थारु बस्तीमा दसैंभरी नाच
नेपालगन्ज : बाँके जिल्लाको बैजनाथ गाउँपालिकाको एकदेखि ८ नम्बर वडाका थारु बस्तीमा दसैंभरी हरेक दिन राती नाच भइरहेको छ तर बस्ती पिच्छेको नाच भने फरक छ ।
‘१–५ नम्बर वडाका गाउँ क्रमशः च्यामा, जब्दहवा, सुतैया, बानियाभार, सिंहबाहिनीमा दंगाली थारु बढी भएकाले सखिया नाच भइरहेको छ’, स्थानीय थारु अगुवा चन्द्र चौधरी भन्छन्, ‘६ र ७ मा देसउरे थारु बढी भएकाले हुर्रदगंवा नाचिन्छ । वडा नं. ८ मा दाङको देउखुरीबाट झरेका थारु बस्छन् । त्यहाँ झुम्रा नाच भइरहेको छ ।’ राप्ती सोनारी गाउँपालिकाको राप्ती पारीका फत्तेपुर, बिनौना लगायतका गाउँहरुमा भने सखिया नाचको एकछत्र राज छ ।
तराईका थारु बाहुल्य बस्तीमा दसैं भरी मादल नबजेको दिन नै हुँदैन । खाना खाइसकेपछि उनीहरु हरेक दिन बस्ती अनुसारको नाचगान गरेर मनोरञ्जन गर्छन् । नाचगानमा थारु निकै व्यवस्थित छन् । उनीहरु कुन बेला कस्तो नाच्ने भन्नेमा पनि सचेत छन् । थारु बस्तीमा बाह्रैमास नाचगान भने हुँदैन । देउताको पुजा गरेर मादल बजाउने वा बन्द गर्ने हुन्छ । खास गरी थारु बस्तीमा भदौको दोस्रो सातादेखि कार्तिक महिनासम्म झन्डै दुई महिना निकै मनोरञ्जन गरिन्छ ।
तराईका बाँके, बर्दियालगायत जिल्लाका दंगाली थारु बस्तीमा सखिया, देसउरे थारु बस्तीमा हुर्रदगंवा र देउखुरे थारु बस्तीमा झुम्रा नाच दशैंभरी नै चल्छ ।
‘जेठ महिनामा रोपाइँको दिन कलुवा (खाना) खाएर बन्द गरिएको मादल भदौको पहिलोदेखि दोस्रो साता हरेरी पुजा गरेर मात्र खुल्छ । कृष्णजन्माष्टमीदेखि तिहारसम्म थारु बस्तीमा निरन्तर नाच हुन्छ’, थारु संस्कृतिका जानकार सुशील चौधरी भन्छन्, ‘मादल बन्द गर्दा पनि ननाच्ने भनेर देउतालाई मनाइन्छ । देउता बसालेर नाच बन्द हुन्छ । अर्को वर्ष फेरि यही समयमा नाच हुन्छ ।’
हुर्रदंगवा नाचमा पुरुष महिलाको भेषमा हुन्छन् । महिलाले लगाउने लेहेंगा, चोली र गहनामा सजिन्छन् । मादल बजाउने पनि पुरुष नै हुन्छ । मादल बजाउने एकभन्दा बढी पनि हुन्छन् । दौना (एक प्रकारकाे फूलको पात) को बास्नादार माला, सेतो धोती र कमिज लगाएका युवाहरुले नाचमा साथ दिंदै हुक्कै हुक्कैै भन्छन् । यो नाचमा अधिकांश पुरुष नै सहभागी हुन्छन् । कतिपय बस्तीमा त हरेक फरक फरक घरदैलोमा पुगेर पनि नाच्ने चलन छ । यसरी नाच्न आउनेहरुलाई जाँडले मात्र स्वागत गरिन्छ ।
सखिया नाच महिलाले नाच्ने नाच हो । मादल भने पुरुषले नै बजाउँछन् । नाचमा सघाउने पनि सबै महिला नै हुन्छन् । थारू समुदायले शिव पार्वती, कृष्णलगायत आफ्ना अरु देवीदेउतालाई गीतको माध्यमले प्रार्थना गरी शान्ति एवं रक्षाको माग गर्ने चलन रहिआएको छ । यो नाचका लागि कम्तीमा चार/पाँच जना मादल बजाउने युवा हुन्छन् ।
१५/२० जना सखिया नाच्ने युवतीले सेतो रङको फरिया र रातो रङको चोलिया रातो रङको रिबन लगाउने गर्छन् । युवाले भने सेतो रङको धोती र रुचि अनुसारको कमिज लगाएर मादल भिरेका हुन्छन् । सखिया नाचमा ५२ खोट मादलको तालसँगै तीन खण्डमा नाच्ने गरिन्छ ।
सुशील र चन्द्र दुबै विगतमा जस्तो दसैंको नाचको रौनकता हराउँदै गएको स्वीर्काछन् । दुबैै भन्छन्, ‘लोक संस्कृति लोपोन्मुख अवस्थामै त पुगेको होइन । पहिले जस्ताो हरेक बस्तीमा हुँदैन । घट्दो क्रममा छ । यसको संरक्षण गर्नुपर्छ ।’
‘थारु संस्कृति लोक वार्ता भएकाले युनेस्कोको अमूर्त संस्कृतिको सम्पदा सुचीमा सूचीकृत गरेर संरक्षणको पहल थाल्नुपर्छ’, सुशीलको सुझाव छ, ‘यो लोक महाकाव्य हो । कृष्ण चरित्रमा आधारित गीत हुन्छ । जसमा ६ हजारदेखि ८ हजार श्लोक हुन्छन् । झन्डै डेढ महिनासम्म निरन्तर गाइन्छन् ।’
थारुका बड्का नाच, झर्रा, मुंगरौवा जस्ता नाच लोप हुन थालेका छन् । गीत गाउने र नाच्न सक्ने व्यक्तिको पनि अभाव हुन थालेको छ । नयाँ पुस्ताको संस्कृतिमा भन्दा सूूचना प्रविधिमा बढी लगाव देखिन्छ । त्यसैले थारु संस्कृति लोपोन्मुख अवस्थामा गइरहेकोमा थारुहरु चिन्तित छन् ।