जामाखोला लघु जलविद्युत आयोजना पहिरोले पुरियो
रुकुम : रुकुमपूर्व सिस्ने गाउँपालिका ८, धपेमा रहेको जामाखोला लघु जलविद्युत आयोजनाको विद्युत उत्पादन गृह पहिरोले पुरिएको छ। मंगलबार बिहान आएको पहिरोले आयोजनामा ठूलो क्षेती पुर्याएको वडाध्यक्ष खर्कसिंह थापाले जानकारी दिए।
पहिरोमा परी स्थानीय २० वर्षीया जेनुका गौतम घाइते भएकी छन्। आयोजनाका विद्युत अपरेटरकी श्रीमती उनी श्रीमानलाई सघाउन विद्युतगृह गएकी थिइन्। उनका श्रीमान गणेश पौडेल भने भागेर बचेका थिए। घाइते गौतमलाई उपचारको लागि रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेतर्फ पठाइएको छ। पेनस्टक पाइप फुटेपछि पहिरो गएको अध्यक्ष थापाले बताए।
पहिरो झरे लगत्तै वडाअध्यक्ष थापासहित स्थानीय विद्युत आयोजनाको मुख्य मेसिन जोगाउने प्रयासमा लागेका छन्। पहिरोमा पुरिएको मेसिन जोगाउने प्रयास भइरहेको र पहिरो पनि खसिरहेको अध्यक्ष थापाको भनाई छ।
आयोजनाबाट ९ सय बढी उपभोक्ता लाभान्वित छन्। ९० किलोवाट उत्पादन क्षमताको उक्त विद्युत आयोजनाबाट रुकुमपूर्व सिस्ने गाउँपालिकाका ७ र ८ वडा तथा रुकुम पश्चिम मुसिकोट नगरपालिकाको १ नम्बर वडाको छिङ वस्तीमा बत्ती बलेको थियो।