चिनियाँ व्यापारी रोकेपछि रुद्राक्ष व्यापार चौपट
भोजपुर : महँगो मूल्यमा रुद्राक्ष किन्ने चिनियाँ व्यापारी रोकिएपछि व्यापार चौपट भएको छ। जिल्लाको उत्तरी षडानन्द नगरपालिकामा चिनियाँ व्यापारीलाई रोक लगाइएपछि रुद्राक्ष कारोबारमा समस्या आएको हो।
सिजनमै नगरपालिकाले यस्तो नीति ल्याउँदा रुद्राक्ष माग घटेको किसानको गुनासो छ। टुरिस्ट भिसा र बिजनेस भिसामा आएका व्यापारीलाई गाउँ पस्न बन्देज लगाइएपछि रुद्राक्ष व्यापारमा समस्या आएको जनाइएको छ।
जिल्ला प्रशासन, सुरक्षा निकाय र नगरपालिकाको संयुक्त बैठकले गत भदौ पहिलो साता विदेशी व्यापारीको सुरक्षाका लागि भन्दै गाउँ पस्न रोक लगाउने निर्णय गरेको थियो। यस्तो निर्णयपछि किसानले सोचेअनुसार रुद्राक्ष व्यापार गर्न नपाएको गुनासो गरेका छन्। ‘प्रहरीले बर्सेनि आइरहने चिनियाँ व्यापारीलाई गाउँ पस्न रोक लगाएपछि बजारमै लगेर दाना देखाउँदा राम्रो मूल्यमा लैजान नमान्ने गरेका छन्’, दिङ्लाका प्रमेशचन्द्र नेपालले भने, ‘जसले गर्दा व्यापार चौपट भएको छ।’
व्यापारी आउन छाडेपछि रुद्राक्ष मागमा कमी आएको अर्का स्थानीय भवीन्द्र कार्कीले सुनाए। रुद्राक्षको सिजनमै नगरपालिकाले लागू गरेको निर्णयले दसैं टार्नै धौधौ परेको उनले बताए।
इलाका प्रहरी दिङ्लाका इन्चार्ज सञ्जीव ओलीले नगरपालिकाको निर्देशनअनुसार विदेशी व्यापारीलाई व्यक्तिगत सुरक्षाका लागि गाउँ जान रोक लगाइएको बताए। ‘नगरपालिकाको निर्देशन हामीले पालना गरेका हौं’, उनले भने, ‘व्यापारीको सुरक्षाका लागि पनि उनीहरूलाई बजार क्षेत्रमै बसेर रुद्राक्ष कारोबार गर्न अनुमति दिएका छौं।’ चिनियाँ व्यापारीका लागि षडानन्दको दिङ्ला बजार र साल्पासिलिछोको कुलुङ बजारमा मात्र बस्न, रुद्राक्ष कारोबार गर्न अनुमति दिइएको छ। किसानलाई बजारमै आएर रुद्राक्ष कारोबार गर्न पाउने व्यवस्था रहेको उनले सुनाए।
नगरपालिकाले गाउँ–गाउँमा चिनियाँ व्यापारीमाथि हुन सक्ने लुटपाट, चोरीलगायत सम्भावित दुर्घटनालाई मध्यनजर गरी निर्णय गरिएको जनाएको छ। व्यापारीको व्यक्तिगत सुरक्षालाई विशेष ध्यान दिँदै गाउँ पस्न रोक लगाउने निर्णय भएको मेयर वीरबल राईले सुनाए। ‘व्यापारीहरू पैसा बोकेर हिँडिरहेका हुन्छन्’, उनले भने, ‘उनीहरूमाथि सम्भावित दुर्घटना नहोस् भनेरै हामीले यस्तो निर्णय गरेका हौं।’
कुनै बेला भारत मात्र निकासी हुने गरेको रुद्राक्ष अहिले इन्डोनेसिया र चीनमा पनि जाने गरेको स्थानीय व्यापारी बताउँछन्। चिनियाँ व्यापारी रुद्राक्ष बगानमै पसेर खरिद हुने थालेपछि मूल्य र माग बढेको थियो। उनीहरू पछिल्लो समय संखुवासभा सदरमुकाम खाँदबारी र तुम्लिङटारका होटल र व्यक्तिका घर भाडामा लिएर बस्ने गरेका छन्।
उनीहरूले गोलो, चिल्लो, मिलेको, बुट्टादार र शरीरमा पहिरिँदा पनि नबिझाउने किसिमका रुद्राक्ष रोजेर लैजान थालेको जनाइएको छ। गुणस्तरीय रुद्राक्षले अहिले पनि राम्रो भाउ पाइरहेको व्यापारी बताउँछन्। स्थानीय व्यापारीका अनुसार ४, ५ र ६ मुखे दानाको गुणस्तर हेरेर प्रतिकिलो डेढ लाख रुपैयाँसम्म खरिदबिक्री हुने गरेको छ।