नानीबाबुसँग नीलम कार्की ‘निहारिका’ का मनका कुरा

नानीबाबुसँग नीलम कार्की ‘निहारिका’ का मनका कुरा

मेरो जन्म पाल्पाको गोठादी गाउँमा भएको हो। मेरा बुवा र आमा दुवै शिक्षक हुनुहुन्थ्यो। आमाको सरुवा भएपछि हामी पनि झँडिया भन्ने ठाउँमा सर्‍र्यौं। त्यसपछि बुवाले पनि जागिर छाडिदिनुभयो। गोठादी र झँडिया करिब दुई घन्टाको पैदल दूरीमा पर्छ। हामी त्यहाँ भाडामा बस्थ्यौं। सुरुमा महिला शिक्षिका आमामात्रै हुनुहुन्थ्यो। आमालाई सबैले ‘मीना दिदी’ भनेर बोलाउँथे। हामीलाई पनि ‘मीना दिदीका छोराछोरी’ भन्दै विशेष मायाभाव दर्शाउँथे।

दाइ, दिदी र म सँगै विद्यालय जान्थ्यौं। हाम्रो विद्यालय ज्यादै अनुशासित थियो। पहाडको विद्यालय भएर पनि हामीलाई उतिबेलै पोसाक अनिवार्य गरिएको थियो। म नीलो फ्रक र सेतो सर्ट लगाएर विद्यालय जान्थेँ। गाउँमा निरक्षर मान्छेहरू पनि निकै थिए। एकजना दाइले बिग्रिएको रेडियो ल्याएर आमालाई बनाइदिन आग्रह गरेछन्। आमाले नसक्ने जनाएपछि ‘मास्टर भएर यति पनि आउँदैन’ भन्ने जवाफ फर्काएछन्। कोही अभिभावक ‘आज हाम्रो नानी काममा जानुपर्‍यो पाठ बुझिदिनुस् है’ भन्दै आग्रह गर्न आइपुग्थे।

हामी टुकी र लाल्टिनको उज्यालोमा पढ्थ्र्याैं। मैले पहिलो पटक पढेको किताब मुनामदन हो। उक्त किताब एकजना पण्डितजीको घरबाट ल्याइएको थियो। उक्त किताबमा अन्तिम पातो भने रहेनछ। मलाई पढिसक्न मन लाग्यो। तुसारो परेको समयमा लुगलुग काम्दै अन्तिम पातो खोज्न आधा घन्टा हिँडेर पण्डितजीकोमा गएँ। त्यहाँ पनि भेटिएन। मुनामदनको अन्तिम पाना पढ्ने मेरो हुटहुटी एसएलसीको परीक्षापछि मात्रै पूरा भयो।

हामी सानो छँदा स्वस्थानीको कथा वाचन गरेर सुनाउने चलन थियो। मेरो स्वर र प्रस्तुति निकै राम्रो हुँदै गएपछि सबैले प्रशंसा गर्न थाले। पछि मैले मिडिया क्षेत्रमा काम गर्नुका पछाडि त्यही स्वस्थानी वाचनले सहयोग गरेको भन्ने लाग्छ। धर्म संस्कृतिले पनि मान्छेको व्यक्तित्व निर्माणमा सकारात्मक प्रभाव पार्दो रहेछ भन्ने मलाई लागिरहन्छ। म सानैदेखि साहित्य संसार कार्यक्रमको नियमित       श्रोता थिएँ। रेडियोको ब्याट्री भने जताततै पाइँदैनथ्यो। म कहिलेकाहीँ बज्न छाडेको ब्याट्री घाममा सुकाएर पनि काम चलाउँथेँ। रेडियोमा मान्छे कसरी बोल्छन् लाग्थ्यो। दाहाल यज्ञनिधि सरको स्वर एकोहोरो सुनिरहन्थेँ। संयोग नै भनौं २०५४ सालदखि रेडियो नेपालको ‘साहित्य संसार’ कार्यक्रममा काम गर्ने सौभाग्य पाएँ।


 बितेको समय फर्किंदैन। समयको सधैं सदुपयोग गर्नुपर्छ। तालिका बनाएर काम गर्ने बानी गर्नुपर्छ। कुनै पनि काम निर्धारित समयमा सकिएन भने अर्को खाली समयमा उक्त काम पूरा गरिहाल्नुपर्छ।

हामीलाई आमाले हरेक रात रामायण, महाभारत र चाणक्य नीतिका कथा सुनाउनुहुन्थ्यो। कक्षा १० सम्म पुग्दा मैले धेरै कथाहरू कण्ठ पारेकी थिएँ। दाइ र दिदी सधैं कक्षामा प्रथम हुनुहुन्थ्यो। म भने कहिल्यै प्रथम भइनँ। दाइ र दिदीले मलाई पनि उहाँहरूसँगै राति अबेरसम्म पढ्न राख्नुहुन्थ्यो। म दाइसँगै किताबका पाना पल्टाउँथेँ। मैले पढ्न अल्छी गरेको बुझेपछि दाइले पिट्नुभयो। त्यसपछि पढेका र नपढेका मान्छेहरूबीच तुलना गर्न थालेँ। विस्तारै पढ्नमा रुचि बढ्दै गयो। त्यसैबेला विद्यालयको मुखपत्र निकाल्ने कुरा भयो। राम्रो कविता लेखे पत्रिकामा छापिने कुरा थाहा पाएपछि म पनि कविता लेख्न तम्सिएँ। दाइ प्रथम हुनुभयो म दोस्रो भएँ। पछि कविता छापिँदा खुसीको सीमा नै रहेन।

बुवाले बुटवलबाट प्रेसरकुकर ल्याउनु भएको थियो। कुकरमा सिटी लाग्दा म अत्तालिएर भागेको कुरा स्मृतिमा आइरहन्छ। गाउँमा अन्त कतै पनि प्रेसरकुकर थिएन। गाउँलेहरू रमिता हेर्न आइरहन्थे। हामी केटाकेटी हुँदा बालीघरे प्रथा कायम थियो। कपडा सिलाएबापत दमाई दाइले अन्नपात लिनुहुन्थ्यो। त्यतिबेला ज्यालाको चलन थिएन। रिजल्ट आउने दिन लगाउने भन्दै आमाले दमाई दाइलाई कपडा सिलाउन दिनुभएको थियो। म एकाबिहानैदेखि कपडा सिलाउने ठाउँमा कुरेर बसेँ। साथीहरू मार्कसिट हातमा बोकेर फर्किंदासमेत मेरो कपडा तयार भएको थिएन। त्यो वर्ष दोस्रो भए पनि मैले अबिर लगाउन जान पाइनँ।

एकदिन हामी पाँचजना केटाकेटी नयाँ कपडा सिलाउन जाँदै थियौं। बोटमै केरा पाकेको देखेपछि हामी रोकियौं। बोट लडाएर केरा खायौं। एकछिनपछि कल्याङमल्याङ गर्दै मान्छेहरू झरे। हामी गोठमा लुकेर बस्यौं।

मलाई पहाडमा चाडबाड मनाएको ज्यादै सम्झना आइरहन्छ। दसैंमा पिङ खेल्दा मेरो पालो नआएपछि मैले दिदीलाई ठेलिदिएँ। अष्टमीको दिन दिदीको निधारमा लागेको चोटको खत आजसम्म पनि छँदैछ। त्यसबेला दसैंमा ज्यादै उमंग हुन्थ्यो। दसैंको समय पारेर बाटो सफा गरेको, कमेरो माटो खन्न गएको, ढिकीमा पीठो र अचार कुटेको, घरैपिच्छे खसी काटेको, खल्पीको अचार हालेको जस्ता यादहरू आइरहन्छन्। पहिले पहिले चाडबाडमा आशीर्वादको ज्यादै महत्व थियो। खुसीयालीको पर्व जस्तै लाग्थ्यो। आजकल चाडबाडहरू औपचारिकतामा सीमित हुन थालेको छन्।

भाइबहिनीले कुनै पनि काममा एकदुई पटक असफल हुँदैमा हरेश खानु हुँदैन, हतोत्साही हुनु हुँदैन। रुचिको विषयमा मेहनत गर्दा कुनै न कुनै दिन सफलता हात लाग्छ। त्यसकारण निरन्तरता, धैर्य, लगनशीलता र मेहनतले सफलता दिलाउँछ भन्नेमा ढुक्क हुनुपर्छ। अरूलाई ढाँट्नु र ठग्नु भनेको आफैं ठगिनु रहेछ। यसमा पनि सदैव सचेत बन्नुपर्छ।

एकैपटक कोही मानिस लेखक बन्दैन। यसका लागि निरन्तरको अध्ययन आवश्यक छ। अरूका लेख पढ्ने र सार्ने बानी गर्नाले पनि शब्द भण्डार बढ्छ। सुरुमा कथा पढ्ने बानी गर्नुपर्छ यसले पढाइमा लत लाग्छ। कुनै पनि लेखाइ एकैपटकमा राम्रो हुँदैन भाइबहिनीले लेखेर अभिभावक र गुरुलाई देखाउने गर्नुपर्छ। साथीभाइलाई पनि सुनाउने गर्नुपर्छ।

बितेको समय फर्किंदैन। समयको सधैं सदुपयोग गर्नुपर्छ। रुटिङ बनाएर काम गर्ने बानी गर्नुपर्छ। कुनै पनि काम निर्धारित समयमा सकिएन भने अर्को खाली समयमा उक्त काम पूरा गरिहाल्नुपर्छ। पढ्दा पनि समयतालिका बनाएर पढ्ने बानी गर्नुपर्छ। यसले परीक्षाको तयारीमा समेत सजिलो हुन्छ। म सधैं चैत्र मसान्तमा वार्षिक योजना बनाउँछु। योजनाअनुसार काम भए नभएको अन्त्यमा समीक्षासमेत गर्छु। यसले समयमै काम सम्पन्न गर्न सहज हुने रहेछ।

(साहित्यकार कार्कीसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.