झारफुक गर्न गएका नेपालीको भारतमा हत्या
बिर्तामोड : चार दिनदेखि बेपत्ता झापाका एक व्याक्तिको शव सीमावर्ती क्षेत्र भारतमा हत्या गरी पुरेको अवस्थामा फेला परेको छ। गौरीगञ्ज गाउँपालिका-२ कोरोबारीका ५५ वर्षीय अलकचन राजवंशीको शव शुक्रबार बिहान भारतको किसनगञ्ज जिल्ला लुहागारास्थित काँसघारीमा पुरेको अवस्थामा फेला परेको हो।
किसनगञ्ज जिल्लाको खरखरिया भन्ने स्थानमा चार दिनअघि 'झारफुक' गर्न गएका राजवंशीको शव नेपाल-भारत सीमादेखि ५ सय मिटर दक्षिण भारतीय क्षेत्रमा गाडेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ।
काँसघारीमा मृतक राजवंशीको चस्मा, बेल्ट र टोपी फेला परेकाले खोज्ने क्रममा पुरेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए। भारततर्फ शव भएकाले भारतीय प्रहरी थाना कोडोबारीको नेतृत्वमा उत्खनन् गरिएको प्रहरीले बताएको छ।
शव पोष्टमार्टमका लागि भारतीय प्रहरीले लिएर गएको छ भने, साथमा मृतकका छोरा उदयलाल राजवंशी गएका छन् ।
भेटिएका सामग्रीका आधारमा आफ्नो बुवाको शव भएको मृतकका छोरा उदयलाल राजवंशीले पहिचान गरेको प्रहरीले बताएको छ। शव भारततर्फ भेटिएकाले सो घटनाको भारतीय प्रहरीले भारततर्फ र नेपालमा नेपाली प्रहरीले अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।