विपन्न विद्यार्थीको शिक्षामा जनप्रतिनिधिको सहयोग
बेनी : बेनी नगरपालिस्थित वडा नम्बर ६ का जनप्रतिनिधिले राज्यले दिएको सुविधाबाट गरिब, विपन्न र अनाथ बालबालिकाको लागि अक्षयकोष स्थापना गरेका छन् ।
जनप्रतिनिधिले संकलन गरेको कोषमा विभिन्न संघ, संस्था र व्यक्तिले समेत रकम थपिदिएका छन् । जनप्रतिनिधिले ५० हजार रुपैयाँ जम्मा गरी सुरु गरेको कोषमा २ महिनामा २ लाख रुपैयाँ जुटेको छ । कोषमा वडा अध्यक्ष कृष्णबहादुर बानियाले २० हजार, वडा सदस्यहरु गणेशबहादुर शाही, सावित्रीकुमारी उपाध्याय र राजकुमारी विकले १०÷१० हजार रुपैयाँ उपलब्ध गराएका थिए ।
कोषमा ५ लाख रुपैयाँ पु¥याउने र त्यसको ब्याजबाट वडाका गरिब, विपन्न, अनाथ र पारिवारिक बिखण्डनमा परेका बालबालिकाको शिक्षामा सहयोग गर्ने लक्ष्य राखिएको छ ।
कात्तिक १ गतेबाट लागु हुने गरी ३ जना अनाथ बालकालाई कोषबाट सहयोग गरिएको छ । पहिलो निर्णयस्वरुप स्वर्गीय गुणबहादुर विकका छोरा सुदीप, लव र कुशका लागि मावि तह अध्ययनसम्मका लागि कोषबाट खाद्यान्न र पोसाक उपलब्ध गराउने बताइएको छ । यहाँका एउटा मावि र ३ वटा आधारभूत विद्यालयमा वडाको पहलमा विद्यार्थीसँग कुनै पनि शुल्क नलिने व्यवस्था मिलाइएको छ ।