रुद्राक्षका दाना जोगाउन सीसी क्यामेरा जडान

रुद्राक्षका दाना जोगाउन सीसी क्यामेरा जडान

भोजपुर : पूर्वी पहाडमा रुद्राक्षको चर्चा निकै हुने गर्छ। यसको कारोबार, महत्व र आम्दानीकै कारण रुद्राक्षको दानाले ख्याति कमाएको हो। कतिपय जिल्लाका गाउँवस्ती यसका लागि प्रख्यात छन्। किसानको जीवनस्तर उकास्ने रुद्राक्षको मोल र महत्व बढेसँगै यसलाई जोगाउन निकै चुनौती थपिएको छ।

किसानले पनि जोगाउने नयाँ नयाँ उपायसँगै प्रविधिको समेत उपयोग गर्न सुरु गरेका छन्। भोजपुरको उत्तरी भेगको प्रमुख आम्दानी स्रोत वनको रुद्राक्ष खेतीमा चोरी र जथाभावी क्षति पुर्‍याउने कार्यले बगान कुर्नुपर्ने बाध्यता बढेको छ। हिजोआज किसानहरू सीसी क्यामराबाट बगानको रेखदेख र निगरानी गर्न थालेका छन्। 

षडानन्द नगरपालिका क्षेत्र आसपास रातिमा जथाभावी क्षति पुर्‍याउने र चोरी बढ्न थालेपछि कृषकले घर र बगान वरिपरि सीसी क्यामेरा प्रयोग गरी रुद्राक्षको निगरानी गर्न थालेका हुन्। गत वैशाखबाट स्थानीय दिङ्ला आसपास करिब ४५ घरका किसानले नयाँ प्रविधिबाट रुद्राक्षको रेखदेख गर्न थालेका हुन्। सीसी क्यामेराको प्रयोग गरिएपछि रुद्राक्षको बगानमा हुने अनैतिक क्रियाकलाप पनि कम भएको स्थानीय कृषक सुनाउँछन्।

‘हाम्रो आम्दानीको स्रोत भनेको यही एउटा रुद्राक्ष खेती हो। अन्य अन्नबाली हुँदैन। त्यही खेतीमा क्षति गरी दुःख दिन थालेपछि यो प्रविधि अपनायौं’, स्थानीय प्रमेशचन्द्र नेपालले भने, ‘यो प्रविधि जडान गरेपछि रातभर बगान कुर्नुपर्ने झन्झट हटेको छ।’

उत्तरी भेगको आम्दानीको मुख्य स्रोत रहेको रुद्राक्ष खेतीमा पछिल्लो समय किसानको बगानमा कोही नभएको मौका छोपी रुद्राक्षका दाना झार्ने, चोर्ने, जथाभावी रुद्राक्षका बोट काटिदिने, चोटपटक लगाइदिने, बिरुवा भाँचीदिने, उखेलीदिनेजस्ता क्रियाकलाप हटाउन उक्त प्रविधि अपनाइएको किसानहरू सुनाउँछन्।

यस्ता अनैतिक क्रियाकलापले पुग्ने क्षतिबाट रुद्राक्ष बगानका बोटबिरुवा र दाना जोगाउन उक्त विकल्प रोजिएको अर्का कृषक भविन्द्र कार्कीले बताए। सीसी क्यामेरा जोडेपछि घरभित्रै बसी रुद्राक्ष बगानको चोरी र बदमासी निगरानी गर्न सकिने उनले बताए।

रुद्राक्षको बगान रेखदेखका लागि घरमै जडान गरिएको सीसी क्यामेरा।

पारिश्रमिकमा बगान हेर्न कुरुवा राख्दा पनि राम्रो रुद्राक्षको दाना हराउने गरेपछि अन्तिम विकल्पमा सीसी क्यामरा जडान गरिएको अर्का स्थानीय कृषक प्रकाशचन्द्र जिसीले बताए। उनले भने, ‘तलब दिएर बोटमा कुरुवा राख्दा पनि दाना हराउन थालेपछि यो प्रविधि रोजेका हौं।’

आम्दानीको मुख्य स्रोत रुद्राक्षको बगानमा कोही नभएको मौका छोपी दाना झार्ने, चोर्ने, रुद्राक्षका बोट जथाभावी काटिदिने, चोटपटक लगाइदिने, बिरुवा भाँचीदिने र उखेलीदिनेजस्ता क्रियाकलाप हटाउन उक्त प्रविधि अपनाइएको हो।

यतिबेला रुद्राक्ष टिप्ने सिजन भएकाले पनि बढी सतर्कता अपनाइएको उनीहरू सुनाउँछन्। दुईदेखि २१ मुखेसम्म रुद्राक्ष फल्ने यस क्षेत्रमा वार्षिक करोडौंको कारोबार हुने गर्छ। जिल्लाको एकमात्र व्यापारिक नाकाको रूपमा रहेको दिङ्ला बजारमा रुद्राक्षको कारोबारका लागि छिमेकी जिल्ला चीन र भारतबाट व्यापारी आउने गरेका छन्। मुखदार, पाकेको र ठूलो भएमा यसको मूल्य झनै बढ्ने गरेको छ।

रुद्राक्षले चहलपहल बढ्यो

रुद्राक्षको दाना टिप्ने सिजन सुरु भएसँगै उत्तरी दिङ्ला बजारमा यतिबेला मानिसको चहपहल निकै बढेको छ। रुद्राक्षको कारोबारका लागि नगरक्षेत्रबाहेक अन्य ठाउँका कृषक र व्यापारी जमघट हुने भएकाले पनि चहलपहलमा वृद्धि भएको स्थानीय रुद्राक्ष व्यापारी रोशन भण्डारीले बताए। चहलपहल बढेसँगै रुद्राक्षको कारोबारमा पनि वृद्धि आएको उनी सुनाउँछन्। स्थानीयस्तरमा उत्पादित नयाँ रुद्राक्षका लागि व्यापारीहरूको आउजाउ हुने गरेको स्थानीय बताउँछन्।

कुनैबेला भारतमा मात्रै निकासी हुने रुद्राक्ष अहिले इन्डोनेसिया र चाइनासमेत निकासी हुने गरेको व्यापारीहरू बताउँछन्। अहिले चिनियाँ व्यापारी रुद्राक्षको बगानमै पसेर रुद्राक्ष खरिद गर्न थालेपछि रुद्राक्षको मूल्य र माग बढेको छ। पछिल्लो समय चिनियाँ व्यापारी संखुवासभाको सदरमुकाम खाँदबारी र तुम्लिङटारका होटल र व्यक्तिका घर भाडामा लिएर बसेका थिए।

तर पछिल्ला केही वर्षमा चिनियाँ व्यापारीले गोलो, चिल्लो, मिलेको, बुट्टादार र शरीरमा पहिरिँदा पनि नबिझाउने किसिमका दाना मात्र रोजेर लैजान थालेका छन्। गुणस्तरीय रुद्राक्षले अहिले पनि राम्रो भाउ पाउने व्यापारीहरू बताउँछन्। स्थानीय व्यापारीका अनुसार ४, ५ र ६ मुखे दानाको गुणस्तर हेरेर प्रतिकिलो १५ रुपैयाँदेखि डेढ लाख रुपैयाँसम्म खरिदबिक्री हुने गरेको छ।

नगर नै पकेट क्षेत्र

१० वर्षे सशस्त्र द्वन्द्वको चपेटापछि रुद्राक्षले जीवन धानेको दिङ्ला क्षेत्रमा संघीयतापछि केही नयाँ नीति ल्याइनुपर्ने स्थानीयको माग छ। रुद्राक्ष खेतीलाई व्यवसायीकरण गरी षडानन्द नगरपालिकाले रुद्राक्ष खेतीका लागि नयाँ नीति बनाउने जनाएको छ। नगरपालिका वडा नं ५, ६ र ७ का मुख्य उत्पादन क्षेत्र घोषणा गरी व्यवस्थित नर्सरीको पकेट क्षेत्रका रूपमा स्थापित गरिने उपमेयर मेरिका राईले बताइन्। ‘नगरपालिका क्षेत्रको प्रमुख आर्थिक स्रोत भएकाले पनि यसलाई व्यवस्थित गरेर लैजानुपर्छ भन्ने हाम्रो चाहना हो’, उनले भनिन्, ‘नगर क्षेत्रका कृषकको आर्थिकस्तर उकास्ने हाम्रो लक्ष्य छ। नगरसभाबाट रुद्राक्ष खेतीलाई बढावा दिने योजना पारित गर्ने सोचेका छौं।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.