तराईमा झिझियाको रौनक
![तराईमा झिझियाको रौनक](https://annapurnapost.prixacdn.net/media/albums/janakpur-jhijhiya_20181014052532_jNJX5AkQXc.jpg)
जनकपुरधाम : तराई–मधेसमा दसैं लागेसँगै झिझिया नृत्यको रौनक छाएको छ। धनुषा, सिरहा, सप्तरी, महोत्तरी, सर्लाहीलगायत जिल्लामा झिझिया नाच्न थालिएको छ। साँझका बेला टोल–टोलमा झिझिया नृत्य सुरु हुन्छ। मध्यरातसम्म सुरिलो स्वरमा गाइने झिझियाको रौनक जनकपुरस्थित रामानन्द चोकमा पनि देख्न सकिन्छ। टुनामुनाको प्रभाव कम गर्न झिझिया मनाउने चलन रहेको साहित्यकार जिवछ उदासी बताउँछन्। उनका अनुसार कथित बोक्सीविरुद्ध युवती झिझियामार्फत गाली दिन्छन्।
माटाका घैंटामा प्वालै प्वाल बनाएर भित्र दियो बालिन्छ। ती घैंटा टाउकोमा राखेर युवतीहरू नृत्य गर्छिन्। घैंटा नसमाई नै घण्टौंसम्म नृत्य गर्दै उनीहरू दुर्गापीठ पुग्छन्। त्यहाँ पनि यसरी नै नृत्य गर्दा अन्य महिला तथा युवा रमाउँछन्।
झिझिया रुढि विश्वासको परम्परा भए पनि मिथिला संस्कृतिको अंग भएकाले यसलाई परिमार्जन गर्दै संरक्षण गर्न जरुरी रहेको उपप्राध्यापक प्रदीप साह बताउँछन्। झिझियाको लोकप्रियता घटेकोमा उनी चिन्ता व्यक्त गर्छन्।
‘पहिला युवतीहरूले सुरिलो स्वरमा अनेकौं मैथिली गीत गाएर झिझिया खेल्दा गजब लाग्थ्यो’, उनी भन्छन्, ‘तर, अहिले डीजे राखेर झिझिया नृत्य गर्दा मन दुखेको छ।’ भिझिया आफैं गीत गाउँदै नृत्य गर्ने संस्कृति भएकाले यसको संरक्षणमा प्रदेश सरकारले चासो देखाउनुपर्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)