पारिश्रमिक नपाएपछि चिया मजदुरलाई दसैंको पीरलो

पारिश्रमिक नपाएपछि चिया मजदुरलाई दसैंको पीरलो

बिर्तामोड : सबैजना दसैंको किनमेल र रमझममा रमाइरहँदा झापा बिर्तामोडस्थित गिरी बन्धु टी स्टेटको चिया बगानमा कार्यरत बिर्तामोड- ५ की सावित्रा भट्टराई सोमबार बिहान पनि चियाको पत्ती टिप्नमै व्यस्थ थिइन्। 

कार्यालय खुल्ने सोमबार अन्तिम दिन भए पनि बगान सञ्चालकले पारिश्रमिक देला र दसैंमा बालबच्चालाई लुगाफाटोसहित आवश्यक सामाग्री किन्ने सोच उनको थियो। तर सोमबार पनि पारिश्रमिक नदिने बगान सञ्चालकले बताएपछि आँखाभरी आँसु पार्दै साबित्राले भनिन् 'अब केले बालबच्चालाई लुगाफाटो किन्ने अनि केले दसैं मान्ने ?' 

भट्टराई मात्र होइन गिरी बन्धु टी स्टेटमा कार्यरत दुई सय मजदुरलाई यो दसैं कसरी मान्ने चिन्ता छ। उनीहरुले विगत एक महिनादेखि पारिश्रमिक पाएका छैनन्। दसैंमा त पारिश्रमिक पाउँछौ होला भन्ने आश थियो तर दसैं खर्च भनेर एक रुपैयाँ पनि पाएका छैनौँ,' अर्की मजदुर चन्द्र माया सुब्बाले भनिन्। 

सरकारले मजदुरको पारिश्रमिक बढाए पनि हालसम्म पारिश्रमिक नपाएको बताउँदै चिया मजदुर सुब्बाले भनिन्, 'सरकारले बढाएको पारिश्रमिक एक वर्ष/दुई वर्षमा बगान सञ्चालकले बल्ल बढाएर दिने गरेको थियो, अघिल्लो वर्ष पनि दसैंमा पेश्की भन्दै केही रकम दिएर टार्‍यो, यो वर्ष त दसैं कसरी मान्ने।' आफूहरुको अरु आम्दानी केही नभएको र चिया टिपेर नै जिविकोपार्जन गर्नुपर्ने भएकाले ऋण माग्दा समेत कसैले नदिएको सुब्बाको गुनासो छ। 

पारिश्रमिकको विषयमा सञ्चालकसँग कुरा गर्दा बगाननै उठेर जाने भएकाले अब मजदुर पनि नथप्ने र पारिश्रमिक पनि नबढाउने जवाफ दिने गरेको सुब्बाले बताइन्।  अझै केहि महिनाअघि मजदुर नेताले पारिश्रमिकका विषयमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएपछि बगान सञ्चालकले मजदुरलाई सिडिओसँग माग पैसा भनेर हप्काउने गरेको उनको गुनासो छ।

गिरी बन्धु टी स्टेट प्रालिले सञ्चालन गर्दै आएको चिया बगान झापाको बिर्तामोड नगरपालिका-५ र शनिअर्जुन नगरपालिका-९ मा फैलिएको छ। यो बगानमा नियमित एक सय मजदुरले चिया टिप्छन् भने चियाको सिजनमा दुई सयसम्म मजदुर कार्यरत रहने गरेका छन्।

चिया टिप्ने मध्य सिजनमानै चाडपर्व आउने र चिया बिक्री गरेर सञ्चालकले राम्रो आम्दानी गरे पनि मजदुरलाई पारिश्रमिक दिनमा कञ्जुस्याई गर्ने गरेको सोहि बगानमा कार्यरत चिया मजदुर लक्ष्मी देवी दर्जीले बताइन्।'हामी पुस्तौँदेखि चिया बगानमा कार्यरत रहेका छौं, चिया बगान घाटामा गएको वा नाफामा छ हामीलाई पनि उत्पादन र बिक्री हेर्दा थाहा हुन्छ, चिया बिक्री भइरहेको छ तर मजदुरलाई बगान सञ्चालकले पारिश्रमिक भनेको समयमा कहिले दिएको छैन, यो वर्ष त दसैंमा समेत दिएन,' दर्जीले भनिन्। 

बगान सञ्चालक र मजदुर नेता मिल्ने भएकाले चिया मजदुरको गुनासो कसैले नसुनेको चिया मजदुर मसिनी सुब्बाको भनाइ छ। '२०३० सालदेखि यो चिया बगानमा चिया टिपिरहेको छु, ३४ वर्ष कट्यो, मजदुरको मुख्य समस्यानै पारिश्रमिक हो, यो विषयलाई लिएर मजदुर नेता मोटाए तर हामी जस्ताको त्यस्तै छौं, चाडपर्वको समयमा पनि सुख्खा भैयो,' सुब्बाले भनिन् । 

मजदुर नेताले मजदुरको हक हितको लागि भन्दै चिया टिप्ने समयमा सरकार र बगान सञ्चालकसँग मजदुरको पारिश्रमिकको विषय उठाउने अनि आन्दोलन गरेजस्तो गर्ने र केही रकम लिएर आन्दोलन रोक्ने हुँदा मजदुरको वास्तविक समस्याको समाधान नभएको बगानमा कार्यरत मजदुरको गुनासो छ । 

केही महिना अघि मात्र विभिन्न मजदुर संगठनले सरकारले साउन १ गते देखि लागू हुनेगरी तोकेको पारिश्रमिकका विषयमा कुरा उठाएर आन्दोलन सुरु गरे पनि बीचमानै आन्दोलन स्थगित गरेको मजदुर नारायण दर्जीले बताए।

सरकारले गत साउन १ गते देखि श्रमिकका लागि आधारभूत पारिश्रमिक ६ हजार ४ सय ६९ र महङ्गी भत्ता चार हजार ३ सय १२ गरी मासिक १० हजार ७ सय ८१ पारिश्रमिक तोकेको थियो । त्यस्तै दैनिक रुपमा काम गर्ने श्रमिकका लागि आधारभूत पारिश्रमिक २ सय ३१ र महङ्गी भत्ता १ सय ५४ गरी ३८५ पारिश्रमिक तोकिएको छ भने प्रतिघण्टा आधारभूत पारिश्रमिक ३१ र महङ्गी भत्ता २० गरी ५१ पारिश्रमिक तोकिएको छ ।

सो पारिश्रमिक कुनै पनि बगान सञ्चालकले मजदुरलाई दिएका छैनन् भने यस अघि दैनिक ८ घण्टा काम गर्दा दैनिक २७८ रुपैयाँ दिने गरेपनि सो पारिश्रमिक पनि नपाएको मजदुरको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.