कृष्णनगरमा लगाइएको कर्फ्यू ५ बजेसम्मका लागि हट्यो
तौलिहवा : जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर बजार क्षेत्रमा सोमबार दिउँसो १२ बजे सम्मका लागि हटाएको कर्फ्यूको समयसीमा पुन: थप गरेको छ। प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलका अनुसार कृष्णनगर बजार क्षेत्रमा साँझ ५ बजेसम्म कर्फ्यू हटाइएको छ ।
आइतबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यू प्रशासन कार्यालयले सोबार बिहान ८ बजेदेखि १२ बजे सम्म हटाएको थियो । कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको भन्दै साँझ ५ बजे सम्मका लागि कर्फ्यू हटाएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए।
साँझ ५ बजे पछि त्यहाँको अवस्था हेरेर कर्फ्यूको बारेमा हेरविचार गर्न सकिने उनले बताए।स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदाय बीच विवाद बढे पछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको थियो। कर्फ्यू हटेपछि भारतीय सिमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ।
शनिबारदेखि बढेको विवाद सोमबारदेखि सामान्य बनेको हो। आइतबार राति कडा सुरक्षाका बीच दूर्गा पूजाको मूर्ति बिसर्जन गरिएको थियो। दसैंको भोलीपल्ट एकादशी तिथीमा दूर्गा पूजाको मूर्ति बिसर्जन गरिँदै आए पनि यस वर्ष विवाद भएपछि दसैंको पर्सीपल्ट द्वादशी तिथिमा मूर्ति बिसर्जन गरिएको हो।
कृष्णनगर बजार क्षेत्रमा बडादसैंको भोली पल्ट दूर्गा पूजाको मूर्ति बिसर्जन गर्ने कार्यमा स्थानीय हिन्दु र मुस्लिम समुदायबीच विवाद समाधान नभएपछि कृष्णनगर क्षेत्रमा कर्फ्यू लगाएको हो। मूर्ती बिसर्जन गर्न जाने बाटोको विषयमा दुई समुदाय बीच झगडा भएको थियो ।
प्रशासनले कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तर तर्फ कृष्णनगर- १ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फ्यू लगाउने निर्णय गरेको थियो।