लागू भएन फ्री भिसा, फ्री टिकट

लागू भएन फ्री भिसा, फ्री टिकट

काठमाडौं : बाराका सुदीप मैनाली एक लाख ६५ हजार रुपैयाँ तिरेर दुबई गए। होटलमा वेटरको कामका लागि ५० हजार रुपैयाँ पारि श्रमिक पाइने भनेर उनले उक्त रकम तिरी कतार गएका हुन्। तर उनले कतारमा भनेजस्तो काम पाएनन्। साहुको घरमा घरेलु काम पनि गर्नुपर्‍यो। खान, बस्नसमेत समस्या भयो। खान, बस्न समस्या भएपछि उनलाई बंगाली, केरला र बिहारका मानिसले सहयोग गरे।

उनलाई कतारमा समस्या भएपछि मामाका छोरा भाइ उज्जन उप्रेतीले वैदेशिक रोजगार विभागमा उजुरी हाले। उजुरी हालेको केही दिनमा उनी आफैं टिकट काटेर नेपाल फर्किए तर तीन महिनाको तलब पाएनन्। उनी जेनतेन दुःख गरेर कतारमा नौ महिना बसे।

उनी तीनकुनेस्थित केडी म्यानपावरबाट कतार उडेका थिए। म्यानपावरले टिकटको ३० हजार र श्रम गर्दाको १५ हजार दिने सहमति जनाएको छ तर उनले आफूबाट लिएको एक लाख ६५ हजार र तीन महिना काम गर्दा नपाएको तलब ९० हजार रुपैयाँ दाबी गर्दै आएका छन्। विभागमा उनको मुद्दा प्रक्रियामा रहेको छ।

उनीसहित पर्साका प्रकाश पाठक र झापाका प्रकाश राउतले काभ्रेका एजेन्ट रमेश तामाङमार्फत म्यानपावरलाई एक लाख ६५ हजारका दरले चार लाख ९० हजार रुपैयाँ बुझाएका थिए। प्रकाश राउत करिब एक महिना लुगामा आइरन लगाउने काम गरेर फर्किए। उनको मुद्दा सल्टिसकेको छ।

मकवानपुरकी रेश्मा गोले दुबई मार्केटमा जान असार १९ गते एजेन्ट कमल धिमाललाई ५० हजार रुपैयाँ बुझाइन्। साउन पहिलो हप्ता दुबई जान पाइने भए पनि अहिलेसम्म उनी जान पाइनन्। लामो समयसम्म पठाउँछु भन्दै नपठाएपछि पैसा फिर्ता चाहियो भन्दै उनी वैदेशिक रोजगार विभागमा उजुरी दिँदै छिन्। ‘अहिले एजेन्ट सम्पर्कविहीन भएको छ, पैसा डुब्ला भन्ने चिन्ता छ’, उनले भनिन्।

वैदेशिक रोजगारीमा ठगिने क्रम दिन प्रतिदिन बढ्दो छ। सरकारले फ्री भिसा, फ्री टिकटको व्यवस्था लागू गरे पनि त्यसको पाँच गुणाभन्दा बढी शुल्क तिर्न कामदार बाध्य छन्।

एजेन्ट धिमालबाट रेश्मासहित १२ जना ठगिएका छन्। त्यसमध्ये ६ जना रेश्माकै साथी हुन्। उनीहरूले पैसा फिर्ता पाउँ भन्दै विभागमा उजुरी दर्ता गराएका छन्। उनीहरूले यसअघि महानगरीय प्रहरी वृत टेकुमासमेत उजुरी दिएका थिए। प्रहरीले धिमाललाई केही समय जेलमा राखेर छोडेको छ भने मुद्दा प्रक्रिया अघि बढाउन विभागमा सिफारिस पठाएको गोलेले जानकारी दिइन्।

सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पा पोल्यान्ड जान एजेन्ट बुद्धिमान गुरुङलाई एक लाख रुपैयाँ बुझाइन्। तर पाँच महिना भइसक्यो उनी पोल्यान्ड जान पाएकी छैनन्। पोल्यान्डमा प्याकिङको काम गर्न ८० हजार रुपैयाँ पारि श्रमिक पाइने भएपछि पाँच लाख तिर्न उनी राजी भएकी थिइन्।

पोल्यान्डका लागि सरकारले ८० हजार चार रुपैयाँ लागत शुल्क निर्धारण गरेको छ। सुरुमा आफू जाने र पछि श्रीमान्लाई समेत लैजाने उनको योजना थियो। तर एजेन्टले पैसा पनि फिर्ता नगरी पोल्यान्ड पठाउन नसक्ने बताएपछि उनले विभागमा उजुरी गर्दै छिन्।

मैनाली, गोले र शेर्पा नमुना पात्र हुन्। वैदेशिक रोजगारीका नाममा यसरी ठगिने क्रम दिन प्रतिदिन बढ्दो छ। सरकारले फ्री भिसा, फ्री टिकटको व्यवस्था लागू गरे पनि त्यसको पाँच गुणाभन्दा बढी शुल्क तिर्न बाध्य छन् भने धेरैजसो ठगीमा परेका छन्। अधिकांश म्यानपावरले कामदारसँग लिएको रकमको रसिदसमेत दिँदैनन्।

वैदेशिक रोजगार विभागका निर्देशक उद्धवप्रसाद रिजालले व्यवहारत फ्री भिसा, फ्री टिकट लागू हुन नसकेको बताउँछन्। भिसा किन्नुपर्ने अवस्था, व्यक्ति एजेन्टमार्फत आउनु र डिमान्ड कम तथा सप्लाई बढी हुनुका कारण पनि फ्री भिसा, फ्री टिकट लागू हुन नसकेको रिजालले बताए।

सरकारले २०७२ सालदेखि फ्री भिसा र फ्री टिकटको व्यवस्था गरेको थियो। सरकारले मलेसिया र खाडीका सात मुलुकका लागि कामदारले टिकट र भिसा शुल्क तिर्न नपर्ने, सेवा शुल्कबापत १० हजार रुपैयाँ तिरे पुग्ने नीति ल्याएको थियो। तर म्यानपावरले सरकारले तोकेभन्दा पाँच गुणा बढी रकम असुल गरिरहेका छन्।

वैदेशिक रोजगार विभागका अनुसार ४३ लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा पुगेका छन्। सरकारले तीन वर्ष अघिदेखि फ्री भिसा, फ्री टिकट लागू गरे पनि अधिकांशले पाँच गुणाभन्दा बढी शुल्क तिर्न बाध्य छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.