संरक्षणको पर्खाइमा बाटुलीपोखरी

संरक्षणको पर्खाइमा बाटुलीपोखरी

भरतपुर : चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा विभिन्न नामका पोखरी छन्। जसले चितवनलाई थप आकर्षक बनाएको छ। निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा भएका प्राकृतिक तथा कृत्रिम पोखरी हेर्नकै लागि पनि स्वदेशी तथा विदेशी पर्यटक चितवन आउने गर्दछन्।

सौराहा मुख्य पर्यटकीय क्षेत्र भए पनि बीसहजारी ताल, राइनो ताल, कमलपोखरी, टाइगर ताल, रानीपोखरी धनगढाजस्ता प्रसिद्ध पोखरी हेर्न पर्यटक आउने गर्दछन्। कतिपय पोखरी भने संरक्षण अभाव र प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेका छन्। तीमध्ये बाटुलीपोखरी सामुदायिक वन क्षेत्रभित्र पर्ने बाटुलीपोखरी पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।

वन समितिले पोखरीको संरक्षण गर्ने पहल गर्दै आए पनि यसको प्रचारप्रसार हुन नसक्दा पर्यटकीय संभावना प्रचुर भए पनि अहिलेसम्म विकास हुन सकेको छैन। जंगली जनावरले पानी पिउने सानो पोखरी रहेकै ठाउँलाई बाटुलीपोखरी भनिँदै आए पनि सिँचाइ गर्ने उद्देश्यले २०६४ सालमा बाँध निर्माण गरेपछि ठूलो पोखरी बन्न पुगेको थियो। पोखरीले अहिले करिब २० हेक्टर क्षेत्रफल ओगटेको छ।

‘सुरूमा यति राम्रो पोखरी बन्ला भन्ने हामीले सोचेका थिएनौं’, वन उपभोक्ता समितिका अध्यक्ष हरिभक्त मि श्रले भने, ‘पोखरी बनाइसकेपछि सामुदायिक वनभित्रकै एउटा आकर्षणको केन्द्र बन्न पुग्यो। त्यसैले पोखरीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न दस वर्षदेखि निरन्तर लागिरहेका छौं।’ तैपनि बजेट अभावले गर्दा प्रचारप्रसार गर्न नसकिएको उनले बताए। ‘प्रचारप्रसारबिना विकास संभव छैन’, उनले थपे, ‘त्यसका लागि बजेट नहुँदा समस्यामा परेको छ।’

पहिल्यैदेखि सिँचाइका लागि प्रयोग गर्दै आएको बाटुलीपोखरीको पानीले अहिले पनि भरतपुर महानगरपालिका १३ स्थित गंगानगर क्षेत्रको करिब एक हजार दुई सय हेक्टर खेत सिञ्चित छ। पोखरीलाई व्यवस्थित बनाएपछि वन्यजन्तुको संरक्षणमा समेत टेवा पुगेको उनले दाबी गरे।‘तर, आर्थिक समस्याले सोचेजस्तो काम गर्न सकिरहेको छैन’, उनले भने।

पोखरीको संरक्षण गरेर आवश्यक प्रचारप्रसार गरे सौराहा आउने पर्यटकको बसाई लम्ब्याएर बाटुलीपोखरी घुमाउन सकिने समितिले जनाएको छ। ‘यो पोखरीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सके चितवन राष्ट्रिय निकुञ्जसँगै सामुदायिक वनको आर्थिक विकासमा टेवा पुग्ने थियो’, अध्यक्ष मिश्रले भने।

निकुञ्ज ऐनअन्तर्गत चल्नुपर्ने भएकाले केही समयअघि निकुञ्जसँग समन्वय गरेर एउटा डुंगा प्रयोगमा ल्याइएको छ। ताल फराकिलो भएकाले अझ डुंगा थप्ने योजना बनाएको समितिले जनाएको छ। तर, बजेट अभावकै कारण सबै काममा समस्या आइपरेको सामुदायिक वन समितिका सचिव टेकप्रसाद बास्तोलाले जनाए।

स्थानीय तहसँग केही बजेट भए पनि प्रकृया झन्झटिलो हुँदा काम गर्न नसकिएको बास्तोलाले बताए। पोखरीको बीचभागमा टापु रहेकाले उक्त टापुमा मन्दिर निर्माण गर्ने योजना बनाएको उनको भनाइ छ। ‘चाँडै पोखरीको बीचमा रहेको टापुमा निकुञ्जसँग समन्वय गरेर मन्दिर निर्माण गर्ने योजना बनाएका छौं’, उनले भने, ‘मन्दिर निर्माण गर्न सकियो भने अझ सुन्दरता बढ्नेछ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.