छेलोले लागेर दुई दर्शक घाइते : हेलिकोप्टरबाट उद्धार
ताकम (म्याग्दी) : धवलागिरी गाउँपालिका ७ स्थित ताकमकोतमा बिहीबार छेलोले लागेर दुई दर्शक घाइते भएका छन्।
महानवमी पर्वको अवसरमा आयोजना गरिने परम्परागत छेलो हान्ने प्रतियोगिता हेर्न गएका धवलागिरी ७ हिलापोखरीका १५ वर्षीय सविन परियार र रघुगंगा गाउँपालिका २ का २६ वर्षीय सुरेश परियार घाइते भएका हुन्।
धवलागिरी गाउँपालिका ३ मुनाका तोरण केसीले फालेको छेलोले लागेर सुरेशको कुम र सविनको टाउकोमा चोट लागेर घाइते भएका ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मंगलबहादुर नेपालीले बताए।
प्रसनी नेपालीका अनुसार पुजा व्यवस्थापन समितिको पहलमा दर्शकले पैसा संकलन गरेर सविनलाई उपचारका लागि प्रभु एयरको हेलीकोप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ। सुरेशका ताकम स्वास्थ्य चौकीमा उपचार गरिएको छ।
छेलोमा अशोकको डबल ह्याट्रिक
यसैबीच ताकमकोतमा आयोजना गरिदै आएको छेलो हाल्ने प्रतियोगितामा ताकमका २६ वर्षीय अशोक केसीले डलब ह्याट्रिक गरेका छन्। नौ किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागी मध्ये सबैभन्दा टाढा फालेका केसीलाई आयोजकले पहलमान घोषणा गरेका छन्।
केसीले २०७० देखि ताकमकोतको छेलो प्रतियोगितामा लगातार छ पटक जित हासिल गरेका छन्। प्रतियोगितामा दश ताकम र आसपासका गाउँका दश जना युवाहरुले सहभागिता जनाएका थिए। पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपिठ मानिने ताकमकोतको छेलो प्रतियोगितामा विजयी हुनेलाई सो क्षेत्रमा पहलमान भन्ने गरिन्छ।
पुननिर्माणका लागि करिब २५ लाख सहयोग संकलन
यसैबिच ऐतिहासिक ताकमकोतको पुननिर्माणका लागि सञ्चालित अभियानमा चन्दा सहयोग गर्ने सहयोगदातालाई महानवमी पर्वको अवसरमा बिहीबार सम्मान गरिएको छ। हालसम्म स्वदेश तथा विदेशमा करिब २५ लाख रुपैयाँ सहयोग घोषणा भएको वडा अध्यक्ष कलानिधी सुवेदीले बताए।
अभियानमा धारापानीका नरबहादुर थापाले हालसम्म सबैभन्दा बढी तीन लाख ५५ हजार ५५५ रुपैया सहयोग गरेका छन्। थापा ताकमकोतका पूर्व पहलमान हुन्। प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले चन्दादाताहरुलाई सम्मानपछि आयोजित कार्यक्रममा ताकमकोतलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न संघीय र प्रदेश सरकारबाट बजेट ब्यवस्थापन गराउन सक्रियताका साथ पहल गर्ने बताए।
बेनी–दरवाङ–ढोरपाटन सडकलाई अन्तरप्रादेशिक बनाउने र ताकमकोत मालिका हुदै जलजला जोड्ने पदमार्ग सञ्चालनका लागि पहल गर्ने बताए।
ऐतिहासिक संरचनालाई असर नगर्ने गरी कोतको जगन्नाथ मन्दिर पुननिर्माणका लागि ८० लाख रुपैयाँ लागत अनुमान गरिएको पुननिर्माण समितिका सहसचिव तेजेन्द्र थापाले बताए। धारापानीका तेजेन्द्र थापाको अध्यक्षतामा गठन भएको पुननिर्माण समितिले मंसिर २८ गते शिलन्यास गर्ने तयारी गरेको छ।
धवलागिरी गाउँपालिकाका उपाध्यक्ष छन्त्यालले ताकमकोतलाई धार्किक पर्यटकीय स्थलको रुपमा विकास गराउन पालिका, प्रदेश र संघीय सरकारबाट सक्दो सहयोग हुने बताए।
भक्तजनको भिड
ताकमकोतमा महानवमी पर्वको अवसरमा पुजाआजा गर्नका लागि आएका भक्तजनहरुको भिड लागेको थियो। ताकमकोतमा पुजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको पुजारी हेमनाथ पौडेलले बताए। एक हजारजना भन्दा बढी भक्तजनले पूजाआजा र दर्शन गरेका छन्।
बाइसे चौबिसे राज्यका समयमा स्थापना भएको ताकमकोत ऐतिहासिक र धार्मिक मात्र नभएर पर्यटकीय हिसाबले समेत सम्भावनायुक्त मानिन्छ। करिब दुई हजार ५०० मिटरको उचाईमा अवस्थित ताकमकोत परिसरबाट गुर्जा, धौलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे हिमालको साथै सूर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ।
दैनिक पुजाआजा हुने ताकमकोतमा बडादसैको समयमा विशेष मेला लाग्छ। भाकल पूरा भएमा परेवा उढाउने, नरिवल फुटाउने र बोकाको कोत परिसरमा रहेका ओदान देवतालाइ बली चढाउने चलन छ। भाकल पुरा होस भनेर भक्तजनहरुले कोतको आलम थानमा पञ्चबली चढाउने गर्छन्।
महानवमी पर्वको अवसरमा मच्छिमका छन्त्याल र काफलडाँडाका मगर समुदायले पुख्यौली नृत्य प्रस्तुत गर्छन्। नवमीका दिन मच्छिमका छन्त्यालले ठडाएको आलम दशमीका दिन काफलडाडाका मगर समुदायले भेडाको पाठो बली चढाएर झिकेर जगन्नाथ मन्दिर भित्र राख्ने गर्छन्।
जगन्नाथ देवताको मुर्ती रहेको मन्दिरभित्र ऐतिहासिक हातहतियार, नौमुरी चामलको भात पकाउन सकिने क्षमताको तामाका ताउला लगायत सामग्रीहरु रहेका छन्।