होटलभित्र भेटिएको चितुवा वन कार्यालयमा बुझाएपछि मृत
सन्धिखर्क : जिल्लाको सन्धिखर्क नगरपालिकामा रहेको एक होटलमा भेटिएको चितुवा मरेको छ। नगरपालिकाको वडा नम्बर १ स्थित सुदिप होटलभित्र बसेको अवस्थामा फेला परेको चितुवा उद्दार गरिएपछि मरेको हो।
चितुवाले कुकुरलाई एक्कासी आक्रमण गर्ने क्रममा स्थानीयहरूको होहल्लाले चितुवा होटलभित्र छिरेको स्थानीयवासीको भनाई छ। चितुवा होटेलभित्र पसेको खबर पाउनसाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले होटेलबाट चितुवालाई उद्दार गरी जिल्ला वन कार्यालय अर्घाखाँचीमा बुझाएको थियो।
घाइते अवस्थामा जिल्ला वन कार्यलयमा बुझाइएको चितुवा गत राति नै मरेको सहायक जिल्ला वन अधिकृत शीला पोख्रेलले बताइन्। चितुवा छोप्ने क्रममा गम्भीर घाइते भएकोले मरेको हुन सक्ने उनको अनुमान छ।