देवकोटाको दृष्टिमा नारी

देवकोटाको दृष्टिमा नारी

बहुविवाहको अत्यधिक प्रचलन रहेको तत्कालीन समयमा लेखिएका देवकोटाका कुनै पनि काव्यमा सौता पात्रको उपस्थिति पाइँदैन। यसबाट देवकोटा बहुविवाहको विपक्षमा थिए भन्ने कुराको पुष्टि हुन्छ। यो नै देवकोटाको नारीप्रति रहेको सम्मान भावको प्रकटीकरण हो।


लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यका प्रायः सबै विधामा कलम चलाएको पाइए पनि उनी नेपालीका महाकवि र सर्वाेत्कृष्ट निबन्धकारका रूपमा सुपरिचित छन्। नेपाली कविताको स्वच्छन्दतावादी धाराको संस्थापन र विकास गरी त्यसलाई उत्कर्षमा पुर्‍याउने देवकोटाको योगदान नेपाली कविताको विकासमा विशिष्ट छ। यिनका थुप्रै महाकाव्य तथा खण्डकाव्यात्मक कृति प्रकाशित भए पनि खण्डकाव्य भनिने उनका सबै काव्यकृतिहरू शास्त्रीय दृष्टिले खण्डकाव्यका कोटीभित्र पर्दैनन्। महाकाव्यबाहेक आख्यानात्मक संरचना भएका यिनका ‘मुनामदन’, ‘राजवmमार प्रभाकर’, वmञ्जिनी’, ‘वसन्ती’, ‘रावण जटायु युद्ध’, ‘म्हेन्द’, ‘मायाविनी सर्सी’, ‘सीताहरण’, ‘नासमझको गाँठो’, ‘दुश्यन्त शाकुन्तला भेट’, ‘लुनी’, ‘मैना’, ‘सृजामाता’, ‘तिप्लिङ्गी’जस्ता काव्यकृतिमा प्रयुक्त नारीप्रतिको दृष्टिकोणलाई केलाउनु यस लेखको अभीष्ट रहेको छ।

देवकोटाका अधिकांश काव्यको शीर्षक चयनमा नारीकै नामलाई आधार बनाइएको छ भने ‘मुनामदन’ र ‘दुश्यन्त शाकुन्तला भेट’मा चाहिँ नारीका अतिरिक्त पुरुषको नाम पनि जोडिएको पाइन्छ। यसरी शीर्षकका आधारमा हेर्दा देवकोटाका अधिकांश काव्यकृति नारीप्रधान देखिन्छन्।

‘मुनामदन’ खण्डकाव्यकी मुना फूलको थुँगाझैं पाउ तथा हाँसको फुलजस्ता वmर्वुmच्चा भएकी, नागकन्या एवं अप्सराजस्ती, कमलझैं फुलेकी, हाँस्दा मोती बर्सने, एकै नजरमा हजारौंलाई मोहित पार्ने चन्द्रमा जस्ती सुन्दरीका रूपमा चित्रित छ। यसमा उसका रूप सौन्दर्यको वर्णन कवि स्वयंलगायत मदन, नैनी आदिका माध्यमबाट गरिएको छ। धनभन्दा परिवारलाई विशेष महत्व दिने र आनन्दपूर्वक परिवारमा रहेर साग र सिस्नु खाएको बेस भन्ने धारणा मुनाको छ। गुन्डाकातर्फबाट फकाउन आउने नैनीजस्ता असत् चरित्रलाई सम्झाइबुझाई पश्चात्तापबोध गराएर सत्मार्गतर्पm उन्मुख गराउन सक्ने शक्ति भएकी मुना यस काव्यमा प्रेरणादायी चरित्रका रूपमा चित्रित छे। पति वियोगका कारण आँसुमै डुबेर जीवन बिताउन परे पनि उसले वृद्ध सासूको सुसारमा कुनै कमी नगरी उनलाई छोराको अभाव महसुस हुन दिएकी छैन। यसरी यस काव्यमा कविले मुनालाई सुन्दर, आदर्शवादी, प्रेरणादायी, धीर, शु श्रूषु, विरही, भावुक, पतिव्रता एवं सत् युवतीका रूपमा चित्रण गरेका छन्।

‘कुञ्जिनी’ काव्यकी प्रमुख सहभागी कुञ्जिनी आफ्नो प्रेमीलाई मन, वचन र कर्मले एकोहोरो आत्मिक प्रेम गर्ने आदर्शवादी सहभागी हो। अति सुन्दर, सत्, सजग, दृढ, विरही, स्वच्छ र पवित्र दिल भएकी प्रकृतिप्रेमी कुञ्जिनीलाई यस काव्यमा प्रेमीका लागि आत्म बलिदान गर्न सक्ने पूर्ण समर्पित प्रेमिकाका रूपमा चित्रण गरिएको छ। कुञ्जिनीबाहेक यस काव्यमा चित्रित सिन्धु आपूm असहाय भए पनि सहृदयी, मायालु, अरूको मर्म बुझ्ने, सहयोगी, परोपकारी, शत्जस्ता चारित्रिक अभिलक्षणले युक्त नारीका रूपमा उपस्थित छे। ‘लुनी’ खण्डकाव्यकी प्रमुख सहभागी लुनीलाई अत्यन्त सुन्दर युवतीका रूपमा प्रस्तुत गरिएको छ। लुनीबाहेक यस काव्यमा लुनीकी आमा हेलम्बा, जिन्जी, आन्जा आदि नारी सहभागीको चित्रण पाइन्छ। यिनीहरू सबै सहयोगी र सहृदयी छन्।

देवकोटाका ‘वसन्ती’ शीर्षकका दुई खण्डकाव्य प्रकाशित छन्। यी दुवै काव्यमा प्रमुख सहभागीका रूपमा वसन्तीको उल्लेख पाइन्छ। प्राकृतिक सभ्यता र सौन्दर्यमा रमाउने यी दुवै वसन्तीमा देवकोटाका प्रसिद्ध नारी सहभागीहरू मुना र कुञ्जिनीको प्रभाव प्रशस्त मात्रामा पाइन्छ। वसन्तीबाहेक वसन्तीकी आमा, कुसुम, बर्मिनी आदि नारीपात्रको चित्रण पाइने यी काव्यमा बर्मिनीलाई प्रतिकूल चरित्रको रूपमा उभ्याइएको छ भने अन्य नारी सहभागी अनुकूल नै रहेका छन्।

‘म्हेन्दु’ खण्डकाव्यकी प्रमुख सहभागी म्हेन्दु मोतीझैं टल्पलाउँदी, हिउँजस्ती उज्याली, उषाझैं झल्मलाउँदी, मृगनयनी, फूलजस्ती कोमल छे। स्वर्गबाट ओर्लेकी पर्वतकी शोभाजस्ती भएकीले कविले उसलाई ‘सुनकेसी’, ‘सुषमा रानी’ आदि भनेर प्रशंसा गरेका छन्। उसले अँध्यारो मुख लाउँदा पनि उसलाई बादलकी इन्दु भनेर उल्लेख गरिएको छ। म्हेन्दुबाहेक यसमा म्हेन्दुकी आमा मिन्दीको पनि उपस्थिति पाइन्छ।

देवकोटाले आफ्ना अधिकांश खण्डकाव्यमा नारीलाई सुन्दरताको प्रतिमूर्तिका रूपमा चर्चा गर्दै उनीहरूको कोमल एवं संवेदनशील चरित्रलाई देखाएको पाइए पनि ‘मायाविनी सर्सी’, ‘मैना’जस्ता खण्डकाव्यमा भने नारीको प्रतिकूल स्वरूपलाई प्रस्तुत गरेका छन्। यिनको ‘मायाविनी सर्सी’ खण्डकाव्यकी सहायक नारीपात्र सर्सीलाई वासनाकी पुतली, पुरुषलाई वशमा पार्न अत्यन्तै सिपालु तथा मानिसलाई पशु बनाउन सक्ने शक्ति भएकी राक्षसीका रूपमा चित्रण गरिएको छ।

‘मैना’ खण्डकाव्यकी प्रमुख नारी सहभागी मैना फटाही आइमाईका रूपमा चित्रित छ। लोग्नेलाई विष खुवाएर मार्न सक्ने मैना रुवावासी गरेर नखरा पनि पार्छे। विधवाको भेषमा हिँडेकी मैना एक महिनापछि सुन्दर एवं जवान देवरसँग लहसिन्छे र भोगविलास गर्न थाल्छे। यसरी लोग्ने मारेर परपुरुषसँग सहवास गर्ने तथा नाबालाख छोरीको पनि हत्या गर्न सक्ने सर्सी यस काव्यमा क्रूर, प्रतिकूल एवं पतीत चरित्रका रूपमा देखा परेकी छे। मैनाबाहेक यस काव्यमा बोक्सीबूढी, कदम र मिनीजस्ता नारी पात्रको प्रयोग पाइन्छ। कुप्रिएकी, काँसझैं सेतै फुलेकी, सुकेको रूखको पातजस्ती बोक्सी बूढी जादु गर्न सिपालु छे। आफ्नो रूप बदल्न सक्ने, पाँच औंलामा पाँचै रङको बत्ती बाल्न सक्ने तथा सात सागर पार गर्न सक्ने क्षमता भएकी बोक्सी बूढी प्रतिकूल सहभागी हो। मैनाकी छोरी मिनी अत्यन्त संवेदनशील, भावुक र बाबुलाई माया गर्ने व्यक्ति हो। आमा र काकाको चर्तिकलाले पीडित ऊ यो कुरा मावलीका बालाई भनिदिने धम्की आमालाई दिन्छे। यही भनाइका कारण आमा मैनाबाट उसको हत्या हुन पुग्छ।

ग्रिसेली पूराकथामा आधारित ‘सृजामाता’ खण्डकाव्यमा पृथ्वीलाई सिर्जनाकी आमा मानेर उल्लेख गरिएको छ। सिरिज अर्थात् धरतीमातालाई प्रमुख सहभागी बनाइएको यस काव्यकी सिरिजमा नेपाली नारीको रूप आरोपित छ। धर्मभीरु एवं आमाको ममत्वले भरिपूर्ण सिरिजले सन्तानका लागि जस्तोसुकै कष्ट पनि बेहोरेकी पनि छे। सिरिजका माध्यमबाट पुरुष र नारीको अस्तित्व समान छ भन्ने नारीवादी धारणा यस काव्यमा अभिव्यञ्जित छ। कविद्वारा पिना भनेर पनि सम्बोधित सिरिजकी छोरी प्रोजर्पिना स्याउजस्ता गाला भएकी, हिँउजस्ती गोरी, उज्याली, बान्की परेकी फूलजस्तै सुन्दर छे। ऊ उमेर र स्वभाव दुवै दृष्टिबाट चञ्चल एवं अल्लारे छ।

नेपाली समाजमा देखा पर्ने सासू–बुहारीको द्वन्द्वलाई सवाइका रूपमा प्रस्तुत गरिएको ‘नासमझको गाँठो’की प्रमुख नारी सहभागी कप्तान्नी बूढी (सासू) अत्यन्त घमन्डी छे। बुहारीलाई काममा दिलाउनुपर्ने मानसिकता भएकी ऊ बुहारीले कोठामा बसेर उपन्यास पढेको देख्न नसक्ने पात्र हो। ऊ मुखाले, दुष्ट, क्रूर तथा बुहारीलाई अत्याचार गर्ने सहभागीका रूपमा देखा परेकी छे। बुहारीलाई आरोप लगाउने उद्देश्यले आपूmलाई कोपरकापर गरेर छिमेकी गुहार्ने नखरा पार्न पनि ऊ सिपालु छे। छोरालाई दोस्रो विवाह गर्ने सल्लाह दिने ऊ बहुविवाहकी समर्थक र पितृसतात्मक नेपाली समाजकी प्रतिनिधि सासूका रूपमा यस काव्यमा देखा परेकी छे।

‘सीताहरण’ खण्डकाव्यमा पति र देवरसित वनवासमा रहेकी सीता अबेरसम्म नफर्केका दाजुको खोजीमा नजाने देवर लक्ष्मणलाई शंकालु नजरले हेर्छिन् कटुवचन प्रयोग गर्छिन्। देवरलाई शंकालु दृष्टिले हेरेर कटुवचन गरे पनि यस खण्डकाव्यमा सीतालाई अनुकूल चरित्रका रूपमा देखाइएको छ।

देवकोटाका अधिकांश काव्यमा महिला शत्पात्रका रूपमा देखिए पनि ‘राजकुमार प्रभाकर’ खण्डकाव्यकी प्रमुख नारी सहभागी राजकुमारी नृपकुमारी चाहिँ मायावी, जादुगर्नी, वासनाकी पुतली एवं दैत्य गुरु शुक्रसँग राक्षसी ज्ञान पाएकी युवतीका रूपमा चित्रित छे। प्रतिकूल स्वभावकी भए पनि ऊ अत्यन्त कोमल एवं संवेदनशील छे। राजकुमारको कटुवचन सहन नसकी ऊ चित्त दुखाएर रुन थाल्छे। देवकोटाका ‘रावण जटायु युद्ध’, ‘तिप्लिङ्गी’, ‘दुश्यन्त शाकुन्तला भेट’जस्ता काव्यमा नारी पात्रको उपस्थिति पाइए पनि तिनलाई सक्रिय भूमिका प्रदान गरिएको छैन।

सृष्टिका दुई पक्ष भाले र पोथी मानवका रूपमा नारी र पुरुष भनेर परिचित छन्। सिंगो सृष्टि र जीवनका हरेक गतिविधिमा दुवैको भूमिका महत्वपूर्ण हुन्छ। व्यक्तिगत, पारिवारिक र सामाजिक स्तरमा नारीका विविध रूप र साइनोको व्यवस्था नेपाली समाजमा भएको छ। देवकोटाका काव्यमा निम्नवर्गका नारीहरूदेखि लिएर उच्चवर्गका नारीको सहभागिता पाइन्छ। यिनका अधिकांश नारी पात्रहरू कुनै दम्भ नभएका, भावुक, संवेदनशील, मानवतावादी एवं प्रेमवादी दृष्टिकोणले ओतप्रोत छन्।

देवकोटाका काव्यमा प्रेमिका, पत्नी, छोरी, सासू, बुहारी, दिदी, सानिमा आदि विभिन्न प्रकारका नारी रूपको प्रयोग पाइन्छ। यिनका अधिकांश काव्यमा नारीको शत्चरित्रलाई देखाइएको छ भने केही काव्यमा नारीका असत् चरित्रलाई पनि देखाइएको छ। बहुविवाहको अत्यधिक प्रचलन रहेको तत्कालीन समयमा लेखिएका देवकोटाका कुनै पनि काव्यमा सौता पात्रको उपस्थिति पाइँदैन। यसबाट देवकोटा बहुविवाहको विपक्षमा थिए भन्ने कुराको पुष्टि हुन्छ। यो नै देवकोटाको नारीप्रति रहेको सम्मान भावको प्रकटीकरण हो। यिनका काव्यमा नारीको पति एवं प्रेमीप्रति अगाध आस्था भएझैं पुरुषको पनि पत्नी एवं प्रेमिका प्रति अत्यन्त आस्था र सम्मान भाव अभिव्यञ्जित छ। यसबाट पुरुष नारी बराबर हुन् भन्ने दृष्टिकोण देवकोटाको रहेको देखिन्छ। यिनका काव्यमा सुसारे, नोकर्नी, नैनी आदि नारी पात्रहरूको पनि प्रयोग गरिएको छ। यिनीहरूलाई सहायक तथा गौण चरित्रका रूपमा सभावेश गरिएको छ।

देवकोटाका ‘मुनामदन’ र ‘नासमझको गाँठो’ काव्यमा सासूबुहारीको उपस्थिति पनि पाइन्छ। सासूबुहारीको सम्बन्ध अत्यन्त कटु रहने तत्कालीन परिस्थितिमा लेखिएको यिनको ‘मुनामदन’मा सासूबुहारीको सम्बन्ध अत्यन्त सुमधुर देखिन्छ भने ‘नासमझको गाँठो’मा चाहिँ कटु देखिन्छ। ‘नासमझको गाँठो’को उद्देश्य तत्कालीन परिस्थितिमा नारी विद्रोहलाई देखाउनु रहेकाले यिनले दुष्ट सासूको उपस्थिति गराएका हुन्। यसबाट बुहारीलाई पनि छोरी सरह नै सम्मान गर्नुपर्छ भन्ने दृष्टिकोण देवकोटाको रहेको पाइन्छ। यसैगरी यिनको ‘मुनामदन’मा आमाजू–बुहारीको सम्बन्धसमेत सुमधुर देखाइएको छ। देवकोटाका काव्यमा प्रयुक्त नारी सहभागीमध्ये मैना र सर्सीबाहेक अधिकांश काव्यका प्रमुख नारी सहभागी अनुकूल प्रवृत्तिका देखिन्छन्। ‘मुनामदन’की नैनी र वसन्तीका बर्मेली प्रतिकूल भए पनि तिनमा नैनी चाहिँ परिवर्तित भएर अनुकूलमा रूपान्तरित भएकी छ।

देवकोटाका काव्यका अधिकांश प्रमुख नारी सहभागीहरू अत्यन्त सुन्दर, कोमल छन्। यसबाट नारीहरू सुन्दर, कोमल हुन्छन् भन्ने दृष्टिकोण देवकोटाको रहेको छ। समग्रमा भन्दा जुनसुकै जात, उमेर र वर्गका भए पनि बाह्य र आन्तरिक दुवै दृष्टिबाट नारीहरू सुन्दर, सुकोमल हुनाका साथै पूज्य र सम्माननीय हुन्छन् भन्ने दृष्टिकोण देवकोटाका काव्यमा अभिव्यञ्जित छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.