थियो । धेरै चालकमा दूरदृष्टि र दुई आँखाको फरक–फरक दृष्टिको समस्या पाइएको अस्पतालकी आउटिस अफिसर कविता कार्की कडरियाले सुनाइन् । ‘चालक संवेदनशील पेसा हो, दृष्टि राम्रो हुनुपर्छ’, उनले भनिन्, ‘तर, हामीले गरेको परीक्षणमा सयमा दुई जनामा कलर भिजन र बाइनाकुलर भिजन समस्या देखियो । अन्यमा पनि फरक–फरक समस्या छन् ।’

जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश राईका अनुसार चालकले लाइसेन्स लिँदा नै स्वास्थ्य जाँचको प्रमाणपत्र पेस गर्नुपर्छ । तर, लाइसेन्स दिँदा यसबारे ख्याल नगर्ने र दृष्टि राम्रो नभएकै कारण दुर्घटनामा पर्ने भएकाले चालकको आँखा जाँच गरिएको उनले बताए । ‘मैले दुर्घटनाको अनुसन्धान गर्दा चालकका आँखाको दृष्टिको पनि समस्या भेटेपछि आँखा अस्पतालसँगको सहकार्यमा यो योजना बनाएँ’, उनले भने, ‘आँखा जाँच गर्दा चालकलाई पनि फाइदा भयो ।’ लाइसेन्स लिँदा नै स्वास्थ्य परीक्षण प्रतिवेदन सही दिए दुर्घटनामा कमी आउने उनले बताए ।

आँखा परीक्षणमा आएका चालकले भने लाइसेन्स लिँदा ठीकै भए पनि बीचमा समस्या आएको बताए । बिर्तामोडका कमलप्रसाद रिजालले बीचमा समस्या आयो कि भनेर आँखा जाँच गर्न आएको बताए । ‘लाइसेन्स लिँदा आँखा ठीकै थियो’, उनले भने, ‘धूलो, धूवाँ, दिन–रात जुनै समय पनि सवारी साधन चलाउँदा समस्या अउन सक्छ, त्यसैले चालक पनि सचेत हुनुपर्ने रहेछ ।’

करिब १ हजार चालकको आँखा परीक्षण गरिएको जिल्ला ट्राफिकले जनाएको छ । मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर पुरुषोत्तम जोशीले पाँच वर्षमुनि र ४० वर्षमाथिकाले नियमित आँखा जाँच गराउनुपर्ने बताए । अन्यले ६÷६ महिनामा आँखा परीक्षण गरे दृष्टि गुम्नबाट जोगिने उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.