क्यानभासमा श्यामश्वेत आमा
![क्यानभासमा श्यामश्वेत आमा](https://annapurnapost.prixacdn.net/media/albums/Paiting2_20181022031508_W0kYPZtZMl.jpg)
‘विचार र समयको मि श्रण हो जीवन। यो विविध भावनाहरूको एकीकृत रूप पनि हो।’ मनीषलाल श्रेष्ठले यही भनाइलाई उद्धृत गर्दै पेन्टिङ तयार गरेका छन्, ‘सिरानीः दि हेडरेस्ट’ शीर्षकमा। श्यामश्वेत रंगमा बनेका उनका पेन्टिङ पेन र इंक ड्राइङ डट्सबाट तयार पारिएका छन्।
गहिरो अर्थ लुकेको मनीषको पेन्टिङ भावनासँग नजिक देखिन्छ। सिद्धार्थ आर्ट ग्यालरीको भित्तामा झुन्डिएका ती क्यानभासभित्र मनीष आफ्नी आमासँग जोडिएका याद समेटेको बताउँछन्। ‘१० महिनाअघि आमाको मृत्यु भयो’, मनीष भन्छन्, ‘उहाँ बितेपछि समाजले मृत्यु संस्कार निभाउनु पर्ने भन्दै हरेक चिजमा जबर्जस्ती गर्न थाले।’ त्यही समाजबाट पाएको शारीरिक र मानसिक दबाबलाई मनीषले क्यानभासमा उतारेका रहेछन्। आमा बितेदेखि मनीषले कलरफुल पेन्टिङ बनाएका छैनन्। भन्छन्, ‘यो पेन्टिङ मेरो आमाका लागि श्रद्धाञ्जलि हो।’
मनीषले ससाना सिरानी डोरीमा झुन्ड्याएर अर्को पेन्टिङ पनि बनाएका छन्। जहाँ मान्छेको अनुहारको आधा आकृति छ। जसमा आँखालाई बन्द र खुला दुई भावमा पेन्ट गरिएको छ। मनीष भन्छन्, ‘खुला र बन्द आँखाले दिन र रातलाई दर्शाउँछ।’ चित्रमा कपाल खौरिएको व्यक्तिको आकृति छ। यसलाई मनीष स्पेरुचल आर्ट भन्न मन पराउँछन्। तर यो चित्रमा उनले आमा बितेपछि कपाल खौरिनु परेको यथार्थलाई देखाउन खोजेका हुन्।
शिरलाई सिरानीमा पेन्ट गर्नुको पछाडि पनि रहस्य लुकेको छ। ‘सिरानी आमाको काखजस्तो लाग्छ’, मनीष भन्छन्, ‘हामी दुःख पर्दा आमाको काखमा पल्टन्छौं अनि आफ्नो पीडा पोख्छौं’, यो त्यही सिरानी हो। १० महिनाको अवधिमा यी चित्र तयार भएका हुन्। कलालाई जीवनभन्दा भिन्न नठान्ने मनीषका पेन्टिङ पाँच हजारदेखि डेढ लाख रुपैयाँसम्मका छन्।
गुलाफी छाता
सिद्धार्थ आर्ट ग्यालरीको दोस्रो तल्लामा मनोरम मुस्ताङ रहेको छ। प्रकृतिदेखि संस्कृतिसम्म समेटिएका ‘सिफ्टिङ भ्यालुज, एक्स्पेटेसन भर्सेज रियालिटी’ शीर्षकको पेन्टिङ अलि भिन्न छन्। आर्टिस्ट विधाता केसीले तयार पारेको उक्त पेन्टिङमा आधुनिकीकरणले परम्परागत अभ्यास कसरी हराउँदै गएका छन् भन्ने देखाउन खोजिएको छ। विधाता भन्छिन्, ‘अहिले आधुनिकताको भ्यालु बढेको छ। तर मैले यसलाई नराम्रो भन्न खोजेकी होइन।’
२०१५ मा मुस्ताङ जाँदा देखेका दृश्यलाई उनले यस पेन्टिङमा उतारेकी छन्। मुस्ताङका ठूल्ठूला पर्खाल, ढुंगा र माटोले बनेका थिए। हाल ती सबैमा सिमेन्ट लाग्न थालेको छ। उनका पेन्टिङमा मुस्ताङका तिनै पर्खाल छन्। पेन्टिङमा सिमेन्टका टेक्स्चरसमेत प्रयोग गर्दै के मुस्ताङ अझै पनि उस्तै छ ? भन्दै समयले ल्याएको परिवर्तन पेन्टिङमा देखाएकी छन्।
विधाताका सबै पेन्टिङमध्ये टक्क आँखा अडिन्छ एउटा क्यानभासमा। जहाँ गुलाफी रंगको सानो र भव्य रंगहरूले सजिएको ठूलो छाता ओभर ल्याप गरिएको छ। यसले नयाँ संस्कृति पुराना संस्कृतिमाथि हाबी हुँदै गएको देखाउँछ। पेन्टिङमा छाताको विषय पनि उनले मुस्ताङबाटै ल्याएकी हुन्।
तिजी पर्वमा मुस्ताङका राजाले छाता ओढेर आएका थिए। तर त्यो छाता बजारमा जताततै पाइने खालको थियो। विधाता अचम्ममा परिन्, किनकि राजा भव्य छाता ओढेर आउँछन् भन्ने उनलाई लागेको थियो। मुस्ताङ जस्तो ठाउँमा स्थानीय चिजबिजभन्दा आधुनिकता बढी पाइएपछि विधाताले यसै विषयलाई पेन्टिङमा उतारिन्। यो पेन्टिङको अढाइ लाख रुपैयाँ मूल्य राखिएको छ।
मनीषलाल श्रेष्ठ र विधाता केसी दुवै अस्ट्रेलियन हिमालयन फाउन्डेसनको अवार्ड कार्यक्रम २०१८ बाट सम्मानित भएका छन्। सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शन भइरहेको कला प्रदर्शनी कात्तिक ७ गतेसम्म चल्नेछ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)