तरल त्रास

तरल त्रास

जुन अंग र मासिकस्राव सृष्टिसँग जोडिएको छ त्यही नै फोहोर ? त्यसैलाई हेला ? अजिब छन् हाम्रा मान्यताहरू।


‘महिलाका अनुभव तरल संसारमा डुबेको छ, जो नाटकीय ढंगमा महिनावारी, बच्चा जन्माई र छातीभरि भरिने दूधका धाराहरू भई प्रस्तुत हुन्छन्।’

अमेरिकी लेखक क्यामिली पालीको निबन्ध सेक्सुअल पर्सोनाः आर्ट एन्ड डिकाडेन्स फ्रम नेफर्टिटी टु इमिली डिकिन्सनका पानाहरू पल्टिँदै थिए, तब आँखामा लागे माथिका हरफ। एकछिन स्तब्ध भएँ। महिला विषयमा कहिल्यै सोचेको रैनछु यसरी त। वास्तवमा महिलाको जीवन उनले भनेजस्तै तरलीय संसार वरपर नै त घुमेको छ।

पहिलोपटक महिनावारी हँदा अरट्ठिएको पेटको चाल। पहिलो सन्तानको अनुहारले उरालिदिने खुसी अथवा आमा हुनुको गर्वसँगै दूधका धाराहरूमा पोखिने मातृत्व। सबै सबै नै तरल पदार्थसँग जोडिएको छ। इतिहासमा दर्ज नभएको त्यो गुमनाम समयदेखि नै छ उनीहरूसँग तरलीय आनन्द, विश्वास र तरल खुसी। तर पाटो एउटा मात्र हुन्न सिक्काको। अर्कोतिर फर्किहेर्दा उनीहरूले आफूसँगै छायासरि बोकी हिँडेका छन्, उही तरल पदार्थसँग जोडिएको पीडा, शोषण, अन्योल, मानसिक दबाब, आक्रोश अनि विद्रोह पनि। भोगाइका अनेक चरणहरू छन्, जो नितान्त निजी छन् तर पनि फेरि सम्पूर्ण महिलासँग नजिक छन्।

तरल उन्माद

अहिले दुई चार वर्षका नाबालिकादेखि, उमेर कटेका वृद्धा, सुस्त मनस्थिति भएका साथै गर्भवती महिलासम्म पनि बलात्कारका सिकार भएका घटनाहरू दिनहुँ सतहमा आइरहेका छन्। टाढा नजिकका आफन्तदेखि आफ्नै बाबुसम्म यस्ता कुकृत्यमा सामेल भेटिन्छन्। दिनानुदिन घटिरहेका यस्ता घटनाहरू एक क्षणको उन्मादकै परिणति न हो। उही तरल उन्मादको उपज। एकैछिन आफूलाई सम्हाल्न नसक्नुले निम्त्याएको दुर्घटना। बलात्कारसँग विकृत मानसिकता, सामाजिक, पारिवारिक, आर्थिक अवस्थादेखि यौन शिक्षा र चेतना अभावका कुराहरू पनि पक्कै जोडिएर आउलान्। यी अनेक पाटाहरू ती विविध क्षेत्रका विशेषज्ञहरूले विश्लेषण गरिरहेकै छन्। मेरो सरोकार भन्नु त्यस उन्मादसँग जोडिएका केही हिस्साको उजागर मात्र हो।

समाचार भएर पत्रिकाभरि छरिने त केही घटना मात्र न हुन्। उजुरबाजुर नपर्ने र सबैको मिलेमतोमा दबाइने अनगिन्ती छन् घटनाहरू। महिलाको इज्जतसँग जोडिने बलात्कारमा पीडित स्वयम् नै पनि समाज लोकलाजका कारण बाहिरिन सक्दैनन्। बस्नुपर्ने त यही समाज हो। बलात्कार मात्र हैन, त्यही तरल उन्मादभित्रै पर्ने वैवाहिक बलात्कारको फेरि डरलाग्दो पाटो छ। एउटी श्रीमतीले कसरी मलाई बलात्कार गर्‍यो लोग्नेले भन्दै हिँड्नु ? बिलखबन्दमा पर्छन् उनीहरू।

तौकिर चुगताईको बलात्कार शीर्षकको कथाले बेस्सरी हानेको छ मन। महिलाको यही अप्ठ्यारो अवस्थाको चित्रण। परविन पात्र मौलवीकोमा उजुर गर्न पुग्छे। नमाज पढ्ने समय भएकाले उसको कुरै सुनिन्न। तर परविनको जिद्दीपछि उसले समय पाउछे आफ्नो कुरा राख्न। मौलवीको अघि आफू लोग्नेबाट लामो समयदेखि बलात्कारमा परिरहेको कुरा सुनाउँछे। उसको पीडाको सुनुवाइको साटो उल्टै चरित्र खराब भएको र समाज भाँड्ने आइमाई भनी उसैलाई गाउँबाट निकालिन्छ।

परविनको गाउँ निकाला एक विम्ब हो। महिलाले आवाज उठाउँदा बेहोर्नुपर्ने सास्तीको संकेत। यस्तै परिणामका कारण उनीहरू मौन रहनमै आफ्नो भलाइ ठान्छन्। समाजको आफ्नै मान्यता छ, विश्वास छ, कायदा कानुन छ, जो विशेषगरी महिलाको पीडाप्रति उत्ति संवेदनशील भइरहन आवश्यक ठान्दैन। यसरी पुरुष आवेशको कालो छाया आफ्नै श्रीमतीदेखि कलिला नानीहरूसम्म पनि पोखिन सक्छ। आज निर्मलाहरूले ज्यान गुमाइरहेका घटनाहरू यही तरल उन्मादकै उपज न हुन्।

तरल पीडा

प्रत्येक महिना केही दिन घाँसपात र अर्मपर्ममा मात्रै सीमित हुन्थिन् आमा। दिनभरको खेताले श्रमपछि घर फर्किंदा बडेमानको घाँसको भारी भित्रिन्थ्यो गोठ। भाइलाई दूध पनि पिँढीमै खुवाउँथिन्। चुलातिर छिर्न नहुने ती केही दिन बेस्सरी बाहिरको काममा दलिन्थिन् आमै। किन होला ? लाग्थ्यो। आमासँगै यसो नजिक भएर खाना खान खोज्दा पर पर जा भन्थिन्, लखेट्थिन्। पछि थाहा भयो, त्यो त महिनावारी बारेको रहेछ। आज फर्किहेर्दा अनौठो लाग्छ। तामाङहरूको गाउँमा त्यो बार्नुपर्ने चलन कताबाट संक्रमित भयो होला ?  वल्लो पल्लो बाहुन, क्षेत्री गाउँ बीचमा छ तामाङहरूको बस्ती। त्यसैको पो प्रभाव थियो कि ? बलियोले केही न केही त लाद्छ नै निर्धोमाथि। संस्कृति भन्नु पनि शक्तिको खेल न हो आखिर।

आज अलि फरक छ समय मेरो गाउँ धादिङ, धुनिबेसीतिर। कारणहरू धेरै छन् तर एउटा कारण २०७२ को भूकम्प पनि हो। अब लामो समयदेखि मानिआएका केही संस्कारका पर्खालहरू भत्किएका छन्। भूकम्पले एउटै घर नराखी सबै भत्काइदियो। बाजेहरूले छाडी गएका धेरै थोक भत्किए। मतानसहितको, टायलले छाएको ठूलो घर जमिनमै दबियो। त्यही घरको बुइँगलमा भएको जिर्मा (रक्सी पार्न तयार कोदोको जाँड) का घ्याम्पाहरू पनि फुटिगए। नछुने हँदा माटोको भाँडो छुन नहुने रे। अब माटोको भाँडो नै छैन गाउँघरमा। भूकम्पको बेला त्रिपालमा सराबरी सुत्नु पर्दा कल्ले के बार्ने ? अब नछुने बार्दैनन् गाउँमा। बार्ने रहलपहल धङधङी बोकेका आमाहरूको त महिनावारी नै रोकिइसक्यो। छोरी नातिनीहरूले छाडिदिए बार्न।

महिनावारी अर्थात् एक प्राकृतिक चक्र, बच्चा जन्माउने योग्यतासँग जोडिएको आइमाई गुण तर फेरि तरल पीडाको एक भिन्न पाटो पनि। कतै छाउ, कतै नछुने त कतै महिनावारीको अनेक नाममा बसिरहेछ बार्नुपर्ने संस्कार। छाउ गोठमा बस्न बाध्यहरूको पीडा अर्कै छ। उनीहरूको बिजोग आएकै हुन्छ, समयसमयमा समाचारमा। सर्पले टोकेर मार्नेदेखि बलात्कारको सिकारसम्म भएका छन् छाउगोठमा।

छाउ बार्नुसँग देउता रिसाए हुने खति जोडिएको छ जनमनमा। देउता भन्नु एक आस्था अनि शक्ति। मान्छेलाई उसको आस्थाबाट अलग्याउन सजिलो रैनछ। त्यसमा पनि अझ संस्कारसँग जेलिएको विश्वासको जरा त कति हो कति जब्बर। नबारे परिवारलाई नराम्रो हुन्छ भन्ने दिमागभरि छ्याप्छ्याप्ती भरिदिएपछि नबार्ने आँट कसरी गर्छन् र महिलाहरू ? त्यसैले प्रत्येक वर्ष दत्तिवनले आफ्ना अंग धुने किशोरीहरूको हुल बाक्लिँदो छ। पढालेखा आमाहरू नै अह्राइपराई गर्छन् छोरीलाई र निरन्तरता पाइरहेको छ उही (कु) संस्कार। जुन अंग र मासिकस्राव सृष्टिसँग जोडिएको छ त्यही नै फोहोर ? त्यसैलाई हेला ? अजिब छन् हाम्रा मान्यताहरू।

तरल उत्साह

महिलाहरूले भोगेका छन् तरल राजनीति। त्यसैको वरपर बरफ भइबस्छ आज पनि महिला नियति। लोग्नेको तरलशक्ति, ओछ्यानभरि, अझ भरसक स्वास्नीकै शरीरभरि छरिन्छ। उही तरलको विकृतरूप एक अमूक उखुबारी या खोल्सातिर फालिन्छ बीर्य लत्पतिएको मुर्दा शरीर। र, उही तरल राजनीति वरपर ठडिरहन्छ संस्कारको नाममा छाउ गोठ र ज्यान लिन्छ अबोध किशोरीहरूको। कसले लिने हो जिम्मा यो निरन्तर तन्किरहेको उत्पीडन फेहरिस्तको ?

इतिहासका पानाहरू भरिएका छन् वीरगाथा र जित्नेहरूको जित उन्मादले। महिला त सीमान्तकृत पारिएकै छन्। कारण होला लेख्ने हात र कलममा अझै पनि उनीहरूको पहुँच नपुग्नु। नलेखिएकै सही तर इतिहासको गर्तमा त छ महिलाको सिंगो भोगाइ। तरल बीर्य, तरल महिनावारी र तरल आँसुसँग जोडिएका छन् उनीहरूको जीवन। तरल त हुनुपर्ने हो जीवन। तरलता त बहाव हो, परिवर्तन हो। तर मात्र जोडिए केही जडता र परपीडकपनसँग तरलता र बारम्बार प्रहार भइरहे महिलाको अस्तित्वमाथि।

फेरि पनि अड्किबसेको छ महिला जीवन छाउगोठ, निस्सासिँदो वैवाहिक ओछ्यान र संस्कार नियम कायदाका गल्छेडाहरूमा। चाहेको हो परिवर्तन, तरल उत्साह र समानता। कुकृत्य र कुसंस्कारहरूमाथि प्रश्न ठड्याउँदै समानताका लागि महिला आवाज बुलन्द भएको छ यतिखेर। समानता जसले महिलालाई स्वतन्त्रतातिर डोर्‍याउनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.