दसैं किनमेल भारतीय बजारमा
तौलिहवा : वडादसैंका लागि आवश्यक सामान किन्न भारतीय बजारमा नेपालीको घुइँचो लागेको छ। दसैंको मुखमा कपिलवस्तुका मुख्य बजारहरू भने सुनसानजस्तै छ। सदरमुकाम तौलिहवाका साथै कृष्णनगर, चन्द्रौटा, गोरुसिंगे, जितपुर, पकडीजस्ता मुख्य बजारमा दसैंको रौनक देखिँदैन। सस्तो, राम्रो र आर्कषक सामग्री खरिद गर्न नेपाली उपभोक्ता भारतीय बजारमा जाने क्रम बढेपछि नेपाली बजार सुनसान देखिएको हो।
सीमाना जोडिएका भारतीय बजार बढ्नी, खुनुवा, चाकरचौडा, रंगपुर, हरदौनालगायत विभिन्न बजारमा नेपालीको बाक्लो चहलपहल देखिन्छ। दसैंका लागि चाहिने घरायसी सामानका साथै विलासिताका सामग्री किन्न समेत भारतीय बजारमा निर्भर देखिन थालेको छ। नेपाली उपभोक्ताहरु खासगरी कपडा, जुत्ता चप्पल, खाद्यान्न, टेलिभिजन, फ्रिज आदि किन्न भारतीय बजार जाने गरेको छन््।
सीमापारी पाइने सामान नेपाली बजारमा दोब्बर महंगो हुने भएकाले आफुहरु भारतीय बजार जान बाध्य भएको उपभोक्ताको भनाइ छ। ‘नेपाली बजारमा ६ हजार पर्ने कपडा भारतीय बजारमा २ हजारभन्दा बढि पर्दैन। चाड आफैंमा खर्चिलो हुन्छ। बचत त गर्नै पर्यो’, चन्द्रौटाका उपभोक्ता विपिन भुसालले भने। खाद्यान्न वस्तु पनि निकै सस्तो भएकाले उपभोक्ता भारतीय धाउने उनको भनाइ छ।
काठमाडौं, बुटबललगायत अन्य मुख्य शहरमा सरकारले सस्तो पसल सञ्चालन गरेमा उपभोक्ता भारतीय बजार जाने क्रम कम हुने उभोक्ता हक हित संरक्षण मञ्चका अध्यक्ष हुमनाथ पाण्डेको भनाइ छ। पहिलेको तुलनामा पछिल्लो समय नेपालमै कपडालत्ता तथा जुत्ताचप्पल गुणस्तरीय एवं सस्तो पर्ने भए पनि उपभोक्ताको मानसिकतामा परिर्वतन नआएको नेपाली व्यापारी बताउँछन्।
भारतीय बजारभन्दा सस्तोमा कपडा दिए पनि उपभोक्ताले गुणस्तरीय नभएको आरोप लगाउने कृष्णनगरमा कपडा पसल सञ्चालन गर्दै आएका केशव खनालले बताए। भारतीय कपडा आयात गर्दा लाग्ने भन्सार महशुल, कर तथा ढुवानी खर्चका कारण स्वतः नेपालमा कपडा महंगो हुन उनको भनाइ छ।
कपिलवस्तु व्यापार संघका अध्यक्ष महादेव पोखरेलले भारतीय बजारमा नेपाली उपभोक्ता ठगिने गरेको आरोप लगाए। सानो वस्तु सस्तोमा दिएर अन्य वस्तुमा चर्को मुल्य लिने गरेकाले नेपाली उपभोक्ता ठगिने गरेको उनको दाबी छ। ५ हजार रुपैयाँसम्मका लत्ताकपडा तथा खाद्यान्न ल्याउँदा भन्सार तथा राजस्व तिर्न नपर्ने भएकाले उपभोक्ता भारतीय बजारमा आर्कषित भएको व्यापारीको भनाइ छ।