उज्यालोको पर्व तिहार

उज्यालोको पर्व तिहार

नयाँ बानेश्वरका राम थापाले घर झिलिमिली पार्न बत्ती खरिद गरे। हरेक वर्ष तिहारमा उनले झिलिमिली बत्ती किन्छन्। ‘केही वर्षयता मैले रंगिचंगी बत्ती बाल्दै आएको छु’ उनले भने। घर झकिझकाउ हुँदा रमाइलो लाग्ने उनी बताउँछन्। उनले काग तिहारदेखि झिलिमिली बत्ती बाल्न सुरु गर्ने बताए।

अनामनगर काठमाडौंका सोम सुवेदीले पनि झिलिमिली बत्तीका लागि २० हजार रुपैयाँ खर्च गरिसकेका छन्। बत्ती जडान गर्ने सुरसारमा उनी छन्। ‘केही पूराना बत्ती पनि छन्, केही नयाँ बत्ती पनि खरिद गरेको छु’, उनले भने।

तिहारमा सहरका सबै घरमा बत्ती बल्छ। गाउँघरमा भने अझै पनि दियो बालेर झिलिमिली बनाउने चलन छ। सहरी क्षेत्रमा तिहार आउनु केही दिनअघि नै बत्तीको रौनक देख्न पाइन्छ। बत्ती पुगेका ग्रामीण क्षेत्रमा पनि विद्युतीय बत्तीले झिलिमिली बनाउन थालिएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का गेहराज उपाध्याय झिलिमिली बत्ती खरिद गर्न आइतबार तुलसीपुर बजारमा भौतारिएका थिए। ‘तिहार आइसक्यो, झिलिमिली बत्ती किन्न पाएकै छैन’ उनले भने। उनी मंगलबारसम्म घरमा झिलिमिली बत्ती जडान गर्ने तयारीमा छन्।

‘झिलिमिली बत्तीले घरको शोभा पनि बढाउँछ, बत्ती बाल्नैपर्छ’, उनले भने। घरमा बत्ती जडान गर्दा बालबच्चा अझ बढी खुसी हुने उनी बताउँछन्।

तिहारलाई उज्यालो पर्वका रूपमा लिइन्छ। केही वर्षयता घरघरमा झिलिमिली बिजुली बत्ती बाल्ने गरिन्छ। तिहार नजिकिएसँगै विभिन्न किसिमका रंगिबिरंगी बत्तीको बिक्री वितरण बढ्दै गएको व्यवसायी बताउँछन्।

आरआर कलेक्सन असनका प्रोप्राइटर माधव चौलागाईले तिहारमा विद्युतीय बत्तीबाट राम्रो आम्दानी हुने बताउँछन्। दैनिक ३० हजारले झिलिमिली बत्ती खरिद गर्ने उनले जानकारी दिए। दुई सयदेखि दुई हजार दुई सय रुपैयाँ पर्ने डिस्को लाइट, झिलिमिली, अण्डा बत्तीलगायत विभिन्न प्रकारका विद्युतीय बत्ती बिक्री गर्ने गरेको उनले जानकारी दिए।

असनकै अस्मिता थापाले तिहारलाई लक्ष्य गरी झिलिमिली बत्ती बिक्री गर्ने गरेको बताइन्। उनले बुवाको ब्याग पसलछेउ सटरमै मौसमअनुसार व्यापार गर्ने बताइन्। एक महिनादेखि तिहारलाई लक्ष्य गरी झिलिमिली बत्ती बिक्री गर्न थालेको उनले बताइन्। ‘यो मेरो लागि पनि साइड बिजनेस हो’, उनले भनिन्।

दैनिक पाँच हजारभन्दा बढीको बत्ती बिक्री हुने उनले जानकारी दिइन्। कमल फूल, लालटिन, पाला, भगवानका मुर्तीलगायत सामग्री एक सय ५० देखि एक हजार तीन सय ५० रुपैयाँससम्म बिक्री गर्दै आएको उनले जानकारी दिइन्।

युनिक इन्टरप्राइजेज महाबौद्धका प्रोप्राइटर सन्तोष चौहानले तिहारका बेला राम्रो व्यापार हुने बताए। उनले सिजनमा झन्डै एक करोडको कारोबार हुने बताए। ‘भन्सार कडाइका कारण यसपालि झिलिमिली बत्तीको भाउ बढेको छ,’ उनले भने,‘मूल्य बढेका कारण व्यापारमा समेत गिरावट आएको छ। चौहानका अनुसार गत वर्षको तुलनामा व्यापार घटेको छ।

उनले बत्तीको होलसेल तथा खुद्रा व्यापार गर्दै आएका छन्। काठमाडौंलगायत विभिन्न जिल्लामा झिलिमिली बत्ती बिक्री गर्ने गरेको उनले जानकारी दिए।

दसैंयता लक्ष्मी पूजाको दिनसम्म भिलिमिली बत्तीको कारोबार हुने उनले जानकारी दिए। दियो, लिड, होल्डर, लेजर लाइट, नेट लाइटलगायत विभिन्न विद्युतीय सामग्री बिक्री हुने उनले बताए। उनको पसलमा ४५ रुपैयाँदेखि १२ हजार रुपैयाँसम्म झिलिमिली बत्ती छन्। होलसेल र रिटेल बराबरीजस्तै व्यापार हुने गरेको चौहानले जानकारी दिए।

प्रत्येक वर्षजस्तो झिलिमिली बत्तीको माग बढ्दै गए पनि नेपालमा यसको उत्पादन छैन। सामान्य बत्तीदेखि महंगो पर्ने सबै खाले झिलिमिली बत्ती विदेशबाट आयात गर्नुपर्ने अवस्था छ। तिहारमा भन्डै एक खर्ब रुपैयाँको झिलिमिली बत्तीको कारोबार हुने गरेको छ।

तिहार बत्तीको पर्व हो। केही वर्षयता तिहारमा घरघरमा झिलिमिली बिजुली बत्ती बाल्ने गरिन्छ। विभिन्न किसिमका रंगिबिरंगी बत्तीको बिक्री वितरण बढ्दै गएको छ।

झिलिमिली बत्ती इलेक्ट्रिक पसलदेखि खुद्रा पसलमा समेत बिक्री हुने गरेको छ। खासगरी सिजनका बेला मात्रै यस्ता बत्तीको खपत बढी हुने गर्छ। झिलिमिली बत्ती इलेक्ट्रिक पसल र सडक छेउमै छ्याप्छ्याप्ती पाइन्छ।

नेपाल विद्युत् व्यवसायी महासंघका अनुसार तिहारमा मात्रै झन्डै ६० करोडभन्दा बढी मूल्यको झिलिमिली बत्ती नेपाल भित्रिने गरेको छ। भारत र चीनबाट मात्रै सो मूल्यको बत्ती नेपाल भित्रिने गरेको हो।

यसपालिको तिहारका लागि भारत र चीनबाट धेरै बत्ती नेपाल आयात भइसकेको छ। व्यवसायीका अनुसार अझै झिलिमिली बत्ती आयातको क्रममा छ। महासंघका अनुसार करिब ९० प्रतिशत चीनकै उत्पादन छ। करिब १० प्रतिशत मात्रै भारतबाट आउने गरेको छ।

तिहारलाई लक्ष्य गरी व्यावसायीले झन्डै दुई/तीन महिनाअघि झिलिमिली बत्ती आयात गर्न सुरु गर्छन्। यसको बिक्री लक्ष्मी पूजाको एक हप्ताअघि अत्यधिक हुने व्यवसायीहरू बताउँछन्।

नेपाल विद्युत् व्यवसायी महासंघका पूर्वअध्यक्ष रामबहादुर श्रेष्ठले तिहारका लागि ल्याइने बत्ती अन्य समयमा खासै प्रयोगमा नआउने बताउँछन्। ‘यो तिहारमा मात्र हुने व्यापार हो’, उनले भने, ‘अन्य समयमा कहिलेकाहीँ मात्र खपत हुने गर्छ।’

महासंघका अनुसार झिलिमिली बत्ती ४५ रुपैयाँदेखि १५ हजारसम्म पर्ने छन्। प्राय बल्ने–निभ्ने बत्तीको बिक्री बढी हुन्छ। उपभोक्ताले यस्ता झिलिमिली बत्ती घर, बगैँचा, कार्यालय, बिजनेस मल सजाउन प्रयोग गर्छन्। त्यस्तै विभिन्न मूल्यका क्लब तथा रोटर लाइट पनि खपत हुने गरेको छ।

देवीदेवताका फोटोमा जोडिएको बत्तीको बिक्री पनि यो समय अत्यधिक हुन्छ। यस्ता बत्ती अन्य समयमा पनि बिक्री हुने गरेको व्यवसायीहरूको भनाइ छ।

विगत केही वर्षयता बिजुली बत्तीको समस्या नहुने भएकाले गाउँगाउँमा समेत झिलिमिली बत्तीको माग बढ्दै गएको छ। लोडसेडिङ घटेसँगै पछिल्ला वर्षमा झिलिमिली बत्तीको माग दोब्बर भएको व्यावसायी बताउँछन्। सुरक्षितसाथ राख्न सके एकचोटी किनेको झिलिमिली बत्ती अर्को वर्षमा समेत काम लाग्छ।

तिहारलाई दीपावलीसमेत भनिन्छ। विद्युतीय झिलिमिली बत्ती सुरु हुनुअघि मैनबत्तीको माग अत्यधिक हुने गर्थ्यो। पछिल्लो समय मैनबत्तीको माग घटेको छ भने झिलिमिली बत्तीको माग बढ्दो छ। तर झिलिमिली बत्तीको माग बढे पनि लक्ष्मी पूजा र अर्को दिन मैनबत्ती बालेर दीपावली गर्ने चलन छ।

कम्तीमा पनि दुई दिन मैनबत्ती बाल्ने परम्परा अझै नहटेको पण्डित डिल्लीप्रसाद शर्माले जानकारी दिए। ‘झिलिमिली बत्तीको आकर्षणसँगै मैनबत्ती हाम्रो परम्परा हो’ उनले भने, ‘मैनबत्ती बालेर दीपावली गर्ने परम्परा बिर्सन हुँदैन’, उनले भने।

शर्माका अनुसार तिहारमा झिलिमिली बत्ती बाल्नु रमाइलोसँग मात्र सम्बन्धित नभई यसको खास अर्थ र महत्व रहेको बताउँछन्। धार्मिक, सामाजिक एवं मनोवैज्ञानिक महत्वका कारण मैनबत्ती र झिलिमिली बत्तीको आकर्षण बढ्दै गएको हो। तिहारमा रात अध्यारो हुने भएकाले झिलिमिली बत्तीले रमाइलो देखिन्छ।

अँध्यारोलाई असत्य र उज्यालोलाई सत्यको प्रतिक पनि मानिन्छ। त्यसकारण पनि सत्यले असत्यमाथि विजय प्राप्त गर्छ भन्ने मान्यताका साथ तिहारलाई उज्यालोको पर्वका रूपमा लिइन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.