सभामुख घिमिरेको प्रष्टीकरण : बोल्न नदिएको भन्दै सोविता र सुमना प्रचारबाजीमा लागे, संसदीय प्रक्रियाभन्दा बाहिर गए
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी सांसद सोविता गौतम र सुमना श्रेष्ठले संसद्मा बोल्न नदिएको भन्दै प्रचारबाजी गरेपछि सभामुख देवराज घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन्। प्रतिनिधि सभाको नियमावलीअनुसार अगाडि बढ्दा बाहिर निस्किएर प्रचारबाजी भएको भन्दै सभामुख घिमिरेले चिन्ता व्यक्त गरेको उनको निजी सचिवालयले जनाएको छ।
गौतमले माघ २७ गते पारित भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्न माघ २८ गते आकस्मिक समय माग गरेकी थिइन। सभामुख घिमिरेले विधेयक पारित भइसकेकाले आकस्मिक विषय हुन नसक्ने बताएका थिए। विधेयक पारित गर्नुअघि नै सभामुखले कानून मन्त्री, उपसभामुख तथा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गरेको र त्यहीँ भएको सहमति अनुसार नै विधेयक अगाडि बढाएको भने पनि उनले प्रोसेस बिग्रिएको भन्दै बोल्न मागेकी थिइन्। तर, गौतमले बोल्न चाहेको विषय आकस्मिक नहुने भन्दै अरु नै विषय भए राख्न सक्ने जानकारी सभामुखले गराएका थिए।
फागुन ५ गतेको बैठक सुरुवातको जनाउ घण्टी बस्न सुरु भएपछि सांसद् श्रेष्ठले समय माग्न आएको सभामुखको सचिवालयले जनाएको छ। तर, सभामुख आफ्नो च्याम्बरबाट उठेर बैठक कक्षतिर प्रवेश गरेपछि मात्र श्रेष्ठ आएकी थिइन्। ‘जनाउ घण्टी सुरु भएकाले त्यस विषयमा मैले बुझ्न पाइनँ। तपाईंले अगाडि नै विषय जानकारी गराउनुभएको भएपनि हुन्थ्यो। उठाउने विषय हो भने (माननीय अशोक चौधरीतर्फ देखाउँदै) उहाँलाई भन्नुहोला, उहाँले राखे पनि हुन्छ। उहाँले समय लिइसक्नुभएको छ। मैले तपाईंको विषय बुझ्न समय भएन या त भोलि राख्नुहोला’ भनेर सभामुख घिमिरे निस्किए।
सचिवालयका अनुसार उक्त संवाद हुँदा रास्वपा प्रमुख सचेतक सन्तोष परियारपनि सँगै थिए,दलीय अनुरोध आएको थिएन।
आकस्मिक विषय उठाउने नै हुँदा उपसभामुखले चेयर गरेको बेला सभामुखलाई विषय बुझाएर राख्न सकिन्थ्यो। त्यो पनि अभ्यास छ। तर, संसदीय प्रक्रियाभन्दा बाहिर गएर, मिडिया, सोसल मिडियाबाट प्रेसर क्रिएट गर्न खोजिएको छ। सभामुखले अबका दिन पनि हाम्रा अभ्यास, कानून, नियमावलीको व्यवस्था र दलीय समझदारीलाई नै हेर्ने हो।’ सचिवालयले भनेको छ, ‘सभामुखसँग आकस्मिक समय माग्न बैठक सुरु हुनु आधाघण्टा अगाडि एभरेजमा २० देखि ३० जना सांसद सभामुखको च्याम्बरमा हुन्छन्। तीमध्ये सबैले समय पाउँदैनन्। समय पाउने ८ देखि १० जनाले हो। आकस्मिक समयमा नियमावलीले नै व्यवस्था गरेकोभन्दा फरक विषय उठ्ने गरेको भन्दै कार्यव्यवस्थामै पटक पटक आवाज उठ्ने गरेको छ।’
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा दलीय आधारमा रास्वपाका चौधरीले बोलेका थिए।त्यसपछि एमाले सांसद सम्झना थपलियाले बोलेकी थिइन्। त्यसपश्चात बोल्न खोजेकी सुमनालाई सभामुख घिमिरेले रोकेका थिए। बोल्न दिएर सभामुखले शून्य समयतिर बैठकलाई लगे।
उनी एक्लै उठेर विरोध गरेपछि रोकेर सिटमा आसन ग्रहण गर्न भनेपनि नमानी दोहोरो संवादमा उत्रिएकी थिइन्। तर सभामुख शून्यसमय अगाडि बढाएपछि उनी बैठक छाडेर हिँडेकी थिइन्।
पछिल्लो समय उनीहरुले एगोसेन्ट्रिजम गर्न थालेको सभामुख सचिवालयले जनाएको छ। आफूलाई केन्द्रमा राखेर मात्र सोच्ने र अरूको दृष्टिकोणलाई नबुझ्ने, आफ्नै विचार मात्र साँचो ठान्ने र अरूको मतलाई अस्वीकार गर्ने व्यवहारलाई एगोसेन्ट्रिजम (Egocentrism) भनिन्छ।
प्रतिक्रिया दिनुहोस !