‘जस्टिन–ज्याकीबिना अधुरो हाम्रो परिवार’
![‘जस्टिन–ज्याकीबिना अधुरो हाम्रो परिवार’](https://annapurnapost.prixacdn.net/media/albums/17493743_1152555444853344_8603167742721261568_n_002_20181102060429_4V28Dwsby7.jpg)
माई पेट : संजोग कोइराला, अभिनेता
मलाई सानैदेखि घरपालुवा जनावरप्रति लगाव थियो। हाम्रो घरमा पहिलादेखि घरपालुवा जनावर पालिन्थ्यो। अहिले मसँग दुई वटा कुकुर छन्। उनीहरूको नाम जस्टिन र ज्याकी।
जस्टिन चार वर्षको र ज्याकी दुई वर्षको भयो। कालो र खैरो रङका दुवै जर्मन सेफर्ड हुन्। तिनलाई देख्दा असाध्यै खुशी लाग्छ। घरमा सबैका प्यारा छन्, जस्टिन र ज्याकी। सानो छँदा उनीहरू मेरो कोठामा बस्थे, खेल्थे, रमाइलो गर्थे। अहिले दुवैको बस्ने ठाउँ छुट्टै बनाएको छु। उनीहरूको हेरविचारका लागि एक जना ‘हेल्पर दिदी’ पनि राखेका छौँ। ज्याकी र जस्टिनलाई खाना खुवाउनेदेखि सरसफाइको काम दिदीले गर्नुहुन्छ।
हाम्रो परिवारका सदस्य हुन्, दुवै। यी दुईबिना हाम्रो परिवार अधुरो र अपुरो हुन्छ। उनीहरूले गर्दा घरमा खुशीयालीको माहोल हुन्छ। फुर्सद हुँदा मेरो समय ज्याकी र जस्टिनसँग खेलेर बित्छ। जाडोमा तिनलाई न्यानो लुगा लगाइदिने गर्छु।
म कतै जान थाले भने पछि–पछि लाग्छन्। जानै दिँदैनन्। बाहिर जाँदा उनीहरूलाई सँगै लिएर हिँड्दिनँ। बाहिरको धुलोधुवाँले असर गर्ला भनेर एकदमै केयर गर्छु, सधैँ घरमै राख्छु। दुई÷तीन दिनका लागि कतै गइयो भने जस्टिन र ज्याकीको एकदमै याद आउँछ। घर फर्किदा उनीहरूका लागि केही न केही ल्याइदिन्छु। मलाई देख्नासाथ झ्यामिन्छन्। केही ल्याइदिएको छ कि भनेर छामछुम गर्छन्। सुँघ्न थाल्छन्।
तिनको खानेकुरामा विशेष ध्यान दिन्छु। स्वस्थ खाना दिने गरेका छौँ। ठूलठूलो हड्डी उनीहरूलाई खूब मन पर्छ। त्यही हड्डी खान्छन् र त्यससँग खेल्न रुचाउँछन्। त्यससँगै डग फुड पनि दिने गरेका छौँ। समय–समयमा उनीहरूको स्वास्थ्य परीक्षण गराइराखेको हुन्छु। तनावमा हुँदा उनीहरूसँग खेलेर भुल्छु। फ्रेस फिल गर्छु। उनीहरूलाई एकैछिन नदेख्दा पनि साह्रै नमज्जा लाग्छ। उनीहरूसँग हुँदा खुशी महसुस गर्छु।
प्रस्तुतिः आशक्ति फुयाल
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)