मानवशास्त्रीको नजरमा देवकोटा
देवकोटाका कविता अत्यन्त शिक्षाप्रद लाग्छन्। उनका कविता पढ्दा हामीभित्र आत्मविश्वास जागेर आउँछ, हीनताभाव हट्छ। अरू राम्रा भएर के भो, म पनि एउटा प्रतिभा हुँ भन्ने भाव जागेर आउँछ।
एउटा फरक प्रसंग
२०५०–५१ सालतिरको हिउँदमा एक दिन त्रिवि केन्द्रीय पुस्तकालयको ढोकैमा जम्काभेट भएको थियो एकजना विदेशीसँग। उनले आफू मूलतः मोरक्कन भएको तर फ्रान्समा बसोबास गर्ने गरेको बताए। नेपाली साहित्य र साहित्यकारबारे जान्ने उत्सुकता रहेकाले नेपाल घुम्न आएका बखत विश्वविद्यालयको पुस्तकालयमा अंग्रेजी भाषामा नेपाली साहित्यबारे पुस्तक छन् कि भनेर हेर्न आएका थिए उनी। प्रसंगवश उनले मलाई सोधिहाले, ‘नेपाली साहित्यमा सबैभन्दा महान् रचनाकार को हुन् ? ’ मैले भनेँ, ‘म मानवशास्त्रको विद्यार्थी हुँ, तर पनि मलाई लाग्छ देवकोटा नै सबैभन्दा महान् स्रष्टा हुन्।’ उनले सोधे, ‘को हुन् देवकोटा ? के लेखेका छन् ? उनको बारेमा जान्ने र अंग्रेजीमा बताइदिन सक्ने कुनै व्यक्ति भेटाइदिन सक्नुहुन्छ ? ’ उनले यसरी सोध्न थाले, मानौं म उनको टुर गाइड हुँ। मैले भनेँ, ‘अंग्रेजीका प्रोफेसर अभि सुवेदी हुनुहुन्छ, उहाँलाई नेपाली साहित्य र देवकोटाबारे सप्पै कुरा थाहा छ।’ उनले अभि सरसँग भेटाइदिन आग्रह गरे र त्यसबापत हामीलाई कफी खुवाउने वाचा गरे। त्यस बेला अभि सरसँग मेरो चिनाजानी थिएन। अचेलजस्तो फोन लाइन पनि सस्तो र सुलभ थिएन। तर, मैले कसोकसो गरी ती टुरिस्टलाई अभि सरसँग भेट्ने मेलो मिलाएँ— ठमेलको काठमाडौं गेस्ट हाउसमा।
भेट भो, केही कुरा भए। अभि सर यस्तो दिलदार कि उहाँले ती टुरिस्टलाई त महाकवि देवकोटाकी धर्मपत्नीसँग भेट गराइदिन डिल्लीबजारस्थित घरै लगिदिने भन्नुभयो। सजिलो के रहेछ भने महाकविका छोरा पद्म देवकोटा सर पनि अंग्रेजीकै प्राध्यापक हुनुहुँदो रहेछ र अभि सरका लागि यस्तो तारतम्य मिलाउन अप्ठेरो थिएन। म उहाँहरूलाई पछ्याउँदै महाकविको घर डिल्लीबजारसमेत गएँ। पद्म सर र ती टुरिस्टले फ्रेन्चमा पनि अलिअलि गफ गरेको सम्झन्छु। त्यसपछि ती टुरिस्टको चासो अनुसारका उत्तर दिँदै महाकविकी धर्मपत्नीले देवकोटाको दिनचर्याबारे, आनीबानी, खानपान आदिबारे बताइदिनुभयो। त्रिवि केन्द्रीय पुस्तकालयको जम्काभेट, अभि सरसँग काठमाडांै गेस्ट हाउसमा भएको कुराकानी र महाकविको घरैमा भएको कुराकानी। यो तीनैपटक ती टुरिस्टको हाउभाउ आदि हेर्दा, बुझ्दा मलाई उनी कुनै सर्जक वा साहित्य सिर्जनाप्रति अभिरुचि भएको व्यक्ति लागेन। र, अन्त्यमा एउटा फिरन्ताले मलाई त घुमाए नै, अभि सरलाई समेत व्यर्थमा घुमाए भन्नेझैं लाग्यो त्यो बेला।
जीवन जगत् बुझ्नमा सहज देवकोटा
२०३८–३९ सालतिर आईए पढ्दा नेपाली साहित्य अभिरुचिका साथ पढियो। नेपाली साहित्यका प्रायः सबै विधाको विकासक्रम उत्तिकै चाखका साथ पढियो। हामीलाई ऐच्छिक नेपाली पढाउने हाम्रा प्राध्यापक केशव अधिकारी सर विलक्षण प्रतिभाका शिक्षक हुनुहुन्थ्यो। उहाँले पढाउनुभएका धेरै विषय हामी विद्यार्थीको दिमागमा अमिट छाप भएर छापिन्थ्यो जस्तो लाग्छ, आज सम्झँदा। केशव सरले नेपाली कविताको विकासक्रममा स्वच्छन्दवादी धारा पढाउँदा जब महाकवि देवकोटामा प्रवेश गर्नुहुन्थ्यो, बिनाकुनै नोट धाराप्रवाह कविता फलाक्दै उहाँ अर्थहरू बताइदिनुहुन्थ्यो :
के हो ठूलो जगत्मा पसिना विवेक।
उद्देश्ये के लिनु उडी छुनु चन्द्र एक।।
व्यक्तिले आफ्नो प्रगतिका आकांक्षाहरू आफ्नै श्रम, सीप, विवेकको उपयोगद्वारा गर्न सक्छ। प्रश्नोत्तर शैलीमा लेखिएका देवकोटाका कविता साह्रै नै जीवनोपयोगी लाग्छन्, जसरी हामीलाई कुनै गीतसंगीत मीठो लाग्यो भने त्यसलाई बारम्बार गुनगुनाएर कण्ठ गर्छौं, कविता वा श्लोकका मिठास र लयमा पल्केपछि पनि त्यही हो। जिन्दगीका ती उर्वर दिनमा देवकोटाका छोटाछोटा श्लोक जति पढ्यो उति कण्ठस्थ हुन्थ्यो :
यस्तो रहस्यमय जीवन बुझ्नलाई।
जानु कहाँ पढ्नु के गुरु को बनाई।।
फुल्दो गुलाव बीच ज्ञान अनेक फुल्छन्।
उद्यानमा बस गई सव तत्व खुल्छन्।।
आज मानवशास्त्र पढ्ने पढाउने क्रममा प्रायःजसो देवकोटाको उपर्युक्त कविताको स्मरण हुन्छ मलाई। मानवशास्त्रले पनि मानव जीवनको विविधतालाई अध्ययन गर्ने, बुझ्ने कोसिस गर्ने हो। देवकोटा प्रश्न गर्छन्, मानव जीवनको रहस्य बुझ्ने कसरी ? कुन विद्यालय जाने ? गुरु को थाप्ने ? मेरो बुझाइमा मानव वा व्यक्तिहरूलाई देवकोटाले फुल्दो गुलाबका रूपमा प्रस्तुत गरेका छन्। त्यसैगरी मेरो बुझाइमा उद्यानको अर्थ यहाँ मानव समाज हो। हामीले आफ्नै समाजलाई गहिरिएर हेर्न सक्यौं र सिक्न सक्यौं भने ज्ञानको भण्डार त समाज नै हो, यसैको अध्ययनले सबै खाले ज्ञानका ढोका खुल्छ भन्ने भाव व्यक्त गर्छन् देवकोटा प्रस्तुत कवितामा।
बुझ्न कठिन देवकोटा
‘मुनामदन’का देवकोटा सहज र सरल छन्। झ्याउरे लयका कविताहरू जसरी वाचन गरे पनि हुने। संगिनी गीत जसरी गाए पनि हुने। श्लोक हाले पनि हुने। सवाई कहे जसरी गाए पनि उस्तै राम्रो लयमा सुनिने। नबुझ्नु केही छैन, ‘मुनामदन’मा। यो खण्डकाव्य गेयात्मक र लयात्मक छ। तर, उनका अन्य काव्य कृति सहज र सुबोद्य छैनन्। उनका रचना नबुझिने हुनुमा मूलतः तीनवटा कारण प्रस्तुत गर्छन् समालोचकहरू—
१) देवकोटा भावनाको स्वच्छन्द उडानमा लेख्छन्। स्वच्छन्द भावनालाई व्यक्त गर्न भाषा अपूरो भएको महसुस गर्थे देवकोटा। त्यसैले उनी कसैले नसुनेका, कहीँ नलेखिएका शब्द बनाइदिन्थे, थपिदिन्थे आफ्ना कवितामा। यसो हुँदा पनि उनको काव्य रचना बुझ्न सामान्य पाठकलाई मुस्किल पर्ने भयो साथै उनी संस्कृतका क्लिष्ट शब्दहरूसमेत प्रयोग गर्थे। यसले गर्दा उनका रचना दुर्वोध्य हुने नै भयो। २) देवकोटा स्वच्छन्द भावनाको उडानमा जुन वेग हान्न सक्थे, हामी सामान्य सोच र चिन्तनकाहरूले उनको उडानको गतिलाई पक्डनै सक्दैनौं। यस कारण पनि उनको रचना हाम्रा लागि बुझ्न वा उनको उडानलाई भेट्न सहज हँदैन। उनी आफैं लेख्छन् :
माटो हो हुन ता तथापि गहिरा आँखा हुने सज्जन।
दाना सुन्दर स्वर्णका झलझली देख्लान् गुडेका कण।।
अर्थात् देवकोटाको कविता भनेको वर्षाको भेल उर्लेर आएजस्तो हो। जसरी वर्षाको बाढीले जे पनि बगाएर ल्याउन सक्छ, त्यसरी नै देवकोटाले आफ्नो भावनाको स्वच्छन्द उडानमा सिर्जना गरेको रचनामा जे पनि हुन सक्छ। तर, त्यही वर्षाको भेलले ल्याएको थुप्रोमा गहिरा आँखा र बुझाइ हुने सज्जन बुझ्झकीहरूले सुनका दानाहरू झलझली झल्केका भेट्नेछन्, उनको आग्रह छ। ३) कतिपय अवस्थामा देवकोटा शास्त्रीय नियम र शैली पछ्याएर रचना गर्दैनथे। जस्तै, कविता चार पाउ टेकेर हिँड्छ भनिन्छ। एक पाउ (हरफ) ले नै केही अर्थ दिने हुन्छ धेरैजसो कवितामा। तर, देवकोटाका कतिपय श्लोकमा फरक विन्यास पाइन्छ :
चिम्ली लोचन दीर्घ काल तपमा खोलेर वासन्तिका।
नाच्दी सुन्दर तालले पवनमा देखी फुलेकी लता।।
बिर्से झैं भन को तिमी यति भनी गौरी रुलाईकन।
मुस्काएर फुल्याउँदा शिव दिउन्कल्याणको चुम्बन।।
प्रस्तुत कविता देवकोटाको महाकाव्य कृति ‘शाकुन्तल’को मंगलाचरणको प्रथम श्लोक हो। यी चार पाउ कविताले शाकुन्तल महाकाव्यको सम्पूर्ण कथाको सार प्रस्तुत गरेको छ तर ध्यान दिएर नपढी वा कथा नबुझी उक्त कविताका हरेक पाउ स्वतन्त्र रूपमा अर्थपूर्ण लाग्दैनन् र छैनन् पनि। जस्तै ‘चिम्ली लोचन दीर्घ काल तपमा’ पदावलीको अर्थ दोस्रो पाउको ‘देखी फुलेकी लता’सँग सम्बन्धित छ। त्यसरी नै प्रथम हरफको ‘खोलेर वासन्तिका’ खण्डको अर्थ दोस्रो हरफको ‘नाच्दी सुन्दर तालले पवनमा’ पदावलीसँग पूर्ण हुन्छ। नत्र भने पहिलो हरफलाई मात्र स्वतन्त्र अथ्र्याउने हो भने त ‘बैंस फुकाएर आँखा चिम्लेर कुनै व्यक्ति लामो समयदेखि तपस्यामा बसेको छ’ भन्ने अर्थ लाग्छ तर बैंस खोलेर त कोही तपस्यामा बस्दैन। बरु बैंस फुकाएर कोही सुन्दर तालले नाच्नचाहिँ सक्दछ। त्यसैले प्रस्तुत कवितामा पहिलो हरफको आधा, आधा पदावलीको पूर्णता दिने पदावलीहरू दोस्रो हरफमा राखिएका छन्। र, यसको पूर्ण अर्थ के हुन्छ भने कोही ‘लामो समयदेखि आँखा चिम्लेर गहन तपस्यामा बसिरहेका थिए तर आफ्नैअगाडि कुनै सुन्दरी हावामा बैंस फुकाएर सुन्दर तालले नाचिरहेकी देखेपछि उनको तपस्या भंग भएछ’ भन्ने बुझिन्छ।
सिकाइ र ज्ञानका स्रोत देवकोटा
देवकोटाका कविता अत्यन्त शिक्षाप्रद लाग्छन् मेरा लागि। उनका कविता पढ्दा हामीभित्र आत्मविश्वास जागेर आउँछ, हीनताभाव हट्छ। अरू राम्रा भएर के भो, म पनि एउटा प्रतिभा हुँ भन्ने भाव जागेर आउँछ। दुनियाँमा दुनियाँले एक से एक सुन्दर कुरा सिर्जना गरेका छन् भनेर हामी चुप लागेर बस्ने भन्ने होइन, भन्छन् देवकोटा :
के श्रीङ्गार गुलावलाई म दिउँ कमलैलाई म धोउँ किन।
नीलो रंग थपी गगनमा मूर्खै बनुँ के भन।।
के मण्डुक कराउनु प्रकृतिले पापीपना हुन्छ र।
गौरीशंकरका नजीक चुचुरा उठ्छन् अरु वामन।।
हाम्रो सिर्जनालाई मान्छेले जे पनि भन्लान्, गुलाबलाई रंग्याउने, कमललाई धुने, आकाशमा नीलो रङ पोत्ने खाले काम भनेर तपाईंका कामप्रति आलोचना होला तर अरूको कण्ठ सुरिलो छ भन्दैमा भ्यागुतो टर्टराउनु पाप हुन्छ र ? गौरीशंकर अग्लो छ त के भो, उसका नजिक अन्य होचा चुचुरा पनि उठेकै छन् त ! मेरा लागि देवकोटाका रचना यसरी जीवनोपयोगी, शिक्षाप्रद र आफैंमा विश्वस्त हुन मद्दतगार लाग्छन्।