अन्तरसीमा अपराध नियन्त्रण गर्न सहमति
महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र भारतको उत्तराखण्डको चम्पावत जिल्लाका सुरक्षा अधिकारीबीच अन्तरसीमा अपराध नियन्त्रणका लागि सहमति भएको छ। चम्पावत जिल्लाले आइतबार आयोजना गरेको सीमा बैठकमा दुई देशका जिल्ला अधिकारीबीच यस्तो सहमति भएको हो।
अन्तरसीमा अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान, साझेदारी प्रवद्र्धन गर्ने, संयुक्त गस्ती र पेट्रोलिङलगायत विषयमा सहकार्य गर्ने बैठकमा सहमति भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए। ‘सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न दुवै देशका स्थानीय स्तरमा जिल्लाको सहकार्य हुनेछ’, प्रजिअ अधिकारीले भने। नेपालका सुरक्षा अधिकारीले भारतीय पक्षलाई पश्चिमी नाका सहज बनाउन बनवासा पुल दैनिक १० घण्टा खुला राख्न आग्रह गरेका छन्।
नेपाल पक्षले राखेको प्रस्तावका विषयमा केन्द्रमा जानकारी गराउने र केन्द्रबाट आएको निर्णयानुसार कार्यान्वयन गर्ने भारतीय अधिकारीले प्रतिबद्धता जनाएको नेपाली सुरक्षा पक्षले जानकारी दिएको छ। दैनिक ४ घण्टा मात्रै खुल्ने पुल नेपाल पक्षकै पहलमा अहिले दैनिक ७ घण्टा खुल्ने गरेको छ।
भारतको चम्पावत जिल्ला र नेपालको कञ्चनपुर जिल्लाका सुरक्षा अधिकारीले पश्चिमी नाका गड्डाचौकी–बनवासा आवतजावत गर्ने दुवै देशका यात्रुको सम्पूर्ण विवरण राख्नेसमेत निर्णय गरेका छन्। दुई देशका स्थानीय सुरक्षा अधिकारीले गरेको निर्णय कार्यान्वयन भए अब नेपालबाट भारततर्फ जाने र भारतबाट नेपालतर्फ आउने हरेक सार्वजनिक सवारीसाधनले यात्रुको नामसहितको विवरण अनिवार्य साथमा राख्नुपर्ने छ।
महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत टनकपुरबाट नेपालले पाउनुपर्ने पानीका लागि भारतले नेपालतर्फ बनाउन लागेको सिँचाइको क्यानल निर्माणलाई समेत छिटोछरितो अघि बढाउन भारतीय पक्षसँग आग्रह गरिएको प्रजिअ अधिकारीले जानकारी दिए। भारतले केही महिनाअघि मात्रै टनकपुर ब्यारेजको पानी नेपालतर्फ दिन निर्माण गर्नुपर्ने १.२ किलोमिटर मूल नहर निर्माणका लागि टेन्डर आह्वान गरिसकेको छ।
बैठकमा सीमामा हुने मानव वेचबिखन न्यूनीकरण गर्न चम्पावत र कञ्चनपुरका प्रहरीबीच संयुक्त रूपमा सूचना आदान प्रदान गर्नुका साथै संयुक्त समिति बनाएर काम गर्ने सहमति पनि भएको छ। दुवै देशका सुरक्षा अधिकारी सहभागी भएको बैठकले लागुऔषध ओसारपसार नियन्त्रण गर्न शून्य सहनशीलता अपनाउने भएको छ। उत्तराखण्डकोे चम्पावत जिल्लाको आयोजनामा भएको बैठकमा उद्यमसिंह नगर जिल्लाका सुरक्षा अधिकारीसमेत सहभागी थिए।
बैठकमा चम्पावतका डीएम(सीडीओ) सुरेन्द्र नारायण पाण्डेय, उत्तराखण्डको कुमाउ क्षेत्रका प्रहरी महानिरीक्षक पीएस रावत, सीमा सुरक्षा बल एसएसबी, सिँचाई, सुरक्षा प्रमुखको सहभागिता थियो।
कञ्चनपुरबाट प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्ट, प्रहरी उपरीक्षक कुबेर कडायत, सशस्त्र प्रहरी बल ३५ नम्बर गणका प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक रमेश डागासहित भन्सार, सडक, सिँचाइ र वन कार्यालयका पदाधिकारी सहभागी थिए।