निकुञ्जमा ‘क्याम्पिङ’ दस्तुर बढ्यो
गुलरिया : निकुञ्जमा ‘क्याम्पिङ’ दस्तुर वृद्धि गरिएको छ। संघीय सरकारले संरक्षणक्षेत्र व्यवस्थापन नियमावली २०५३ को नियम ४१ ले दिएको अधिकार प्रयोग गर्दै नियमावलीको अनुसूची १ मा रहेको संरक्षण क्षेत्रका प्रवेश दस्तुर संशोधन गरेको हो। यसले पर्यटक प्रत्येक्षरूपमा प्रभावित हुने भएका छन्।
नेपाल राजपत्रमा सार्वजनिक गरिएको नियम १९ सँग सम्बन्धित संशोधित अनुसूची १ अनुसार महँगो क्याम्पिङ दस्तुरले पर्यटक आगमन घट्ने देखिएको छ। चितवन राष्ट्रिय निकुञ्जबाहेक सबै संरक्षित क्षेत्र तथा निकुञ्जमा नेपालीका लागि प्रवेश शुल्क एक सय र चितवन राष्ट्रिय निकुञ्जमा एक सय ५० रुपैयाँ कायम गरिएको राजपत्र सार्वजनिक गरिएको छ। संशोधित दस्तुरमा मूल्यअभिवृद्धि करसमेत समावेश गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागले सम्बन्धित निकायमा दस्तुर तालिका समेत पठाइसकेको छ।
देशैभरका तुलनामा बर्दिया राष्ट्रिय निकुञ्जमा क्याम्पिङ दस्तुर महँगो भएको छ। निकुञ्जका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जभित्र प्रतिव्यक्ति एक रातका लागि नेपालीले पाँच सय, सार्क मुलुकका नागरिकले एक हजार पाँच सय र अन्य विदेशी नागरिकले तीन हजार रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको हो।
चितवन राष्ट्रिय निकुञ्जमा क्याम्पिङबापत नेपाली नागरिकको लागि तीन सय रुपैयाँ, चितवन, लामटाङ, सगरमाथा, मकालु, रारा, शे–फोक्सुण्डोमा सार्क मुलुकका नागरिकका लागि एक हजार रुपैयाँ र अन्य विदेशी नागरिकका लागि दुई हजार रुपैयाँ क्याम्पिङ दस्तुर कायम गरिएको छ। भर्खर संरक्षण क्षेत्र घोषणा गरिएको कृष्णसार संरक्षण क्षेत्रमा विदेशी नागरिकको लागि प्रवेश शुल्क दुई हजार रुपैयाँ कायम भएको छ।
बर्दिया राष्ट्रिय निकुञ्ज वाईल्ड लाइफ टुरिजमका लागि भर्जिन भएकाले क्याम्पिङ दस्तुर अन्य संरक्षणक्षेत्र तथा निकुञ्जको तुलनामा बढी कायम भएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताए। उनले भने,‘निकुञ्जमा बन्यजन्तुको चाप रहेकाले मानवीय चाप कम गर्न पनि क्याम्पिङ दस्तुर महँगो राखिएको हो।’
महँगो दस्तुरका कारण जोकोही पर्यटक क्याम्पिमा जान नसक्ने र क्वालिटिका पर्यटक मात्र प्रवेश गर्ने भएकाले बन्यजन्तुलाई समेत कोलाहल मुक्त हुने उनको दाबी छ। बर्दिया निकुञ्जका बन्यजन्तुमा रहेका प्राकृतिकपन यथावत राख्न क्याम्पिङ शुल्क वृद्धिले सहयोग पुग्ने भण्डारीले बताए।
निकुञ्जमा शुल्क वृद्धि हुनु सकरात्मक भएको बर्दिया गैडाक्याम्प रिसोर्ट ठाकुरद्वाराका प्रोपराइटर रामजी थापा बताउँछन्। उनी भन्छन्, ‘दस्तुर बढेका कारण व्यवसायीको मुनाफामा कमी आएको छ।’ अग्रिम बुकिङ गरिएका पर्यटकबाट पुरानै दस्तुर लिइसकेकाले नयाँ शुल्क कायम भएपछि होटल व्यवसायी मर्कामा परेको उनले बताए।