टीका थाप्न मामाघर गएका भान्जाले नै चोरी गरेपछि...
बिर्तामोड : झापाको कन्काई नगरपालिका–९ स्थित चोरी आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
स्थानीय रुद्र बहादुर बोहराको पसलमा चोरी गरेको भन्दै झापा शिवसताक्षी नगरपालिका–६ का अनिस प्रसाईलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय घैलाडुब्बाका अनुसार बोहराको उजुरीपछि खोजतलास गर्दा प्रसाईलाई पक्राउ गरिएको हो ।
बोहरा र प्रसाई नातामा मामा–भान्जा हुन् । बोहराको घरमा टीका लगाएर राती सुतेका प्रसाई बिहान कोठामा नभेटेपछि शंका लागेर खोजतलास गर्ने क्रममा कन्काई नगरपालिका–९ बस्ने भीम उप्रेतीको घरमा चोरी गरेका सामान सहित फेला पारिएको प्रहरीले बताएको छ ।
प्रसाईले सोमबार साँझ बोहराले संचालन गर्दै आएको पसलको सटर फोडी नगद २९ हजार ७५ रुपैयाँ, मोबाईल २ थान, क्यामेरा, सिमकार्ड, रिचार्ज कार्ड, पेनड्राईभ, गुड्खा, चुरोट लगायतका सामान चोरी गरी फरार भएका थिए ।
पक्राउ परेका प्रसाईलाई प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ ।