सुत्केरी कुरेर नसुत्दा पनि ह्याट्रिक
![सुत्केरी कुरेर नसुत्दा पनि ह्याट्रिक](https://annapurnapost.prixacdn.net/media/albums/iago-aspas_20181102082108_siC7Jk3fKN.jpg)
स्पेनिस फुटबल क्लब सेल्टा भिगोका स्ट्राइकर इयागो आसपासले अस्पतालमा सुत्केरी श्रीमतीलाई कुरेर पनि ह्याट्रिक गरेका छन्।
उनले गत शनिबार ला लिगामा आइबरसँगको खेलमा ह्याट्रिक गरेका हुन्। उनको ह्याट्रिकको मद्दतमा यो खेल सेल्टा भिगोले ४–० ले जितेको छ।
स्पेनको राष्ट्रिय टिममा समेत स्ट्राइकर रहेका आसपासकी श्रीमती जेनिफर रुडाले शुक्रबार छोरी जन्माएकी थिइन्। शनिबार खेल भए पनि आसपास शुक्रबार राति छोरी र श्रीमतीलाई कुरेर अस्पतालमै सुतेका थिए।
दोस्रो सन्तानका पिता बनेका आसपास छोरी र श्रीमतीलाई अस्पतालमा नै छाडेर मैदान पुगेका थिए। खेलको पाँचौँ मिनेटमा नै टिमलाई अग्रता दिलाएका उनले ३६ औँ र ८२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।
जीतपछि अस्पताल जान हतारिएका उनले रातभर अस्पतालमा बसेको सम्झँदै भने, ‘राति म सुतेको अस्पतालको सोफा अलि कडा थियो।’ सुताइ अप्ठ्यारो भए पनि भर्खर जन्मेकी छोरीलाई हेर्दा सबै दुःख भागेको उनको प्रतिक्रिया छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)