भारोत्तोलनप्रति सरकारी उदासीनता
गुलरिया : भारोत्तोलन खेलप्रति सरकारले उदासीनता देखाएको गुनासो स्थानीय खेलाडीले गरेका छन् । पछिल्लो समय भारोत्तोलन खेलको महत्व र खेलप्रति खेलाडीहरूको आकर्षण बढे पनि खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धिमा सरकारले कुनै चासो नदेखाउँदा खेलाडीहरूले उपेक्षित भएको अनुभूति गरेका छन् ।
असोज दोस्रो साता काठमाडौंमा सम्पन्न दोस्रो नेपाल स्ट्रोङगेस्ट भारोत्तोलन प्रतियोगितामा पहिलो स्थान हात पारेकी बर्दियाको बारबर्दिया नगरपालिका–६ धामपुरका रोशन बुढा क्षत्रीले जिल्लामा भारोत्तोलनको कुनै पनि सुविधा नभएको गुनासो गरे ।
‘खेल्नका लागि बर्दियामा समस्यै समस्या छ’ उनले भने ‘भारोत्तोलनको कुनै सेवासुविधा जिल्लामा छैन ।’ काठमाडौंमा सम्पन्न प्रतिस्पर्धामा २० वर्षीय बुढा क्षत्रीले स्न्याच र क्लिन एन्ड जर्क गरी कुल एक सय ५० केजी भार उठाएका थिए । उनले स्न्याचमा ६५ केजी र क्लिन एन्ड जर्कमा ८५ केजी तौल उठाएका थिए । सधैं काठमाडौं बसेर प्रशिक्षण गर्न नसक्ने भएकाले जिल्लामै पूर्वाधार र खेल सामग्री भए अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक जित्न सक्ने आशा व्यक्त गरे ।
जिल्लामा भारोत्तोलनको कुनै पूर्वाधार नहुँदा खेलाडीहरू बाँके पुगेर अभ्यास गर्ने गरेका छन् । जिल्ला खेलकुद विकास समितिले पनि भारोत्तोलनका लागि कुनै चासो नदिएको उनले गुनासो गरे । ‘अभ्यासका लागि जिल्लामा न खेल सामग्री छ न त प्रशिक्षक नै । यस्तो दयनीय अवस्थामा हामी आफ्नै प्रयासले मात्र पदक जित्न कठिन छ’ उनले भने ।
भारोत्तोलन खेलका सामग्री महँगो हुने भएकाले पनि स्थानीयस्तरबाट जुटाउन नसकेको उनले बताए । बर्दियामा कभर्डहल भए पनि भारोत्तोलन खेल अभ्यासका लागि एउटा कोठासम्म नपाएको गुनासो गरे । ‘सरकारको उदासीनताले मोफसलका खेलाडीको मनोबल गिराउने काम भएको छ’ बुढा क्षत्रीले भने । उनले बर्दियामा भारोत्तोलनका राम्रा खेलाडी भए पनि पूर्वाधार र सामग्री नहुँदा ओझेलमा परेको बताए ।