दुई अर्बको मदिराजन्य वस्तु आयात

दुई अर्बको मदिराजन्य वस्तु आयात

वीरगन्ज : साउनदेखि असोजसम्म तेस्रो मुलुकमा उत्पादित महँगा मूल्यका मदिरा र इनर्जी ड्रिङसको आयात बढ्ने गरेको छ। दसैं तिहार र अन्य चाडपर्वका बेला खानपानमा मदिरा र शक्तिवर्द्धक जुस (इनर्जी ड्रिङस) अत्यधिक खपत हुने हुँदा तेस्रो मुलुकबाट मदिरा र इनर्जी ड्रिङसको बढ्ने गरेको हो।

यसपालि दसैंतिहारलाई लक्ष्य गरी साढे दुई महिनाको अवधिमा वीरगन्ज नाकाबाट मात्रै करिब दुई अर्ब रुपैयाँ मूल्य बराबरको मदिरा र इनर्जी ड्रिङस तेस्रो मुलुकबाट नेपाल भित्रिएको छ। वीरगन्जमा रहेको वीरगन्ज भन्सार र सिर्सिया सुक्खा बन्दरगाह गरी दुवै नाका हुँदै चालु आर्थिक वर्ष २०७५/०७६ को साउन १ देखि असोज १५ गतेसम्म तेस्रो मुलुकबाट दुई अर्ब ६० लाख ७८ हजार नौ सय ३३ रुपैयाँको एक करोड ६ लाख २६ हजार चार सय ८७ लिटर मदिरा र इनर्जी ड्रिङस आयात भएको हो।

गत आर्थिक वर्ष २०७४/०७५ को यही अवधिमा एक अर्ब १६ करोड ५८ लाख ९५ हजार चार सय ५५ रुपैयाँको ८६ लाख ८८ हजार दुई सय ४५ लिटर मात्र मदिरा र इनर्जी ड्रिङस वीरगन्ज नाका हुँदै आयात भएको थियो। गत आर्थिक वर्षको दुई महिनाभन्दा चालु आर्थिक वर्षको सोही अवधिमा ८४ करोड एक लाख ८३ हजार चार सय ७८ रुपैयाँ बढी मूल्यको मदिरा र इनर्जी ड्रिङस वीरगन्ज नाका हुँदै नेपाल भित्रिएको हो।

चालु आर्थिक वर्षको साउनदेखि असोज १५ सम्म वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट मात्रै एक अर्ब २० करोड ७२ लाख रुपैयाँको ७५ लाख ९२ हजार सात सय ३३ लिटर मदिरा र इनर्जी ड्रिङस आयात भएको छ। यस्तै वीरगन्ज भन्सार नाका हुँदै ७९ करोड ८८ लाख नौ हजार रुपैयाँको ३० लाख ३३ हजार सात सय १४ लिटर मदिरा र इनर्जी ड्रिङस नेपाल भित्रिएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सूर्य सेढाईंका अनुसार साढे दुई महिनाको अवधिमा सुक्खा बन्दरगाह नाकाबाट एक अर्ब १२ करोड दुई लाख ९४ हजार रुपैयाँको ७३ लाख ८८ हजार चार सय ४३ लिटर इनर्जी ड्रिङस आयात भएको छ।

वीरगन्ज नाका हुँदै नेपाल भित्रिने सबै मदिरा र इनर्जी ड्रिङस तेस्रो मुलुकबाट मात्रै आयात हुने गरेको छ।

यस्तै सोही नाकाबाट यस अवधिमा सात करोड ३७ लाख ७० हजार ५६ रुपैयाँ मूल्य बराबरको एक लाख ६७ हजार दुई सय तीन लिटर वाइन, ७७ लाख ९६ हजार ९० रुपैयाँको सात हजार सात सय आठ लिटर ह्विस्की, रम, भोड्का र जिन तथा ५४ लाख नौ हजार पाँच सय ९३ रुपैयाँको २९ हजार चार सय १९ लिटर बियर नेपाल भित्रिएको छ।

वीरगन्ज नाका हुँदै नेपाल भित्रिने सबै मदिरा र इनर्जी ड्रिङस तेस्रो मुलुकबाट मात्रै आयात हुने गरेको सेढाईंले बताए। इनर्जी ड्रिङस थाइल्यान्ड र भियतनामबाट, वाइन स्पेन र अस्ट्रोलियाबाट, बियर स्पेन, ब्राजील, बेलायत, थाइल्यान्ड र स्कटल्यान्डबाट तथा ह्विस्की, भोड्का, रम र जिन अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, स्कटल्यान्ड र चीनबाट आयात हुने गरेको सेढाईंले जानकारी दिए।

सिर्सिया सुक्खा बन्दरगाह हुँदै भित्रिने विदेशी मदिरामा स्कटल्यान्डको जोनी वाल्कर, भ्याट सिक्स्टी नाइन र टिचर्स, अमेरिकाको जिमबिम, बेलायतको सिभास रिगल आदि ब्रान्डका रम र ह्विस्की रहने गरेको सेढाईंले बताए। तेस्रो मुलुकमा उत्पादित मदिराजन्य पेय पदार्थ, सामुन्द्रिक मार्ग हुँदै पानीजहाजबाट भारतको कोलकाता बन्दरगाहसम्म र त्यहाँबाट रेल मार्ग हुँदै सिर्सिया सुक्खा बन्दरगाहमा आउने गरेका छन्।

तेस्रो मुलुबाट वीरगन्ज नाका हुँदै भित्रिने मदिरा र इनर्जी ड्रिङस वीरगन्ज, हेटौंडा, नारायणगढ, पोखरा, विराटनगर, धरान, काठमाडौंलगायत प्रमुख सहरमा आपूर्ति हुने गरेको प्रमुख भन्सार अधिकृत सेढाईंले बताए।

साढे दुई महिनामा मदिरा र इनर्जी ड्रिङसबाट मात्रै एक अर्ब ३२ करोडभन्दा बढी भन्सार राजस्व उठेको छ। सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले साढे दुई महिनाको अवधिमा आयात भएको मदिरा र इनर्जी ड्रिङसबाट ५२ करोड ३१ लाख ३६ हजार पाँच सय ३४ रुपैयाँ राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत सेढाईंले जानकारी दिए। त्यस अवधिमा आयात भएको मदिरा र इनर्जी ड्रिङसबाट वीरगन्ज भन्सार कार्यालयले ८० करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको सूचना अधिकारी यादवले बताए।

गत आर्थिक वर्षको यही अवधिमा सुक्खा बन्दरगाह भन्सारले मदिरा र इनर्जी ड्रिङसबाट ४२ करोड ८० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। वीरगन्ज भन्सार कार्यालयले भने गत आर्थिक वर्षको यही अवधिमा चार करोड रुपैयाँ राजस्व उठाएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.