निर्मला हत्या प्रकरण : आफन्तले मागे गृहमन्त्री र मुख्यमन्त्रीको राजीनामा
धनगढी : कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका आफन्तले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको राजीनामा माग गरेका छन् ।
बलात्कार गरी हत्या गर्ने अपराधीहरु ९२ दिनसम्म पनि पक्राउ गर्न नसकेकाले सरकारमा बसिरहने नैतिकता नरहेको भन्दै कञ्चनपुरबाट बुधबार धनगढी पुगेका अधिकारकर्मीसहितका आफन्तले मुख्यमन्त्री भट्टको राजीनामा मागेका हुन् ।
उनीहरु नागरिक संघर्ष समिति कञ्चनपुरको नेतृत्वमा बुधबार धनगढी पुगेका थिए । उनीहरुले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र पनि बुझाएका छन् । उनीहरु धनगढीको ट्राफिक चौराहबाट नाराबाजीसहित मुख्यमन्त्री कार्यालयमा पुगेका थिए ।
आफन्त र अधिकारकर्मीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको गेटमा नाराबाजी गर्दै अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै मुख्यमन्त्री र संघीय सरकारका गृहमन्त्रीको राजीनामा माग गरे ।
प्रदर्शनमा मुख्यमन्त्री कार्यालय पुगेका निर्मलाका बुवा यज्ञराज पन्त आफै नाराबाजीमा उत्रेका थिए । ‘मेरी छोरीलाई न्याय दे, असक्षम गृहमन्त्री राजीनामा दे’, ‘नेताको बानी सिकेछ, प्रहरी पनि बिकेछ’ लगायतका नारा लगाए ।
‘सरकारसँग अरु केही मागेको होइन, न्यायको भीख मागेका हौँ’, निर्मलाका बुवा यज्ञराज पन्तले भने, ‘सक्छौ भने न्याय देऊ, होइन भने सक्दैनौँ भनिदेऊ ।’ उनले मुख्यमन्त्री कार्यालयले पनि कुनै सुनुवाइ नगरेको आरोप लगाए ।
सरकारले जनता अलमल्याउने काम मात्रै गरेको अधिकारकर्मीहरुको आरोप छ । ‘देशको नागरिकले न्याय माग्दा गोलि खानुपर्छ’ अधिकारकर्मी शारदा चन्दले भनिन्, ‘अब न्यायका लागि कता जाने ? कञ्चनपुरवासीले कुनै प्रहरीको जागिर बर्खास्त गर्न माग गरेको होइन, न्याय मात्रै मागेको हो ।’
न्यायका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट दबाब हुँदा पनि राज्य निरीह भएको निर्मलाकी कान्छि आमा लक्ष्मी पन्तले बताइन् । ‘सडकमा पानीपुरी बेचेर व्यवसाय गर्नसमेत नदिने राज्यबाट हामीले के आश गर्ने ?’, उनले आक्रोश पोखिन् । आन्दोलनकारीहरुले छठसम्म सरकारले दोषीलाई सार्वजनिक नगरेमा थप संर्घष कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।
डिएनए टेस्टका नाममा रगतको नमुना संकलन गरेर राज्यले नाटक गरिरहेको अधिकारकर्मीहरुको आरोप छ । बुधबार मात्रै कञ्चनपुर प्रहरीले चारजनाको डिएनए टेस्टका लागि रगतको नमुना संकलन गरेको थियो । चारैजनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
हत्या भएको ९८ दिन पुगिसक्दासमेत ठोस परिणाम आउन नसकेपछि कञ्चनपुरबासी थप आन्दोलित भएका हुन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले निर्मलाको न्यायका लागि प्रदेश सरकारले आफ्नो तर्फबाट भरपुर मेहनत गरिरहेको बताए ।
मुख्यमन्त्रीको आश्वासन
‘निर्मलाको न्यायका लागि प्रदेश सरकार सुरुदेखि नै सक्रिय भएर लागेको छ,’ मुख्यमन्त्री भट्टले भने, ‘अझै पनि संघीय सरकारलाई दबाव दिइरहेका छौं ।’
साउन १० गते बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको ९८ दिन पुग्दा समेत अहिलेसम्म हत्यारा पक्राउ पर्न सकेको छैन् । हत्याप्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीका थुप्रै अनुसन्धान टोली खटिएका छन् । तर पनि ठोस परिणाम आउन सकेको छैन ।
अहिले केन्द्रीय अनुसन्धान ब्यूरो, प्रहरी प्रधान कार्यालयको टोली समेत बलात्कार र हत्याको अनुसन्धानका लागि कञ्चनपुरमा नै खटिएका छन् ।
गृहमन्त्रालयले घट्नापछि मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठन गरेको उच्चस्तरीय छानबिन समितिले अनुसन्धानमा प्रहरीको चरम लापरबाही रहेको प्रतिवेदन बुझाइसकेको छ ।
प्रहरी प्रधान कार्यालयले एआईजी धीरु बस्न्यातको नेतृत्वमा गठन गरेको अनुसन्धान समितिले समेत अनुसन्धानका क्रममा प्रहरीको लापरबाही र वेवास्ता गरेको ठहर गरिसकेको छ ।
दुवै समितिको प्रतिवेदनकै आधारमा गृहमन्त्रालयले तत्कालिन प्रहरी उपरीक्षक एसपी डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक जगदिश भट्टलाई बर्खास्त पनि गरिसकेको छ ।