तरकारीबाटै लाखौं आम्दानी गर्छन् थाप्लाका किसान
दार्चुला : तरकारीका लागि पकेट क्षेत्रका रुपमा परिचित दार्चुलाको महाकाली नगरपालिका-९ बाट दुई महिनामा ७ लाख भन्दा बढीको बन्दा, प्याज,धनिया,हरियो लसुन निकासी भएको छ।
यहाँ उत्पादित बन्दा र विभिन्न प्रकारका साग तरकारी भारतको पीथौरागढ, धारचुला र दार्चुला गरी निकासी भएको किसान बिक्रम सिंह सामन्तले बताए।
तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको उनले बताए। पछिल्लो समयमा किसान व्यावसायिक तरकारी खेतीमा आवद्ध भएपछि जीविकोपार्जनमा सहज भएको सामुदायिक ग्रामीण विकास समाज नेपालका टिम लिडर अशोक राज ओझाले बताए।
अन्य खेतीको तुलनामा तरकारी खेतीबाट फाइदा हुने भएकाले- ९ का अधिकांश किसानले तरकारी खेती गर्दै आएका छन्। अन्नबालीबाट आम्दानी हुन छाडेपछि किसानको तरकारी खेतीप्रति आकर्षण बढेको महाकाली ९ का अगुवा कृषक बिक्रम सिह सामन्ले बताए। उनले भने, 'आम्दानी राम्रो हुन थालेपछि किसानले अन्य बाली छोडेर तरकारी खेतीप्रति आकर्षित भएका हुन्।'
बजारमा हरियो साग तरकारीको चर्को मुल्य वृद्धि भएसँगै बन्दाको प्रतिकेजी ३५ रुपैयाँ, हरियो धनियाँ ५ रुपैयाँ मुठा, हरियो प्याज ५० रुपैयाँ केजी , टमाटर ४० रुपैयाँ प्रति केजीका दरले बिक्री हुने गरेको महाकाली नगरपालिका-९ का कृषिक तुलसी सामन्तले बताइन्। बन्दा लगाउने किसानलाई वडा नं. ९ कार्यालयले केही प्रतिशत अनुदानमा बन्दाको बीउ उपलब्ध गराएको थियो।
अझै किसानलाई तराकारीबाट जीविकोपार्जन गर्न सजिलो होस् भनी अनुदानमा तरकारीको बीउलगायत विभिन्न किसिमका अन्य बिउ बिजन उपलब्ध गराउने लक्ष्य रहेको महाकाली नगरपाली वडानम्बर ९ का वडाध्यक्ष हरसिंह डाँगाले बताए।